तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गरिन्छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । आज यहाँ लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरे ।
उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट व्यवस्थापन गरी आइटी क्षेत्रमा आवश्यक काम थालनी गर्ने बताए । यसका लागि सरकारले ‘एआई’ नीति ल्याउने, आइटी पूर्वाधार तयार पार्ने, बजेट विनियोजन गर्ने लगायतका योजना रहेको उनले जानकारी गराए ।
आफ्नै कार्यकालमा काठमाडौँमा आइटी पार्क र ज्ञान पार्क (नलेज पार्क) निर्माण गर्नेसमेत प्रतिबद्धता जनाए । मुलुकलाई डिजिटल बनाउने उद्देश्यको सुरुवात स्थानीय निकायका सरकारी काम प्रविधिमैत्री बनाइ सुरु गरिने उनले बताए । “स्थानीय तहबाट डिजिटल नेपाल सुरु गर्छौँ, विस्तारै व्यापक बनाउदै लैजान्छौँ”, उनले भने, “डिजिटल नेपाल बनाउने भनाइ र गराइ एकातिर भइरहेको छ । यसलाई सुधारेर नीतिगत व्यवस्था, पूर्वाधार निर्माण र योजनावद्ध शैलीमा सूचनाप्रविधिको विकास थालनी गर्दै छौँ ।”
कार्यक्रममा आइटी काउन्सिलका अध्यक्ष अजितकुमार साहले सरकारले हाल सूचनाप्रविधिको क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिन सकेमा सफलता हासिल गर्न सकिने बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सचिव रवीन्द्र ढकालले युवालाई स्वदेशमा टिकाउन प्रोत्साहन आवश्यक भएको बताउदै यसका लागि औद्योगिक प्रतिष्ठानको सहकार्य जरुरी रहेको बताए ।
चेम्बर अफ कर्मसका सदस्य पङ्कज जलनले नीतिगत सुधार गरेर सरकारले युवालाई स्वदेशमै टिकाउने रणनीति ल्याउन आवश्यक रहेको बताए । ‘डिजिटल पेमेन्ट’मासमेत भ्याट लाग्दा प्रविधि प्रयोगकर्ता हतोत्साही भएको उल्लेख गर्दै उहाँले भ्याट हटाउन सरकार समक्ष अनुरोध गरे । पूर्वमन्त्री गणेश साहले नेपालमा आइटी हबको सम्भावना प्रशस्त भएको बताउँदै बेरोजगारी समस्या कम गर्न सकिने चर्चा गरे ।
लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य पूरा गर्न डिजिटल पूर्वाधार निर्माण, नीतिगत सुधारसँगै असल शासन आचरण पालना गर्न सुझाव दिए । शुक्रबारसम्म सञ्चालन हुने स्टार्टअप एन्ड आइडिया फेस्टमा विभिन्न आइटीसम्बन्धी नवीन कार्य प्रदर्शनीमा राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण