शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
पूर्वमन्त्री जोडिएको मानव तस्करी प्रकरण

महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ

‘गोपाल भन्ने योगराज गौतमलाई एमालेको संसदिय दलको कार्यालयमा भेटेको थिएँ’
मङ्गलबार, ११ मङ्सिर २०८१, १४ : ४५
मङ्गलबार, ११ मङ्सिर २०८१

काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन प्रकरणमा मुख्य बिचौलिया महेश पाण्डेले घुम्ने उद्देश्यले मात्रै एक जना युवकलाई जापान पठाएको बयान दिएका छन् । 

धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेले जापानमा आफ्नो साथी दिवाकर बाबु भट्टराईले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको र त्यहाँ आफूले २२ वर्षीय कञ्चन देवकोटालाई पठाएको बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘भट्टराईले जापान जान चाहने मान्छेको नाम मागेको कञ्चन देवकोटाले जापान घुम्न मलाई पठाइदिनु भनेपछि पठाएको हुँ ।’ 

होटल खर्च र प्लेन टिकटका लागी आवश्यक ५ लाख ५० हजार रकम देवकोटासँग लिएर भट्टराईलाई दिएको पाण्डेले बताएका छन् । 

बालाजुमा कृषि मल्टी प्रपोज सञ्चालन गर्ने पाण्डेले भट्टराईले कार्यक्रमबारे बताउँदै जान चाहनेको नाम दिन भएको र सो कुरा आफूले गोपाल भन्ने योगराज गौतमसँग सेयर गरेको बताएका छन् । बयानमा भनेका छन्, ‘योगराज गौतमले लिलाबल्लभ अधिकारीलाई फोन गर्दा उहाँले जाने हो भन्नुभएको थियो, त्यसपछि मैले मन्त्रीको नाम भट्टराईलाई दिएको हुँ ।’ 

  • ​​​​​​​प्रतिवादी महेश पाण्डेको बयानः

म विगत ५ वर्षदेखि काठमाडौँको बालाजुमा कृषि मल्टी प्रपोज कम्पनी सञ्चालन गरी व्यवसाय गर्दै आइरहेको छ । त्यसै क्रममा व्यवसाय गर्दै जाँदा म नेपालबाट विदेशमा विभिन्न कार्यक्रमहरूमा समेत भाग लिन जाने गरेको छु ।

दिवाकर बाबु भट्टराई र म स्नातक र स्नातकोत्तर अध्ययन गर्दाको साथी भएकाले राम्रोसँग चिनजान छ । निज स्नातकोत्तरको थेसिस बुझाउन बाँकी रहँदा नै निज अमेरिकामा भिजिट भिसामा गएकामा निजले हाल अमेरिकाको ग्रिनकार्ड बनाई ७ वर्ष पछि २०८१ सालको दसैँ आउने बेलामा नेपालमा आएका हुन्।

नेपालमा आए पछि दिवाकर बाबु भट्टराईले मलाई सम्पर्क गरी भेटघाट भएको र कुराकानी समेत भएको हो । त्यस्तैमा आज भन्दा १ महिना पहिले दिवाकर बाबु भट्टराईले मलाई फोन गरी मिति २०८१।०७।११ गते देखि मिति २०८१।०७।१८ गते जापानको टोकियो सहरमा हाम्रो कम्पनीबाट International conference on open access to Culture 2024 को कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त कार्यक्रममा जाने कोही भए नाम दिनुहोस् भनेकोले म र गोपाल भन्ने योगराज गौतम कुराकानी गरी बसिरहेको अवस्थामा सोही कुरा मैले योगराजलाई भनेकोले निजले नै कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीको मोबाइलमा फोन गरी जापानको कार्यक्रममा भाग लिन जाने हो ? भनी सोध्दा निज मन्त्रीले जाने हो भनी जानकारी गराए पछि मैले कोशी प्रदेशका कानुन तथा आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीको नाम मैले दिवाकर बाबु भट्टराईलाई पठाई दिएको हुँ ।

सोही कार्यक्रममा भाग लिई आउनको लागि मैले चिनेको भाइ कन्चन देवकोटाले भिसाको प्रक्रियाको रकम र टिकेटको रकम तिर्न सक्छु भनी मलाई भनेकाले निजको नाममा समेत दिवाकर बाबु भट्टराईलाई दिएको हुँ । निजलाई जापान जानको लागी तयार भई बस भनेकोले निजले हुन्छ भनी जापान जान लाग्ने खर्च हवाई टिकट, कार्यक्रम खर्च, होटल बुक गर्न लाग्ने खर्च मलाइ पठाऊ भन्दा निजले मेरो नाममा नबिल बैकमा रहेको खातामा पटक पटक गरी रु.५,५५,०००।- (पाँच लाख पचपन्न हजार ) रकम जम्मा गरी दिएका थिए । उक्त रकम मैले लिलाबल्लभ अधिकारी र कन्चन देवकोटाको नाममा हवाई टिकट, होटल खर्च समेतको कागजातहरू तयार गर्न आयोजक दिवाकर बाबु भट्टराईलाई काठमाडौँको पुतली सडकमा भेटी मिति २०८१।०७।१० गते नगद रुपैयाँ रु.५,५०,०००।– रकम बुझाएपछि कन्चन देवकोटा र लिलाबल्लभ अधिकारीको जापानमा जाने कार्यक्रमको हवाई टिकट, होटल बुकिङ, कार्यक्रममा सहभागी हुने कागजातहरू मलाई दिएका थिए । उक्त कागजातहरू मध्ये कन्चन देवकोटाको नामको हवाई टिकट लगायतको कागजातहरू मैले निजलाई मिति २०८१।०७।११ गते बिहान काठमाडौँको दरबारमार्गमा भेटी दिएको थिएँ भने लिलाबल्लभ अधिकारीको प्लेनको टिकेट समेतका भिषा लागेको राहदानी समेत मैले मिति २०८१/०७/११ गते काठमाडौँ Airport मा नै लिलाबल्लभ अधिकारीलाई भेटी दिएको हुँ ।

मिति २०८१।०७।११ गते मलाई दिवाकर बाबु भट्टराईले फोन गरी उक्त कार्यक्रममा प्रवेश गर्नको लागी परिचय पत्र आवश्यक पर्ने भएकोले मन्त्रीको परिचय पत्र आफै हुन्छ तर निज कन्चन देवकोटाको परिचय पत्र छैन होला फोटो मागी मलाई पठाउनु म परिचय पत्र वनाई पठाई दिन्छु भनी जानकारी गराएकोले सो कुरा मैले कन्चन देवकोटालाई बताई निजले मेरो Whataspp आइडीमा १ वटा फोटो पठाएकोले उक्त फोटो मैले दिवाकर बाबु भट्टराईको Whatsapp आईडीमा पठाएको थिएँ। मिति २०८१।०७।११ गते बेलुका म नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा गई उक्त कार्यक्रममा सहभागी हुन जाने लिलबल्लभ अधिकारीको नामको कागजातहरू लिला वल्लभ अधिकारीलाई दिएको हुँ । दिवाकर बाबु भट्टराईले निज कन्चन देवकोटाको नाम समेतमा तयार भएको परिचय पत्र निजले आफैले कन्चन देवकोटालाई दिएका थिए । निज कन्चन देवकोटालाई लिलाबल्लब अधिकारी पनि उक्त कार्यक्रममा सहभागी हुन गएको भन्ने मैले नेपालमा जानकारी गराएको थिएँ तर लिलाबल्लभ अधिकारीसँग कन्चन देवकोटाको चिनजान नेपालमा भएन । निज कन्चन देवकोटा हङकङ पुगेपछि मैले निजको ह्वाट्सएपमा सम्पर्क गरी मन्त्री ज्यू पनि ट्रान्जिटमा छन् लिलाबल्लभ अधिकारीलाई भेट्नु भनि निज लिलाबल्लभ अधिकारीको फोटो पठाई दिएको थिएँ ।

International conference on open access to Culture 2024 को कार्यक्रममा सहभागी भएका लिलाबल्लभ अधिकारी र कन्चन देवकोटा समेतलाई जापानको अध्यागनबाट फिर्ता पठाउन लाग्दै छ भन्ने कुरा मैले गोपाल भन्ने योगराज गौतमले फोन गरी जानकी गराएका थिए। पछि निजहरू नेपाल एरपोटमा आईपुगे पछि कन्चन देवकोटाको साथबाट कोशी प्रदेश कानुन तथा आन्तरिक मामिला मन्त्रालय लेखाएको कर्मचारी परिचय पत्र फेला परेकोले सो सम्बन्धमा अनुसन्धान गर्न निज कन्चन देवकोटा, दावा शेर्पा र जनक राई समेतलाई पक्राउ गरेको भन्ने कुरा थाहा पाएको हुँ । उक्त परिचय पत्र बनाउने र जापान पठाउने कार्यमा मेरो संलग्नता रहेको भनी कन्चन देवकोटाले प्रहरीलाई बताएपछि म समेतलाई मिति २०८१।०७।१६ गते प्रहरीले पक्राउ गरी यस कार्यालयमा ल्याएको हो । उक्त परिचय पत्र दिवाकर बाबु भट्टराईले विष्णु भट्टराई मार्फत के कसरी तयार गरे सो सम्बन्धमा मलाइ केही थाहा छैन । सो कुरा दिवाकर बाबु भट्टराईले विष्णु भट्टराईलाई नै थाहा जानकारी होला ।

सो परिचयपत्र मैले बनाएको होइन र बनाउन लगाएको समेत होइन । जापानमा हुने कार्यक्रममा सहभागी हुनको लागी आयोजक टिमहरूले सँगै बस्न र जानको लागी कन्चन देवकोटा र लिला बल्लभ अधिकारी समेतको नाममा होटल बुक गरेका हुन । के कसरी एकै स्थानमा दुवै जनाको नाम उल्लेख गरे सो सम्बन्धमा मलाइ केही थाहा छैन । जनक राई, दावा शेर्पाको सम्बन्धमा मलाइ केही थाहा छैन । मैले निजहरूलाई सम्पर्कमा ल्याएको पनि छैन । निजहरूको फोटो पनि मागेको छैन । निजहरूलाई जापान पठाउने कार्यमा मेरो कुनै संलग्नता र मिलेमतो छैन । म निजहरूलाई चिन्दिनँ । हालमा आएर बुझ्दा निज दुवै जनालाई जापान पठाउनको लागि दिवाकर भट्टराईलाई नाम दिने व्यक्तिहरू जुगल रिजाल र वीर बहादुर सुनुवार हुन् भन्ने कुरा निजहरू समेत पक्राउ परेपछि थाहा पाएको हुँ ।

कन्चन देवकोटाले जापान घुम्नको लागी मलाई पठाई दिनु भनेकोले निजलाइ जापानमा घुम्न जाने उदेश्यले मैले दिवाकर बाबु भट्टराईले संचालन गरेको International conference on open access to Culture 2024 को कार्यक्रममा सहभागी हुन कागजातहरु तयार गरी भिषा लगाउन र होटल वुकिङ र प्लेनको टिकट काट्नको लागि आवश्यक पर्ने रकम मैले मागे पछि कन्चन देवकोटाले मलाई रु ५,५०,०००/- रकम पठाएका हुन् । उक्त रकम रु. ५,५५,००० निजबाट लिई मैले दिवाकर वावु भट्टराईलाइ भेटी नगदै दिएको हुँ । कन्चन देवकोटाको नाममा तयार गरेको कर्मचारी परिचय पत्र नक्कली हो भन्ने कुरा निज जापानबाट फिर्ता भए पछि हङकङमा ट्रान्जिटमा सो कार्ड लिलाबल्लभ अधिकारीले देखेपछि निजले नै सो कार्डको फोटो खिची सामाजिक संजाल मार्फत नेपाल प्रहरीलाई पठाई मलाई समेत सामाजिक संजाल ह्वाट्सएपमा सम्पर्क गरी कन्चन देवकोटाको नामको सरकारी कार्ड मैले सही गरेको भनि को कसले वनाएका हुन भनि सोध्दा जापान जाने सवै कागजातहरु दिवाकर वावु भट्टराई र निजको भाई विष्णु भट्टराईले वनाएका हुँदा सो कार्डको सम्बन्धमा मलाई केही थाहा जानकारी छैन। हजुर नेपाल आउनु नेपालमा आए पछी आयोजक दिबाकर भट्टराई समेतसँग वसी कुरा गरौला भनि मैले जानकारी गराएको थिएँ । कन्चन देवकोटाले लिला वल्लभ अधिकारीलाई नचिनेको र आयोजकहरुले लिला वल्लभ अधिकारीलाई उक्त कार्यक्रको अतिथि बनाएकोले निजसंगै जानु भनी कन्चन देवकोटलाई सो कुराको जानकारी गराई लिला वल्लभ अधिकारीको फोटो समेत निजको Whatasapp मा पठाएको हुँ ।

जापानमा हुने International conference on open access to Culture 2024 को ७ दिनको कार्यक्रममा सहभागी हुने लाग्ने भिषा प्रकृया, होटल खर्च, हवाई टिकट, प्रोग्राम खर्च समेतको रकम लिएको हुँ । उक्त रकम मैले दिवाकर भट्टराईलाइ भेटी नगदै दिएको हुँ । जापानमा हुने International conference on open access to Culture 2024 को ७ को कार्यक्रमा सहभागी गराउने आयोजकहरु दिवाकर बाबु भट्टराई र बिष्णु भट्टराई हुन्। जिल्ला उदयपुर त्रियुगा नगरपालिका अन्तर्गत बसोबास गर्ने देवी प्रसाद भट्टराईको छोरा बर्ष ३४ को दिवाकर बाबु भट्टराई हुन् । गोपाल भन्ने योगराज गौतम लिलाबल्लभ अधिकारीको साथी हुन् भन्ने कुरा मलाई थाहा छ । निजको घर मोरङ जिल्ला हो भन्ने कार मलाई थाहा छ । एकिन वतन मलाई थाहा भएन । गोपाल भन्ने योगराज गौतमलाई मैले आज भन्दा ५/६ वर्ष अगाडि देखि चिनेको हुँ। निज सिंहदरबार भित्र ढलपानीको ठेक्कापट्टाको काम गर्ने र म पनि मेरो मामा खेम प्रसाद लोहनी एमाले पार्टीबाट २०७४ सालमा निर्वाचित सभासद भएकोले म एमालेको संसदिय दलको कार्यालयमा जाँदा निजसँग भेटघाट भई कुराकानी हुँदा चिनजान भएको हो ।

निज गोपाल भन्ने योगराज गौतम समेत एमाले पाटीमा आवद्ध कार्यकर्ता नै हुन् । कन्चन देवकोटा, जनक राई र दावा शेर्पालाई जापान पठाउने कार्यमा निजको कुनै संलग्नता छैन । मैले नै गोपाल भन्ने योगराज गौतमलाई जापान जाने कोही मानिस छ भनि सोध्दा निजले लिलाबल्लभ अधिकारीलाई फोन गरी सोध्दा निजले जाने भनेपछि मलाई नाम र राहादानी समेत दिएकाले मैले निजको नाम दिवाकर वावु भट्टराईलाई दिइ निजको भिषा समेतको कागजातहरु तयार गरेका हुन् । जापान पठाउने कार्यका निज गोपाल भन्ने योगराज गौतमको कुनै संलग्नता र मिलेमतो छैन । निजले लिलाबल्लभ अधिकारीलाई जापान पठाए वापत कुनै पनि आर्थिक लाभ लिएका छैनन् । निज गोपाल भन्ने योगराज गौतमलाई कन्चन देवकोटा, जनक राई र दावा शेर्पा लिला वल्लभ अधिकारीसँग नै जापान जाँदै छन् भन्ने कुराको कुनै थाहा जानकारी थिएन । कन्चन देवकोटाको नाममा नक्कली परिचय पत्र बनाउने कार्यमा मैले कुनै खर्च गरेको छैन । फोटो भने मैले दिवाकर भट्टराईलाई पठाएको हुँ । निजले के कहाँबाट नक्कली परिचय पत्र बनाए मलाइ थाहा छैन । International conference on open access to Culture 2024 को कार्यक्रममा नेपालीहरुलाई जापान पठाउनको लागी कुनै पनी संघ संस्थाबाट अनुमती पत्र लिनु पर्दैन ।

कार्यक्रमको आयोजकले सिफारिस गरे पछि ईच्छुक ब्यक्तिहरु जो पनी उक्त कार्यक्रममा जान पाउँछन । दावा शेर्पा र जनक राईलाइ म चिन्दिन । कन्चन देवकोटाले म जापान घुम्न जान्छु भनी बताएकोले मैले निजलाई International conference on open access to Culture 2024 को कार्यक्रममा सहभागी हुन दिवाकर भट्टराई मार्फत जापान पठाएको हुँ । मैले मानव तस्कर गरी जापान पठाएको होईन । मैले लिला बल्लभ अधिकारी र कन्चन देवकोटालाई चिनेकोले निजहरुलाई International conference on open access to Culture 2024 को कार्यक्रममा सहभागी हुनको लागि दिवाकर भट्टराई मार्फत पठाएको हुँ । अन्य ब्यक्तिलाई म चिन्दिन । नक्कली परिचय पत्र दिवाकर भट्टराई र बिष्णु भट्टराईले के कसरी तयार गरे मलाइ थाहा भएन । निज कन्चन देवकोटा पक्राउ परे पछि उक्त नक्कली परिचय पत्र फेला परेको भन्ने कुरा थाहा पाएको हुँ । दिवाकर भट्टराईले कार्यक्रमको लागी परिचय पत्र बनाउने भनेकोले मसँग कन्चन देवकोटाको फोटो माग गरेकोले मैले निजलाइ कन्चन देबकोटको फोटो दिएको हुँ । निजले के कसरी सरकारी कार्यालयको नाम प्रयोग गरी नक्कली परिचय पत्र तयार गरे सो सम्बन्धमा थाहा भएन । निजहरु जापानमा जान दिवाकर बाबु भट्टराई र बिष्णु भट्टराईले मन्त्री लिला बल्लभ अधिकारी, जनक राई, दावा शेर्पा, कन्चन देवकोटा समेतको कागजातहरु तयार गरी निजहरु चारै जना एकै प्लेनमा मिति २०८१/०७/११ गते काठमाडौँबाट जापान गएका थिए । कन्चन देवकोटासँग नेपाली रु ६,००,०००/- रकम मैले लिएको र सो रकम मध्ये रु ५,५०,०००/- मैले दिवाकर वावु भट्टराईलाई दिएको हुँ । तर सो रकम तिर्ने दायोत्व मेरो हो ।

International conference on open access to Culture 2024 को कार्यक्रममा सहभागी हुन लागी कन्चन देबकोटाको कर्मचारी परिचय पत्र बनाउनु पर्ने भएकोले निज दिवाकर बाबु भट्टराईले मसँग निजको फोटो माग गरेकोले मैले कन्चन देवकोटालाई फोटो पठाउनु भनेपछि कन्चन देवकोटाले मलाई मेरो Whataspp मा नै फोटो पठाए पछि मैले सो फोटो निज दिवाकर वावु भट्टराईको मोबाईल नं 98092***** को फोनको Whataspp आईडीमा पठाएको थिएँ । निज को 97092***** नम्बरमा फोन हुने गर्दथ्यो ।

दिवाकर बाबु भट्टराईले निजको भाई बिष्णु भट्टराई मार्फत काठमाण्डौको बागबजारबाट नक्कली कर्मचारी परिचय पत्र बनाई दिवाकर भट्टराईले त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल काठमाडौँमा कन्चन देवकोटालाई दिएको भनी थाहा पाएको हुँ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय गौचरणको पत्र संलग्न हुन आएको Reservation confirmation समेतको कागजतहरु मलाई देखाउँदा देखी पाएँ । उक्त कागजातहरु दिवाकर बाबु भट्टराईले जापानमा हुने International conference on open access to Culture 2024 को कार्यक्रममा सहभागी हुन तयार गरेको कागजातहरु, सो कार्यक्रममा सहभागिता जनाउन जाने जनक राई, कन्चन देवकोटा, दावा शेर्पाको प्लेन टिकेट र जापानबाट निजहरुलाई फर्काएको कागजातहरु हुन् भन्ने ब्यहोराको प्रतिबादी महेश पाण्डेको बयान ।

mahesh-1mahesh-2mahesh-3mahesh-4mahesh-5​​​​​​​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?