आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘बल्लबल्ल घर बनाएको थिएँ, त्यो पनि उडायो !’

आइतबार, ०६ जेठ २०७५, १२ : २९
आइतबार, ०६ जेठ २०७५

सिरहा– सिरहा गोलबजार नगरपालिका १० धोवियाधारका ३९ वर्षीय मुनिलाल सदाय, ४५ वर्षीय रामलाल सदाय र १८ वर्षिय सुलेन्द्र सदायका परिवार समसाँझै खाना खाएर नजिकैको पाहुना घरमा पुग्छन् । गत बुधबार आएको हावाहुरीले ओतलाग्ने घरको छानो उडाएदेखि उनीहरु दिनहुँ वेलुकाको खाना खाएर पाहुना घरमा पुग्ने गरेका हुन् ।

यी तीन जनाको परिवारमात्र हैन, करिव ४० घर परिवारका गाउँका धेरैजसोको घरको छानो उडाएकाले उनीहरु सवै त्यही पाहुनाघरमा रात विताउने गर्दछन् । अपाङ समेत रहेका मुनिलाल ६ महिने काखे छोरोसहित ६ जनाको परिवारको अहिले त्यहि पाहुना घरमा रात वित्छ । लौरोको सहारामा हिँडडुल गर्ने मुनिलाल पैसा नभएकै कारण घर मर्मत गर्न सक्ने अवस्थामा नभएको बताउँछन् । 

उनी भन्छन्, ‘म आफै अपाङग छु, जसोतसो परिवार चलाईरहेको छु, बल्लबल्ल बस्ने घर बनाएको थिएँ, त्यो पनि उडायो, अव कसरी बनाउने ? मुनिलालका ३ भाई छोरा र १ बहिनी छोरी छन् ।
रामलालको घरपनि हावाले ढालिदिएको छ । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनले पनि घर मर्मत गर्न सकेको छैनन् । जसोतसो परिवार पाल्दै आएका उनलाई  भक्तिएको घर कसरी बनाउने भन्ने समस्या छ । उनले भने, ‘दिनभरी अरुकोमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएको छु, हावाले घरनै भत्कायो, हामी त विचल्लिमा परेका छौं, कसरी बनाउने सोच्नै सकिएको छैन । उनका १० वर्ष मुनिका २ छोरी र १ छोरा छन् ।

१८ वर्षीय सुलेन्द्रका १० महिने छोरी छन् । नावालक छोरी बचाउनेदेखि घर बनाउने समस्या उनमा थपिएको छ । सुलेन्द्रजस्तै गाउँका धेरै सदाय परिवारको अवस्था यस्तै छ ।

घुमिखोलाको किनारमा रहेको सदाय वस्तिका सवैको उस्तै अवस्था भएकाले त्यही पाहुना घरमा पनि उनीहरुले ठाउँ पाउन सकिरहेका छैनन् । घरमै ओत लाग्न सक्ने अवस्था रहेकाहरु भने घरमै वस्ने गरेको गाउँका ५५ पर्षिय लिलिया दसायले बताए । उनले भने, ‘जसको घर बचेको छ, उनीहरु आफ्नै घरको एककुनामा ओतलाग्ने गर्छन् बाँकी सवै पाहुना घरमा कोचिएर बस्नुको विकल्प छैन् ।’

गाउँलहरुले हुरीले गाउँ नै विस्थापित हुनेगरी उडाउँदा समेत कुनै राहत पाउन नसकेको गुनासो गरेका छन् । स्थानीय  विरोचन सदायले भने, ‘चुनावका वेला दिनमै ५ जना नेता हामीलाई भोट देउ, तिमिहरुलाई घर बनाईदिन्छु, पानीको व्यवस्था मिलाउँछु, बालबालिकालाई पढ्ने स्कूल दिन्छु भन्थे ।

अहिले वस्ने घर नै उडाएको बेल कोही अनुहार देखाउनसम्म आएका छैनन् ।’ बैशाख २६ गते बुधबार आएको  हुरीले सिरहामा एक वृद्धको मृत्यु हुनुकासाथै ठूलो संख्यामा घर टहराहरु उडाएको थियो । हुरीले विद्युतका पोलहरु समेत भाँचेकाले कतिपय गाउँमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । मिचैया विद्युत प्रशारण केन्द्रका प्रमुख शिवराम यादवले विद्युत सेवा सुचारु गर्न अझै एक साता लाग्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप