स्कटल्यान्डसँग पनि हार्यो नेपाल, अगाडि बढ्ने सम्भावना कमजोर

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार भोगेको छ । नेपाली टोली सोमबार सम्पन्न आफ्नो दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको हो ।
हारसँगै नेपालको ‘सुपर–६’ चरण प्रवेशको सम्भावना पनि कमजोर बनेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले १८.५ ओभरमा अलआउट हुनुअघि ७३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्डले भने १८.४ ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
स्कटल्यान्डको जितमा पिपा स्प्रोलले ३५ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी विकेटकिपर ब्याटर पिपाले ४७ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । तल्लो क्रमकी ब्याटर ग्याब्रियला फोन्टेनलाले पनि अविजित १२ रन बनाइन् । उनले नौ बलमा एक चौका हिर्काइन् ।
स्कटल्यान्डका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । स्कटल्यान्डले अतिरिक्त रूपमा पनि ६ रन पायो । नेपालका बलर रचना चौधरी र सिमाना केसीले दुई–दुई विकेट लिए । कप्तान पूजा महतो र करिष्मा गुरुङले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालका लागि कप्तान पूजा महतोले २७ रनको योगदान गरेकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजाले ४३ बलको सामना गरी तीन चौका पनि हिर्काएकी थिइन् ।
ओपनर सावित्री धामीले पनि ११ बलमा एक चौकाको मद्दतले १० रन बनाइन् । अर्की ओपनर साना प्रविण भने एक रनमै पेभेलियन फर्किएकी थिइन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी ज्योत्सनिका मरासिनी पनि चार रनभन्दा अगाडि बढ्न सकिनन् ।
पाँचौँ नम्बरकी ब्याटर किरण कुँवर पनि चार रन बनाउँदै पेभेलियन फर्किइन् । करिष्मा गुरुङले टोलीको खातामा केवल दुई रन थपिन् । सिमान केसी पनि एक रन बनाउँदै आउट भइन् । विकेटकिपर ब्याटर एलिसा यादव पनि तीन रनभन्दा अगाडि बढ्न सकिनन् । अनु कडायतले अविजित पाँच रन जोडिन् । रचना चौधरी खाता खोल्नुअघि नै पेभेलियन फर्किइन् । रिया शर्मा दुई रन बनाउँदै आउट भइन् ।
नेपालले १७औँ ओभरमा लगातार तीन विकेट गुमाएको थियो । ती तीनवटै विकेट स्कटल्यान्डकी बलर माइसी मासिराले लिएकी थिइन् । उनले समग्रमा पाँच विकेट कुम्ल्याइन् । उनले ३.५ ओभरमा १५ रन खर्चिइन् । नायमा शेख र एमी बल्डीले पनि दुई–दुई विकेट हात पारे । क्रिस्टी म्याकोलले एक विकेट लिइन् । नेपालले अतिरिक्त रूपमा पनि १४ रन पायो ।
समूह ‘डी’ तालिकामा सबै टोलीले दुई–दुई खेल खेलिसक्दा अस्ट्रेलिया चार अंकसहित पहिलो, बंगलादेश दुई अंकसहित दोस्रो र स्कटल्यान्ड दुई अंकसहित तेस्रो स्थानमा आसिन छन् । चौथो स्थानमा रहेको नेपालले भने अंक जोड्न सकेको छैन ।
नेपाली टोली आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल बुधबार अस्ट्रेलियासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार