बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
महिला यू–१९ एसिया कप क्रिकेट

भारतसँग अङ्क बाँड्यो नेपालले

मङ्गलबार, ०२ पुस २०८१, १५ : ०४
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपाल र भारतले अङ्क बाँडेका छन् । खराब मौसमका कारण खेल प्रभावित बनेपछि दुई टोलीले अङ्क बाँडेका हुन् । 

नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य दिएको थियो । भारतले ३.१ ओभरमा बिना कुनै विकेटको क्षतिमा २८ रन बनाएको अवस्थामा हावाहुरीसँग वर्षा भएपछि खेल अनिर्णीत बनेको हो ।

यसअघि मलेसियामा जारी खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले २५ रनको योगदान गरिन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजाले ४० बलको सामना गरी तीन चौका पनि हिर्काइन् । उनी दुर्भाग्यपूर्ण तरिकाले रन आउट भई मैदानबाट बाहिरिएकी थिइन् । 

नेपाली टोलीले दुवै ओपनरलाई सस्तैमा गुमाएको थियो । ओपनर साना प्रविन ३३ बलमा नौ रन र सावित्री धामी चार बलमा तीन रन बनाउँदै पेभेलियन फर्किएका थिए । 

चौथो नम्बरमा क्रिज समाल्न आएकी सोनी पाख्रिन पनि आठ रनभन्दा अगाडि बढ्न सकिनन् । ज्योत्सनिका मरासिनी ६ रन र सिमाना केसी शून्य रनमै आउट भए । 

सातौँ नम्बरमा क्रिज समाल्न आएकी एलिसा यादबले टोलीको खातामा अविजित २० रन थपिन् । विकेटकिपर ब्याटर एलिसाले नौ बलको सामना गरी चार चौका पनि हिर्काइन् । 

अनु कडायत एक रनमै पभेलियन फर्किइन् । कुशुम गोदार पनि एक रनै आउट भइन् । रचना कुमारी चौधरीले अविजित तीन रन बनाइन् । 

नेपाली टोलीले अतिरिक्त रूपमा पनि १८ रन पायो । भारतीय टोलीकी बलर परुनिका सिसोदियाले चार विकेट लिइन् । अनन्दिता किशोर र मिथिला विनोदले पनि एक–एक विकेट हात पारे । 

नेपाली टोली यसअघि नै ‘सुपर–४’ चरण (सेमिफाइनल) मा प्रवेश गरिसकेको छ ।  नेपालले सोमबार खेलिएको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराएको थियो । 

प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादब, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप