वरुणको नक्कली भ्याट प्रकरण : सञ्चालकहरूले स्वीकारेका थिए कर छली
काठमाडौँ । नेपालमा पेप्सी, माउन्टेन ड्यू, मिरिण्डा, सलाइस लगायतको आधिकारिक उत्पादक तथा विक्रेता वरुण वेभरेज (नेपाल) प्रालिका सञ्चालकहरूले नै कर छली गरेको भनी बयान दिएको पाइएको छ । उनीहरुले कर छली गरेको अनुसन्धान अधिकृतसमक्ष स्वीकार गरेका छन् ।
कम्पनीमा वित्तको जिम्मेवारी पाएका प्रविनकुमार अग्रवालले आफूभन्दा पहिले यो जिम्मेवारीमा अर्का सञ्चालक अमितकुमार गुप्ता रहेको र अनुसन्धान प्रक्रिया सुरु हुनुभन्दा पहिले नै उनको राजीनामा स्वीकृति भएको बताएका छन् । अग्रवालले आफूले वरुण वेभरेजको खरिद, वित्त, लेखा, कर तथा भण्डारण लगायत जिम्मेवारी निभाउँदै आएको बयान दिएका छन् । आफूले सम्हाल्नुअघि यो सम्पूर्ण जिम्मेवारी गुप्ताले गरेको र कारोबार नक्कली छ भन्ने थाहा पाएर पनि कम्पनी छाड्न नलगाएको बयानमा भनेका छन् । यसरी बरुणले नक्कली कारोबार गर्नेलाई संरक्षण गरेको सञ्चालक अग्रवालले बयानले पुष्टि हुन्छ । उनले भनेका छन्, ‘...यस्तो प्रकारको नक्कली विजकको कारोबारमा स्वयं तत्कालीन वित्त सञ्चालक व्यक्तिगत रूपमा संलग्न भएको हुनसक्ने ।’
अर्का सञ्चालक विनोदकुमार सिंहले पनि कर छली स्वीकार गरेका छन् । जसले वरुण वेभरेजको उत्पादन हेर्ने गर्छन् । उनले आफू प्रत्यक्ष रूपमा आयव्यय नहर्ने भएकाले वित्त हेर्ने प्रमुखले अनियमितता गरेको जानकारी आफूलाई नहुने बताएका छन् । सिंहले झुटा तथा नक्कली कर बिजकमा कम्पनी संलग्न नभएको बताए पनि वित्त प्रमुख संलग्न भएको बताएका छन् । उनको बयानमा भनिएको छ, ‘झुटा तथा नक्कली बिजकको कारोबारमा स्वयं तत्कालीन वित्त सञ्चालक अमित गुप्ता व्यक्तिगत रूपमा संलग्नता भएको हुनसक्ने, त्यसको जानकारी कम्पनीलाई नभए पनि कानुन बमोजिम कर राजस्वमा पर्ने दायित्व तिर्ने..।’ यसरी सञ्चालक सिंहले घुमाउरो शैलीमा कर छलेको र छलेको दायित्व बेहोर्न कम्पनी तयार भएको बताएका छन् ।
सञ्चालक अशोककुमारले पनि सिंहकै शैलीको बयान दिएका छन् । आफू लजिस्टिक विभागमा भएकाले आय, व्यय जानकारी नहुने र तत्कालीन वित्त प्रमुख अमित गुप्ताले नक्कली काम गरेको हुनसक्ने उनको बयान छ । अशोककुमारले यसबाट राज्यलाई पर्न गएको क्षतिको जिम्मेवारी वरुण बेभरेज लिन तयार रहेको बताएका छन् ।
बरुणका वरिष्ठ प्रबन्धक अरविन्द ठाकुरले तत्कालीन वित्त सञ्चालक अमितकुमार गुप्तालाई सबै जानकारी रहेको बताएका छन् । कर छलीका लागि विभिन्न कम्पनीबाट गुप्ताले सामान नलगे बिजक मात्रै लिएको ठाकुरको बयानमा समावेश छ । यसरी सामग्री विना बिल मात्रै लिएकोले त्यो कम्पनीको विक्री प्रवर्द्धन शीर्षकमा देखाइएको छ । तत्कालीन वित्त प्रमुख गुप्ताले खरिदबिक्रीको सम्पूर्ण हिसाब राखेकाले त्यतिबेला उनको कामलाई कम्पनीले विश्वास गरेको ठाकुरको बयानमा छ । उनको बयानमा ‘वित्त सञ्चालकको रूपमा कार्यरत अमित गुप्ता सम्पूर्ण वित्तीय कारोबारका लागि आधिकारिक व्यक्ति भएको हुँदा निजले गरेको त्यस्ता कारोबारहरू कम्पनीले सही नै मानेको अवस्था रहेको..’ उल्लेख छ ।
उच्च अदालतको फैसलामा राजस्व अनुसन्धान विभागले गरेको आदेश पनि समावेश छ । जसमा वरुण वेभरेज नेपालले राजस्व चुहावट ऐन, २०५२ को दफा ३ ले निषेधित ऐनको दफा ५ को क र ख बमोजिमको कसूर गरेको ठहर गरेको छ । वरुण वेभरेजको २०७०/७१ देखि २०७५/७६ सम्मको कारोबार विवरणबाट वास्तविक मालवस्तु खरिद नगरी नक्कली मूल्य अभिवृद्धि कर बिजकमा खरिद गरी राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ । राजस्व चुहावट गरेको पुष्टि भएपछि विभागले १ अर्ब ६० करोड रुपैयाँ जमानत लिई प्रतिवादीहरूलाई तारेखमा छोडेको थियो ।
यसरी सञ्चालकको बयान, राजस्व अनुसन्धानको निर्देशन, सरकारी वकिल कार्यालयको निर्णय लगायतका विषयमा उच्च अदालतले फैसला सुनाएको थियो । गत पुसमा नक्कली भ्याट बनाइ राजस्व छलेको ठहर्याउँदै पाटनस्थित उच्च अदालतले वरुण वेभरेजका सञ्चालकलाई कैदसहित जरिवाना गरेको थियो । भर्खरै यसको पूर्णपाठ सार्वजनिक भएको छ । कम्पनीले कुल २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ बिगो तिर्नुपर्ने फैसला गरिएको थियो । बिगो बाहेक थप ७ करोड रुपैयाँ तिर्नुपर्ने फैसला छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
-
गोरु पाल्ने किसानलाई प्रोत्साहन
-
सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण