१ सय ७५ किलोग्राम गाँजासहित दुई जना पक्राउ
बुधबार, १९ मङ्सिर २०८१, १६ : ४४

मकवानपुर । मकवानपुरमा करिब १ सय ७५ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । बुधबार हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाईन्टस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब १ सय ७५ किलोग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका–४ बस्ने २४ वर्षीय सुमन लामा र हेटौँडा उपमहानगरपालिका–११ कालिदमार बस्ने २४ वर्षीय सुशील भोलन रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र. ०३–००१ च १५८४ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा पिकअपको ढालामा खाली क्रेटले छोपी लुकाई छिपाई ल्याएको ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक सुमन र गाडीमा सवार सुशीललाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।