बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो– सरकारले कामको मूल्यांकन गरेन

बिहीबार, २० मङ्सिर २०८१, १५ : ५६
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । महिला स्वास्थ्य स्वयंसेविकाले सरकारले स्वास्थ्य स्वयंसेविकाहरूको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन् । बिहीबार ललितपुरमा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला स्वयंसेविकाहरूले यस्तो गुनासो गरेका हुन् । 

उनीहरुले महिला स्वयंसेविकाहरू जुनसुकै ठाउँमा हिँड्नलाई तयार रहेको भएपनि सरकारले कामको मूल्यांकन गर्न नसकेको गुनासो गरे ।  

आफूहरूको कामको बारेमा सरकारलाई पटकपटक ध्यानाकर्षण गराएपनि अहिलेसम्मका सरकारले चासो नदिएको महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले बताइन् । महिला स्वयंसेविकाहरूले गरेको कामको मूल्यांकन हुनुपर्ने उनले बताइन् । 

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले महिला स्वास्थ्य स्वयंसेविकाहरूको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने बताए । उनले महिला स्वयंसेविकाहरूलाई अपग्रेड गरेर प्रणालीमा ल्याउनसके आगामी दिनमा राम्रो हुने बताए । उनले कुन उमेरका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अपग्रेड गर्ने भन्नेबारेमा सरकारले छलफल गरिरहेको बताए । 

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले स्वास्थ्य स्वयंसेविकाले व्यक्तिलाई मात्रै नभई परिवार, समाज र देशलाई नै स्वस्थ बनाउने बताए । उनले सबैको मुख्य काम भनेको नागरिकको सेवा नै भएकाले सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताए । 

महानिर्देशक देवकोटाले संघीयतापछि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई संघ, प्रदेश र स्थानीय तह कतै न कतैबाट प्रोत्साहनका कार्यक्रमहरू गरिरहेको भएपनि समग्र रूपमा सबैलाई सबैको लागि गर्न बाँकी रहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप