मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

पार्टी एकताका लागि माओवादीले कुन–कुन दलसँग वार्ता गरिरहेको छ ?

आइतबार, २३ मङ्सिर २०८१, १४ : ४३
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वामपन्थी पार्टीसँग एकता वार्ता सकारात्मक भएको दाबी गरे । 

माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी निकट नेपाल शिक्षक समाजबिच एकता घोषणा समारोहलाई काठमाडौँमा सम्बोधन गर्ने क्रममा प्रचण्डले एकता वार्ता भएको दाबी गरेका हुन् । तर त्यो कार्यक्रममा कुन कुन वामपन्थी दलसँग वार्ता भएको खुलाएनन् । यद्यपि वाम एकताको विकल्प नभएकोमा उनले जोड दिएका थिए ।

‘विहानमात्रै एकताको सन्दर्भमा तीन वामपन्थी पार्टीका नेताहरूसँग बढो सकारात्मक संवाद भएको थियो । ती हिजो माओवादी धारासँग सम्बन्धित पनि हुनुहुन्थ्यो । त्योभन्दा बाहिरका समाजवादी धाराका साथीहरू पनि हुनुहुन्थ्यो । उहाँहरू सबैको एउटै कुरा थियो अब एकताबद्ध भएर जानुको विकल्प छैन’, उनले भनेका थिए, ‘नेपाली वामपन्थी आन्दोलन र सङ्घीय लोकतान्त्रिक आन्दोलनलाई ठिक ढङ्गले अगाडि बढाउन एकताको विकल्प छैन भन्ने कुरा सैद्धान्तिक सहमति भएको थियो । अहिले दुई शिक्षक संगठनबिच एकता घोषणा हुनु संयोगमात्र होइन मलाई लाग्दैन । यो अहिले देशको लोकतान्त्रिक आन्दोलनको आवश्यकता हो ।’

प्रचण्डले पछिल्लो समय प्रभु साह नेतृत्वको आम जनता पार्टी  र क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलासँग एकताका लागि संवाद गरिरहेका छन् ।  उनीहरूसँग प्रचण्ड निवास खुमलटारमा पटक पटक छलफल भएको छ । चर्चामा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समेत चर्चा रहेपनि यसबारे थप पुष्टि हुन सकेको छैन ।  ‘एकीकृत समाजवादीका नेताहरु आए नआएको थाहा भएन । धर्मेन्द्र बास्तोला र प्रभु साह आउनुभएको थियो । उहाँहरुबिच के कुरा भयो थाहा भएन’, स्रोतले भन्यो ।

हिजो बिहान प्रचण्ड निवासमा गएको बास्तोला र साहले स्वीकार गरेका छन् । तथापि पार्टी एकताभन्दा पनि शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा भइरहेका कामबारे छलफल गर्न गएको उनीहरूले दाबी गरेका छन् ।

‘समग्र वामपन्थी ध्रुवीकरणको विषयमा छलफल हुनु स्वाभाविक प्रक्रिया नै भइहाल्यो । प्रचण्डजीले भनेजस्तो एकताका लागि खुमलटार गएको होइन । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टिआरसी लगायत विषयमा छलफल गर्न गएको हो’, उनले भने ।

यसैबीच माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डले दाबी गरेका समाजवादी धारका दल एकीकृत समाजवादी पनि भएको बताए । राजनीतिक कार्यदिशा र सांगठनिक संरचनामा कुरा नमिल्दासम्म एकीकृत समाजवादीसँग एकता सम्भव नभएको उनको भनाइ छ । एकताका लागि मंसिर २७ गतेदेखि बस्ने स्थायी समिति बैठक र पुस २ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकले ठोस निर्णय गर्ने उनले जानकारी दिए ।

‘विप्लवजी र महिन्द्रजीको पार्टीसँग एकता गर्ने पहिले नै समझदारी भइसकेको छ । अध्यक्षले भन्नुभएको एकीकृत समाजवादी पार्टी हो । उहाँ(एस)का नेताहरूसँग निर्वाचनअघि नै धेरै चरणको वार्ता भएको थियो । राजनीतिक कार्यदिशा र सांगठनिक संरचनामा सहमति नभएसम्म तत्काल एकता सम्भव छैन’, पोखरेलले भने ।

यता माओवादीसँग पार्टी एकता गर्न लागिएको विषयमा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले कुनै सत्यता नभएको स्पष्ट पारे । निर्वाचनअघि पार्टी एकताका लागि दस्ताबेज आदानप्रदान भएपनि पछिल्लो समय कुनै प्रगति नभएको उनको भनाइ छ। अहिले एकताको विषयभन्दा पनि आन्तरिक रुपमा पार्टीलाई बलियो बनाउन ध्यान केन्द्रित भएको खतिवडाले दाबी गरे ।

‘अहिले माओवादी वा अन्य वामपन्थी पाटीसँग एकता गर्ने कुनै योजना छैन । एकताको विषयमा छलफल गर्न हाम्रा नेताहरु खुमलटार गएको मलाई जानकारी छैन । एकदेशमा एकताको कुरा चलेको हो वैचारिक, राजनीतिक रुपमा स्पष्ट नभएसम्म वामपन्थी धु्रवीकरण हुने कुनै सम्भावना छैन’, उनले भने ।

यसबाहेक लामो समयदेखि माओवादीले माओवादीले नेत्रविक्रम चन्द विप्लवको पार्टी नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादीसँग समेत छलफल गर्दै आएको छ  ।  एकताका सबै विषयमा पुसको पहिलो हप्ता बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने उपमहासचिव पोखरेलले बताए । माओवादीसँग एकता गर्न नेकपाले गएको वैशाखमा बसेको केन्द्रीय समिति बैठकबाट निर्णय गरिसकेको छ । नेसपा र माओवादीबिच गत चैत ३ गते नै प्रधानमन्त्री निवास बालुवाटारमा चार बुँदे सहमति भइसकेको छ । यी बाहेक नेकपा मसाल, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत दलहरूसँग छलफल भइरहेपनि कुनै निष्कर्षमा नपुगेको पोखरेलले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप