शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसदीय समिति

अनलाइन व्यापार नियमन गर्न कानुनी व्यवस्था गरिँदै

फेसबुक, इन्स्टाग्राम, टिकटकबाट हुने व्यापार पनि ई–कमर्समा अनिवार्य दर्ता गर्नुपर्ने
सोमबार, १४ माघ २०८१, १५ : ००
सोमबार, १४ माघ २०८१

काठमाडौँ । अनलाइनमार्फत हुने व्यापारलाई नियमन गर्न संसद्ले कानुन बनाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । अनलाइन व्यापारलाई नियमन गर्न बनेको विधेयक आइतबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट पारित भएको हो ।

सरकारले २०८० असारमा विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो । गत कार्तिकमा विधेयक थप छलफलका लागि समितिमा पुगेको थियो । समितिले यसलाई प्रभावकारी बनाउने उपसमिति बनाएर छलफल गरेको थियो । 

समिति सभापति अब्दुल खानले अब बस्ने प्रतिनिधि सभाको बैठकमा संशोधित प्रतिवेदनसहित विधेयक जाने र पारित हुने जानकारी गराए । उनले भने, ‘हामीले यसलाई थप प्रभावकारी बनाउन ९ सदस्यीय उपसमिति बनाएर छलफल गरेका थियौँ । अबको संसद्ले यसलाई कानुनी रूप दिनेछ । इन्टरनेटमार्फत हुने सबै खालका व्यापार कानुनी दायरामा आउनेछन् ।’ 

  • केके छन् व्यवस्था ? 

विधेयकका अनलाइनबाट व्यापार गर्न अनिवार्य रूपमा प्लेटफर्म दर्ता गर्नुपर्ने व्यवस्था राखिएको छ । विधेयकले व्यवसायीलाई दुई प्रकारले वर्गीकरण गरेको छ । अरूको सामान प्रवर्द्धन गरेर बेच्नेलाई मध्यस्थ व्यवसायी र आफ्नो सामान अनलाइनमार्फत आफैँले बेच्नेलाई सूचीमा आधारित व्यवसायीका रूपमा व्याख्या गरिएको छ । अहिले नेपालको सबैभन्दा चल्तीको र ठुलो अनलाइन प्ल्याटफर्म दराजले अरूको सामान बेच्ने गरेको छ । त्यस्तै सस्तो डिल, हाम्रो बजार, नेपवे, फूडमाण्डू, स्मार्ट डोको, ठुलो लगायतका प्ल्याटफर्मले पनि अरूको सामान बेच्ने गरेका छन् । 

विधेयकले मुख्यगरी यी मध्यस्थ अनलाइन प्ल्याटफर्मलाई नियमन गर्न खोजेको छ । ढुवानीको दायित्व पनि मध्यस्थ वा सूचीमा आधारित व्यवसायीको हुने उल्लेख गरिएको छ । ग्राहकले उत्पादक नचिन्ने र यी मध्यस्थको अनलाइनमा हेरेर सामान खरिद गर्ने हुँदा त्यसैमा बढी केन्द्रित भएको सभापति खानले बताए । उनले भने, ‘मध्यस्थकै माध्यमबाट ग्राहकले निर्णय लिने हुँदा कानुनी दायरा, दण्ड, जरिवाना बढी यसमै केन्द्रित छ । उत्पादकलाई पनि जिम्मेवारी बनाइएको छ नै ।’

विक्रेतासँग सम्झौता नगरी मध्यस्थकर्ताले सामान प्रदर्शन वा विक्रीमा राखेमा, वारेन्टी/ग्यारेन्टी सम्बन्धी सर्त पालना नगरेमा, प्रदर्शनमा राखिएको सट्टा अर्को सामान बिक्री गरेका जरिवानाको व्यवस्था गरिएको छ । यी प्रावधान पालना नभए बढीमा ३ वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राखिएको छ । 

त्यस्तै ग्राहकले सामान फिर्ता गर्न चाहेमा ग्राहककै रोजाइअनुसार सट्टापट्टा वा रकम नै उपलब्ध गराउनुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । यसअघि सामान फिर्ता गरिए पनि रकम उपलब्ध नगराउने र सोही रकम बराबरको अर्को सामान खरिद गर्नुपर्ने बाध्यता ग्राहकलाई थियो । यति गर्दा पनि ग्राहकले आफू ठगिएको महसुस भए उजुरी दिन सक्ने प्रावधान पनि राखिएको छ । ग्राहकले ठगिएको महसुस गरेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागसमक्ष उजुरी दिन सक्ने व्यवस्था विधेयकमा छ ।

सामाजिक सञ्जालमार्फत गरिने व्यापारलाई समेत यसले समेटेको छ । अहिले वेबसाइटजस्ता अनलाइन प्ल्याटफर्म नबनाएर फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता माध्यमबाट पनि अर्डर लिने र बिक्री गर्ने गरिएको छ । विधेयकले यस्ता व्यवसाय पनि अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर सामाजिक सञ्जालमा वस्तुको प्रदर्शन मात्रै गर्दा व्यापार नहुने भनिएको छ । विधेयकमा ‘वस्तु तथा सेवाका बारेमा जानकारी दिन वा प्रवर्द्धन गर्न विद्युतीय प्लेटफर्म प्रयोग गरेमा त्यसलाई विद्युतीय व्यापार मानिने छैन’ भन्ने वाक्यांश राखिएको छ । अर्थात् सामाजिक सञ्जालबाट हुने व्यापारलाई समेटे पनि विज्ञापनलाई व्यापार नमानिने व्यवस्था विधेयकमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप