शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

बेरोजगारहरूलाई नक्कली अफिस स्पेस भाडामा दिन्छ यो कम्पनी

सोमबार, ०७ माघ २०८१, १७ : २३
सोमबार, ०७ माघ २०८१

बेइजिङ । जागिर गुमाउनु वा गुम्नु ठुलो कुरा होइन । बेरोजगारीलाई केही मानिसले हाँसेरै स्विकार्छन्, नयाँ जागिर खोज्न संघर्षरत रहन्छन् । तर केही मानिस आफ्नो बेरोजगारीप्रति लज्जित महसुस गर्छन् । आफू बेरोजगार भएको अरूले थाहा पाउँदा के भन्लान् भनेर हीनताबोध गर्नेहरू पनि छन् । त्यस्ता व्यक्तिका लागि हाम्रो छिमेकी देश चीनको एक फर्मले अनौठो समाधान निकालेको छ ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार चीनको हुबेई प्रान्तमा बेरोजगारहरूले एउटा अनौठो अवसर पाइरहेका छन् । त्यहाँको एउटा कम्पनीले जागिर गुमाएका व्यक्तिहरूका  लागि संसारको अगाडि रोजगारीमै भएजस्तो देखाइदिन धन्दा चलाइरहेको छ । यसको लागि बेरोजगारहरूले सो कम्पनीलाई निश्चित पैसा तिर्नुपर्छ । यसबाट कम्पनीले उनीहरूलाई आफ्नो इज्जत जोगाउने मौका दिन्छ ।

यहाँ आएर उनीहरू कार्यालयमा हुँदा जस्तै गरी बस्न अनि खाजा खान सक्छन् । तर यहाँ आएको तलब पाइँदैन । उल्टै दैनिक पैसा तिर्नु पर्छ । यसबापत कम्पनीले दैनिक ३० युआन (४ अमेरिकी डलर) लिन्छ । यति पैसा तिरे पछि व्यक्तिले कार्यालयको जस्तो अनुभूति लिन पाउनेछ । सामान्य कार्यालयमा जस्तै यहाँ पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बस्न पाइन्छ ।

हाकिमको कुर्सीमा बसेर फोटो खिचाउन चाहन्छ र आफ्ना साथीभाइ अनि परिवारलाई आफूले राम्रो काम गरिरहेको देखाउन चाहनेहरूले ५० युआन तिर्नुपर्नेछ । कम्पनीले उपलब्ध गराइरहेको यस सेवाको बारेमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । ‘यसरी देखाउनु आवश्यक छैन, यसले पलायनवादलाई बढवा दिन्छ, ’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का एक प्रयोगकर्ताले भने यसरी मानसिक तनावलाई अलिकति कम गर्न सकिने उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप