टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह

टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा सिरियामा समावेशी प्रशासन स्थापनाको आवश्यकतामा जोड दिँदै सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्न सहजीकरण गर्न युरोपेली संघ (ईयु) लाई आग्रह गरेका छन् ।
सिरियामा आतंकवादी संगठनहरूको लागि कुनै ठाउँ नरहेको एर्दोगानले भ्रमणमा रहेका युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको संयुक्त पत्रकार सम्मेलनमा बताए । सिरियाली शरणार्थीहरूको एक महत्वपूर्ण भाग हाल टर्कीमा बसोवास गरिरहेको भन्दै एर्दोगानले सिरियाको पुनर्निर्माणका लागि छिमेकी, सहयोगी राष्ट्रहरू, ईयु र अन्तर्राष्ट्रिय संस्थाहरूको द्रुत र बलियो समर्थन आवश्यक रहेको बताए ।
युरोपेली संघले सिरियालीहरूलाई त्यहाँ शरण लिन मद्दत गर्न टर्कीलाई ६ बिलियन युरो विनियोजन गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार, लगभग ३ मिलियन दर्ता सिरियाली शरणार्थीहरू टर्किमा बस्छन् ।