आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
यू–१९ महिला विश्वकप छनोट क्रिकेट

कप्तान पूजाको अलराउन्ड प्रदर्शनमा नेपालले कुवेतलाई १६५ रनले हरायो

मङ्गलबार, २७ कात्तिक २०८१, १४ : ०६
मङ्गलबार, २७ कात्तिक २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले चौथो जित हासिल गरेको छ । नेपालले मंगलबार खेलिएको खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । विशाल विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कुवेतले भने १३ ओभरमै अलआउट हुनुअघि ४८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महतोले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरिन् । पहिले पूजाले उत्कृष्ट शतकीय पाली खेलिन् । टोलीकी कप्तानसमेत रहेकी पूजाले अविजित एक सय ३० रनको योगदान गरिन् । उनले केवल ६९ बलको सामना गरी १७ चौका हिर्काइन् । उनको स्ट्राइक रेट १८८.४१ रह्यो ।

puja

जारी छनोट प्रतियोगितामा कुनै पनि ब्याटरले बनाएको यो सर्वाधिक रन पनि हो । १८ वर्षीया अनुभवी ब्याटर पूजाले त्यसअघि केवल ५७ बलमा १२ चौकाको मद्दतले आफ्नो शतक पुरा गरेकी थिइन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पूजाले बनाएको यो पहिलो शतक हो । शतक पुरा गर्दा उनको स्ट्राइक रेट १७५.४४ रहेको थियो । पूजाले अर्धशतक भने केवल २९ बलमा पुरा गरेकी थिइन् ।

नेपालका लागि सोनी पाख्रिनले पनि अविजित ४३ रनको योगदान गरिन् । सोनीले केवल ३३ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । सावित्री धामीले पनि टोलीको खातामा ११ रन थपिन् । साना प्रवीणले ६ रन बनाइन् । नेपाली टोलीले अतिरिक्त रूपमा पनि २३ रन पाएको थियो ।

कुवेतकी बलर जिफा जिलानीले एक विकेट लिइन् । जवाफी ब्याटिङमा ओर्लिएको कुवेतलाई सस्तोमा समेटने क्रममा पूजा एक्लैले पाँच विकेट लिइन् । कप्तान पूजाले चार ओभरमा एक मेडन राख्दै केवल १९ रन खर्चिइन् ।

पूजाले एकै ओभरमा चार विकेट हात पारेकी थिइन् । उनले आफ्नो तेस्रो ओभरमा चार विकेट लिएकी हुन् । उनले त्यो ओभरको पहिलो, दोस्रो, चौथो र पाँचौँ बलमा विकेट लिएकी हुन् । उनी प्लेयर अफ द म्याच पनि घोषित भइन् ।

रचनाकुमारी चौधरीले पनि दुई विकेट हात पारिन् । उनले चार ओभरमा एक मेडन राख्दै १९ रन खर्चिइन् । सिमाना केसीले पनि दुई विकेट लिइन् । उनले एक ओभरमा एक रनमात्र खर्चिएकी थिइन् । कुवेतका लागि ओपनर जिफा जिलानीले सर्वाधिक ३६ रन बनाइन् । उनले ४२ बलमा सात चौका पनि हिर्काइन् । कुवेतका अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जारी प्रतियोगितामा नेपालले खेलेको यो पाँचौँ खेल हो । नेपालले यसअघि खेलिएको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।

यसैगरी, आफ्नो दोस्रो खेलमा नेपाली टोलीले कुवेतलाई एक सय आठ रनले पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा भने नेपाली टोली आयोजक यूएईसँग १३ रनले पराजित भएको थियो । नेपाली टोलीले आफ्नो चौथो खेलमा थाइल्यान्डलाई एक सय ६ रनको फराकिलो अन्तर हराएको थियो ।

जारी प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ । सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि अङ्क तालिकाको पहिलो स्थानमा रहने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ । यू–१९ महिला टी–२० विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।

एसियाली क्षेत्रको जारी छनोट प्रतियोगितामा हालसम्म चार खेल खेलेको आयोजक यूएईको आठ अङ्क रहेको छ । यूएईले हालसम्म आफूले खेलेका चारवटै खेलमा जित हात पारेको छ । पाँच खेल खेलेको नेपाली टोलीको पनि आठ अङ्क पुगेको छ । नेपालले यूएईभन्दा एक खेल बढी खेलेको छ ।

यसैगरी, हालसम्म चार खेल खेल खेलेको थाइल्यान्डको दुई अङ्क छ । कुवेत भने आफूले खेलेको पाँचवटै खेलमा पराजित भएको छ । एउटा टोलीमात्र विश्वकपमा छनोट हुने भएकाले नेपाली टोली केही दबाबमा रहेको छ ।

नेपाली टोलीले आफ्नो छैटौँ तथा अन्तिम खेल बुधबार आयोजक यूएईसँग खेल्नेछ । यूएईले भने आफ्नो पाँचौँ खेल मंगलबार थाइल्यान्डसँग खेल्दैछ । नेपाली टोलीले विश्वकपमा छनोट हुन आफ्नो छैटौँ खेलमा यूएईलाई पनि हराउनु पर्नेछ । यसका अतिरिक्त, आयोजक यूएई बाँकी दुईमध्ये कम्तीमा एक खेलमा ठुलो अन्तरले पराजित हुनु पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?