आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
जागरण सभाका नाममा शक्ति प्रदर्शन

मंसिर ७ गते एक लाख कार्यकर्ता सडकमा उतार्दै एमाले

बिहीबार, २९ कात्तिक २०८१, १७ : ४०
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने भएको छ ।

जागरण सभाको नाममा एमालेले समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता–कार्यकर्ता परिचालन गर्दै उपत्यकास्तरीय प्रदर्शन गर्ने तयारी गरेको हो ।

सभा र प्रदर्शनमा करिब १ लाख नेता–कार्यकर्ता सडकमा आउने एमाले नेताहरूले बताएका छन् । काठमाडौँको भृकुटीमण्डमा हुने जागरण सभामा एमालेले उपत्यकाका तीन वटै जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने तयारी गरेको छ ।

सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसंगठन र सम्पर्क मञ्च परिचालन गरेको नेकपा एमाले बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईले जानकारी दिए । भट्टराईकै नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन भइसकेको छ  ।

समितिको सहसंयोजकमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल छन् भने सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, समिक बडाल र जनक चौधरी छन् ।

प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै सङ्घर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारकोे नेतृत्कर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो ।

जागरण सभा संयोजन समितिका सहसंयोजक एवं नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले मंसिर ७ गते उपत्यकाका तीन जिल्लाको एमाले तागत देखिने बताए ।

‘उपत्यकाका मंसिर ७ गतेको जागरण सभामा एक लाख हाराहारीमा एमाले नेता कार्यकर्ता सहभागी हुन्छन् भन्ने हाम्रो प्रारम्भिक अनुमान छ’, सहसंयोजक ढुंगेलले भने, ‘मंसिर ७ गते काठमाडौँ उपत्यकाभित्रको एमाले तागत सडकमा ल्याउने काम हुन्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यसअघि कात्तिक १० गते सरकारलाई खबरदारी गर्न काठमाडौँको भृकुटीमण्डमा खबरदारी सभा गरेको थियो । काठमाडौँपछि माओवादी केन्द्रले देशैभर (७५३ वटै) पालिकामा समेत खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।

अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक प्रतिशोध साँधेर सहकारी प्रकरणमा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरी अनावश्यक दुःख दिएको भन्दै कात्तिक ३ गतेबाटै विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरू सरकारको नीति र नियतमाथि प्रश्न उठाउँदै सडकमा ओर्लंदा सत्तारुढ दल समेत जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्न पुगेपछि दलहरूको पहिलो रोजाई सडक नै बने प्रस्ट देखिन्छ । विपक्षी राजनीतिक पार्टीहरूले खासगरी भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमै दबाब बढाइरहेका छन् । एमालेले पनि सोही शैलीमा प्रदर्शन गर्ने तयारी गरेर विपक्षीलाई जवाफ दिने माध्यम जागरण सभालाई बनाउने देखिन्छ ।

काठमाडौँपछि एमालेले देशैभर जागरण सभा आयोजना गर्ने नेता भट्टराईले जानकारी दिए ।

  • भट्टराईलाई ५ प्रश्न

१. जागरण कि शक्ति प्रदर्शन ?

सुशासन, शान्ति स्थायित्व र विधिको शासन स्थापित गर्ने कुरामा जनमत निर्माण गर्न जागरण सभा आयोजना गरिएको हो । विधिको शासनलाई उल्लङ्घन गर्ने, कानुनी राज नमान्ने र अराजकतातर्फ मुलुक उन्मुख गराउने, द्वन्द्वतर्फ समाजलाई लैजाने र अन्ततगोत्वा त्यो प्रवृत्ति बोकेका मानिसहरूले व्यवस्थाकै विरुद्धमा समेत आवाज उठाउने खालका प्रवृत्तिहरू देखा परेका छन् ।

त्यसलाई चिर्न नेपाली समाज, अहिलेको लोकतान्त्रिक प्रणाली, संविधान र यही व्यवस्थाको माध्यमबाट अघि बढ्न चाहन्छ भनेर जनतालाई बुझाउने हो । यो व्यवस्थामा दलहरूले सुधार्नुपर्ने कुरा सुधार्दै र सच्याउनुपर्ने विषयहरू सच्याउँदै अगाडि जान चाहन्छन् भन्ने सन्देश दिन पनि जागरण सभा आयोजना गरेका हौँ ।

२. एमाले आफैँले सरकारको नेतृत्व गरेको छ, अनि आफैँ सडक प्रदर्शनमा पनि जाँदैछ । यसलाई जनताले कसरी बुझ्ने ?

सरकारमा जाँदैमा सरकारप्रतिको जनताको अवधारणा के छ भनेर राजनीतिक दलले बुझ्न पाउँदैनन् भन्ने होइन । सरकारमा हुँदै निर्वाचनमा जानुपर्ने हुन्छ । जनतालाई शान्तिपूर्ण रूपमा हामीले गरेका राम्रा काम र अघि बढाउन खोजेका विचारहरूका बारेमा सुसूचित गर्न जनतामा पुग्ने कुरा जीवन्त राजनीतिक दलका लागि सदा–सर्वदा जानुपर्ने विषय हो । त्यही अन्तर्गत हामी त्यो बाटोमा जान लागेका हौँ ।

३. समाजमा बढ्दो अराजकता नियन्त्रण र कानुनको पालना गर्ने गराउने प्रमुख दायित्व सरकारको हुन्छ । अहिले प्रमुख प्रतिपक्ष दलहरूले सरकारलाई खबरदारी पनि गरिरहेका छन् । यही बेला एमालेले जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्न लागेको भनेर बुझिँदैन र ?

यो शक्ति प्रदर्शन होइन । अहिलेका विषयहरूका बारेमा जनतालाई सचेत गराउन खोजेका हौँ कि यसका विषयमा विभिन्न तानाबाना बुनिएका छन् । विभिन्न हिसाबबाट विभिन्न राजनीतिक दलका व्यक्तिहरू भेटघाट र कुराकानी गर्ने, त्योपछि आन्दोलन गर्छौं भनेर प्रणालीमाथि नै प्रश्न उठाउने प्रवृत्ति देखा परेका छन् ।

कतिपय ठाउँमा जातीय दंगा उठाउन खोज्ने तथा सामाजिक अराजकता फैलाउने प्रवृत्ति पनि देखा परेको छ । यस्ता कुराहरू हाम्रा लागि ठिक बाटो होइन, ठिक बाटोचाहिँ रोजेर ल्याएको यो संविधान, व्यवस्था र प्रणाली हो । अब यसैलाई सुदृढ गर्दै र सच्याउँदै अगाडि जाने बाटो नै उपयुक्त हो भन्ने सन्देश सभाले दिन लागेको हो ।

४. काठमाडौँमा जागरण सभा गरेर तपाईंहरूले दिन खोजेको सन्देश देशभर पुग्छ वा देशभर नै कार्यक्रम गर्ने हो ?

क्रमशः देशका अरु भागमा पनि कार्यक्रम गर्छौं । खासगरी सन्देश सभाका रुपमा कार्यक्रमलाई लिएर जाने हो । जनतालाई सुसूचित गराउने कानुनी बाटोमा सरकारले गर्छ भने सरकारले गरेका राम्रा कामबारे जनतालाई जानकारी गराउने दायित्व सरकारको नेतृत्व गर्ने पार्टीको पनि हुन जान्छ ।

५. सत्तापक्ष र प्रतिपक्ष सडकमा ओर्लंदा भविष्यमा मुठभेडको सम्भावना हुँदैन ?

सडकमा जानु भनेको मुठभेड निम्त्याउनु होइन । मुठभेडका लागि मात्र सडकमा गइन्छ भन्ने कुरा नै गलत हो । शान्तिपूर्ण हिसाबले आफ्ना कुरा जनताका बिचमा राख्ने लोकतन्त्रमा सर्वमान्य अधिकार नै हो । यो अधिकार विपक्षी र सत्तापक्षले पनि पाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?