मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मौन अवधिमा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने गरेको पाइएको छ । निर्वाचन आयोगले काठमाडौँका ६ जना उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेको भेटेपछि स्पष्टीकरण सोधेर छाडेको छ ।
आइतबार हुने उपनिर्वाचनका लागि बिहीबार मध्यरातबाट ‘मौन अवधि’ सुरु भएको छ ।
मतदानको ४८ घण्टाअघि चुनावी प्रचारप्रसारमा रोक लगाइने कानुनी व्यवस्थाअनुसार निर्वाचन आयोगले यस अवस्थामा उम्मेदवारहरूलाई आचारसंहिता विपरीतका गतिविधि गर्न मनाही गरेको छ । यस अवधिमा कुनै प्रकारको प्रचारप्रसार वा मतदातालाई प्रभावित पार्ने कार्य गर्न नमिल्ने भएपनि उम्मेदवार र पार्टीहरूले आचारसंहिताको बेवास्ता गर्दै आफ्ना गतिविधि गर्ने गरेका छन् ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ अनुसार मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापासहितका कुनै पनि माध्यमबाट चुनावी प्रचार गर्न पाइँदैन । दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत मागेको वा निर्वाचन प्रचार गरेको पाइए कानुनी कारबाही गर्ने निर्वाचन आयोगको भनाइ छ ।
दुई जिल्लाका जिसस प्रमुख सहित विभिन्न पालिकामा ४२ जना प्रतिनिधि छनोटका लागि उपनिर्वाचन हुँदैछ । रुकुम पूर्वको पुथा उत्तरगंगा–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् भने कैलाली र ओखलढुङ्गामा जिल्ला समन्वय समिति प्रमुख पनि निर्विरोध चयन भइसकेका छन् ।
- अनुगमन तीव्र
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।
काठमाडौँको हकमा नेपाल प्रहरीका एसएसपीसहित निर्वाचन आयोगका आयुक्तहरू र प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलियासमेत फिल्डमा खटिएका छन् ।
काठमाडौँ उपत्यका बाहिरको हकमा विशेष गरी नजिकको प्रहरी इकाईलाई मौन अवधिमा जिम्मेवार बनाइएको आयोगले जनाएको छ ।
‘त्यसबाहेक निर्वाचन अधिकृत,मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी,जिल्ला निर्वाचन कार्यालय र प्रमुख जिल्ला अधिकारी नेतृत्वको आचारसंहिता अनुगमन समितिलाई क्रियाशील गरिएको छ’, प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।
- दुई दिनभित्र नतिजा सार्वजनिक
स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्ने गरी आयोगले आफ्नो काम गरेको बताए ।
‘मतदान सम्पन्न भएको भोलिपल्ट नै अधिकांश स्थानको नतिजा आइसक्छ’, प्रमुख थपलियाले रातोपाटीसँग भने, ‘कुनै अवरोध भएन र स्मुथली काम गर्न दिने हो भने मतदान भएको दुई दिनभित्र नतिजा आइसक्छ ।’
कानुन अनुसार मतदान भइसकेर मतपेटिका जम्मा भइसकेपछि राजनीतिक दलको सहमति जुटाएर मात्र मतगणना सुरु गर्नुपर्ने अवस्था रहेको छ ।
- ६ जना उम्मेदवारलाई स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।
आयोग स्रोतका अनुसार गएराति आयोगको टोलीले गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएका उम्मेदवारहरू कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगर वडा नम्बर १६ का रहेका छन् ।
स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा कीर्तिपुरका राजमान महर्जन, मीनबहादुर मानन्धर,शिव शरण महर्जन, सम शाक्य र रोजिना श्रेष्ठ र पशुपति कठायत रहेका छन् ।
राजमान महर्जन कीर्तिपुर नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार हुन् भने शिव शरण महर्जन माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार हुन् ।
त्यसैगरी मीनबहादुर मानन्धर काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन् । पशुपति कठायत र सम शाक्य पनि कामपा १६ का स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै रोजिना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगर पालिका वडा नम्बर १६ का उम्मेदवार हुन् । आयोगको स्पष्टीकरणमा उनीहरूले आफूलाई थाहा नभएर आचारसंहिता उल्लङ्घन हुन पुगेको जवाफ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होम्स शहर पूर्ण कब्जामा रहेको सिरियाली विद्रोही समूहको दावी, दमास्कसमा भयको वातावरण
-
पश्चिमी न्यून चापीय प्रणालीले मौसम बदली, तापक्रम घटेर कठ्याङ्ग्रिने जाडो हुने
-
यस्तो छ आज विदेशी मुद्रा किनबेचका लागि तोकिएको दर
-
शेयर बजार र अन्य क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, कस्तो छ राशिफल हेर्नुहोस्
-
फर्ममा फर्कियो रियाल मड्रिड
-
‘नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई