मयान यादवको शतकसँगै मधेस प्रदेशले बागमती प्रदेशलाई दियो १६४ रनको लक्ष्य
काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले बागमती प्रदेशलाई जितका लागि एक सय ६४ रनको लक्ष्य दिएको छ ।
प्रतियोगिताको दोस्रो दिन सोमबार मधेस प्रदेशले नौ विकेट गुमाएर दुई सय ११ रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेपछि बागमती प्रदेशले उक्त लक्ष्य पाएको हो । जारी जय ट्रफीमा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक स्कोर पनि हो ।
दोस्रो पालीमा मधेस प्रदेशका लागि ओपनर ब्याट्सम्यान मयान यादवले शतक बनाए । उनले टोलीका लागि एक सय ६ रनको योगदान गरे । यस क्रममा उनले एक सय आठ बलमा दुई छक्का र १२ चौका पनि प्रहार गरे ।
मयान जारी जय ट्रफी पुरुष एलिट कपमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि बनेका छन् । मयानले एक सय दुई बलको सामना गरी दुई छक्का र १२ चौकाको मद्दतले शतक पुरा गरेका थिए । उनी सन्दीप लामिछानेको बलमा रित गौतमद्वारा क्याच हुँदै पेभेलियन फर्किएका थिए ।
मधेस प्रदेशका अर्का ओपनर हरिशंकर साह भने दोस्रो पालीमा केवल ११ रन बनाउँदै आउट भए । टोलीका कप्तानसमेत रहेका हरिशंकरले १२ बलमा दुई चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका निरज यादवले १७ बलमा तीन चौकाको मद्दतले १७ रन बटुले ।
साहिल पटेल शून्य रनमै पेभेलियन फर्किए भने विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् । विशाल पटेलले टोलीको खातामा १४ रन थपे । अभिषेक तिवारीले ४० बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रनको योगदान गरे । रुपेश सिंहले १८ बलमा एक छक्काको मद्दतले १४ रन बनाए । प्रदिप पासवान तीन रनमा अविजित रहे । भुलवन साहनी चार रन बनाउँदै आउट भए ।
बागमती प्रदेशका बलर सन्दीप लामिछानेले पाँच विकेट लिए । टोलीका कप्तानसमेत रहेका सन्दीपले १७ ओभरमा एक मेडन राख्दै ८८ रन खर्चिए । सूर्य तामाङले पनि दुई विकेट हात पारे । रिजन ढकाल र नन्दन यादवले एक–एक विकेट लिए । मधेस प्रदेशले अतिरिक्त रूपमा पनि १५ रन पायो ।
त्यसअघि, सोमबार नै बागमती प्रदेशले पहिलो पालीमा मधेस प्रदेशसँग ४८ रनको अग्रता लिएको थियो । जनकपुरमा जारी प्रतियोगिताको दोस्रो दिन बागमती प्रदेशको टोली आफ्नो पहिलो पालीमा एक सय ५० रन बनाउँदै अलआउट भएको थियो ।
बागमती प्रदेशले दुई विकेटको नोक्सानीमा ३४ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएको थियो । बागमती प्रदेशका लागि नन्दन यादवले सर्वाधिक ४७ रनको योगदान गरे । दशौँ नम्बरका ब्याट्सम्यान नन्दनले टोली अप्ठ्यारो स्थितिमा रहँदा जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ५५ बलमा एक छक्का र ६ चौका पनि हिर्काए ।
शुभ कंसाकारले पनि ३५ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका शुभले केवल ३३ बलमा आठ चौका हिर्काए । शुभले ३२ रन त बाउन्ड्री प्रहारबाट मात्र बटुलेका थिए । कप्तान सन्दीप लामिछानेले पनि टोलीको खातामा ३३ रन थपे । आठौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीपले केवल २२ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए ।
अन्तिम ब्याट्सम्यानका रूपमा क्रिज समाल्न आएका रिजन ढकालले पनि बागमती प्रदेशको खातामा अविजित १३ रन थपे । उनले २३ बलको सामना गरी एक छक्का र एकच चौका पनि हिर्काए । यसका अतिरिक्त बागमती प्रदेशका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर आशुतोष घिरैया खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अर्का ओपनर रित गौतम पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ईशान पाण्डे नौ रन बनाउँदै आउट भए । विकेटकिपर ब्याट्सम्यान उत्तम मगर पनि एक रनमै पेभेलियन फर्किए । रोशन विक, प्रतिश जीसी र सूर्य तामाङले त खातासम्म खोल्न सकेनन् ।
मधेस प्रदेशका बलर रुपेश सिंहले चार विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै ३२ रन खर्चिए । अभिषेक तिवारीले पनि चार विकेट हात पारे । उनले ६.५ ओभरमा एक मेडन राख्दै केवल २५ रन खर्चिए । विशाल पटेल र रञ्जित कुमारले पनि एक–एक विकेट लिए । बागमती प्रदेशले अतिरिक्त रूपमा पनि नौ रन पायो ।
त्यसअघि मधेस प्रदेशको टोली आफ्नो पहिलो पालीमा केवल एक सय दुई रन बनाउँदै अलआउट भएको थियो । मधेस प्रदेशको टोली ३५.३ ओभरमै अलआउट भएको हो । दुई दिवसीय प्रतियोगितामा मधेस प्रदेशले टस जिति पहिले ब्याटिङको निर्णय लिएको थियो ।
प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा मधेस प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । कप्तानसमेत रहेका ओपनर हरिशंकर साह चार रन बनाउँदै पेभेलियन फर्किए । उनले १८ बलमा एक चौका हिर्काए । अर्का ओपनर मयान यादवले टोलीको खातामा २१ रन थपे । उनले ३६ बलमा एक छक्का र एक चौका हिर्काए ।
तेस्रो नम्बरका ब्याट्सम्यान निरज यादब भने १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ३५ बलमा एक चौका प्रहार गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका साहिल पटेल ६ रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् ।
रुपेश सिंह पनि ६ रन बनाउँदै पेभेलियन फर्किए । सातौँ नम्बरमा क्रिज समाल्न आएका विशाल पटेलले टोलीको खातामा १६ रन थपे । उनले ३० बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काएका थिए ।
अभिषेक तिवारीले ११ रन बनाए । उनले ४० बलको सामना गरी दुई चौका पनि हिर्काए । प्रदिप पासवान दुई रन बनाउँदै आउट भए । रञ्जित कुमारले शून्य रनमै आउट भए । भुलावन साहनीले दुई रनमा अविजित रहे । मधेस प्रदेशले अतिरिक्त रूपमा पनि १२ रन पायो ।
बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । टोलीका कप्तानसमेत रहेका सन्दीपले १४ ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिए । सूर्य तामाङले तीन विकेट हात पारे । उनले २.३ ओभरमा केवल सात रन खर्चिए । नन्दन यादब र प्रतिस जीसी पनि एक–एक विकेट लिए ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।
जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा परेका छन् भने खेल रातो बलले खेलाइँदै छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेस प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026