यूएईविरुद्ध ‘गर या मर’ को खेल आज : यस्तो स्थितिमा नेपाल विश्वकपमा हुनेछ छनोट
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले बुधबार महत्त्वपूर्ण खेल खेल्दैछ । नेपालले आफ्नो छैटौँ तथा अन्तिम खेलमा आयोजक यूएईको सामना गर्न लागेको हो ।
नेपाल र यूएईबिचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुने अभियानमा रहेको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिताबाट अङ्क तालिकाको पहिलो स्थानमा रहने एक टोली महिला विश्वकपमा छनोट हुनेछ ।

नेपाल र यूएईबिचको यही खेलले विश्वकपमा छनोट हुने टोलीको टुङ्गो लगाउने छ । हालको स्थितिमा नेपालभन्दा यूएईको सम्भावना तुलनात्मक रूपमा बढी देखिन्छ । जारी प्रतियोगितामा सहभागी चारवटै टोलीले पाँच–पाँच खेल खेलिसक्दा १० अङ्कसहित यूएई तालिकाको पहिलो स्थानमा आसीन छ ।
यूएईले पाँचवटै खेलमा जित हात पारेको छ । नेपाल भने आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । थाइल्यान्ड र कुवेतको अगाडि बढ्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ । विश्वकपमा छनोट हुन बुधबारको खेलमा नेपालले यूएईलाई हराउनै पर्ने हुन्छ ।

नेपालले यूएईलाई हराएमा दुवै टोलीको १०–१० अङ्क हुनेछ । तर, अहिलेको स्थितिमा नेट रन रेटमा पनि नेपालभन्दा यूएई नै अगाडि छ । यूएईको नेट रन रेट ४.७९१ र नेपालको नेट रन रेट ४.३३० रहेको छ । त्यसैले बुधबारको खेलमा नेपालले यूएईलाई ठुलो अन्तरले हराउनु पर्ने हुन्छ ।
यदि, बुधबारको खेलमा यूएईसँग पराजित भएमा नेपालको यू–१९ महिला टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त हुनेछ । खेल अनिर्णीत रूपमा सकिएको अवस्थामा पनि नेपाललाई पछि पार्दै यूएई नै विश्वकपमा छनोट हुनेछ ।

यस्तो स्थितिमा नेपालसँग ठुलो अन्तरले यूएईलाई हराउनुको विकल्प छैन । जारी प्रतियोगितामा नेपालले हालसम्म एक खेलमात्र हारेको छ । त्यो हार पनि यूएईसँगै भोगेको हो । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।
यसैगरी, नेपाली टोलीले आफ्नो दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा भने नेपाली टोली यूएईसँग १३ रनले पराजित भएको थियो । नेपालले चौथो खेलमा थाइल्यान्डलाई एक सय ६ रनले र पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनले हराएको थियो ।

बुधबारको खेलमा नेपालले पहिले ब्याटिङ गरेमा कम्तीमा एक सय ४० रन बनाउनु पर्ने हुन्छ । त्यसपछि यूएईलाई कम्तीमा २१ रनको अन्तरले हराउनु पर्ने हुन्छ । यस्तो स्थितिमा नेपाल विश्वकपमा छनोट हुनेछ ।
यदि, नेपालले पहिले बलिङ गरेमा यूएईलाई एक सय ४० रनभित्रै रोक्ने प्रयास गर्नु पर्नेछ । त्यसपछि नेपालले १६.१ ओभरमै विजयलक्ष्य पुरा गर्नु पर्नेछ । यस्तो स्थितिमा पनि यूएईलाई पछि पार्दै नेपाल विश्वकपमा छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण