पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार्यो नेपाल
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २० रनले हराएको हो ।
टस हारी ब्याटिङको पहिले निम्तो पाएको नेदरल्यान्ड्सले चार विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४५ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । अर्की ओपनर सम्झना खड्का भने नौ रनको व्यक्तिगत स्कोरमै पेभेलियन फर्किएकी थिइन् ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएकी पूजा महतोले पनि टोलीको खातामा २४ रन थपिन् । आक्रामक रुपमा प्रस्तुत भएकी पूजाले केवल १४ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काइन् । नेपालको पालीमा छक्का प्रहार गर्ने उनी पहिलो खेलाडी बनिन् ।
पाँचौँ नम्बरकी ब्याटर रुविना क्षेत्रीले पनि ११ रन बनाइन् । उनले ११ बलको सामना गरी एक चौका पनि हिर्काइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान इन्दू वर्मा भने सात रनभन्दा अगाडि बढ्न सकिनन् । उनले १० बलमा एक चौका प्रहार गरिन् ।
कविता कुँवर पनि आठ रन बनाउँदै पेभेलियन फर्किइन् । उनले सात बलमा दुई चौका हिर्काइन् । कविता जोशीले टोलीको खातामा २७ रन थपिन् । उनले केवल १७ बलमा दुई छक्का र एक चौका पनि प्रहार गरिन् ।
विन्दू रावल तीन र अलिसा यादव चार रनमा अविजित रहे । नेपाली टोलीले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो । नेदरल्यान्ड्सका बलर क्यारोलिन डे ल्याङ र एभा लिन्चले दुई–दुई विकेट लिए ।
त्यसअघि, नेदरल्यान्ड्सले दोस्रो बलमै विकेट गुमाएको थियो । पहिलो ओभरको दोस्रो बलमै नेपाली बलर कविता कुँवरले विकेट लिएकी थिइन् ।
उनले नेदरल्यान्ड्सकी ओपनर फेब मोलकेनबरलाई एलबीडब्लूको धरापमा पारिन् । फेबले खातासम्म खोल्न पाइनन् ।
त्यसलगत्तै नेदरल्यान्ड्सले कप्तान बाबेट डे लिडेलाई ६ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनलाई पूजा महतोले बोल्ड गरेकी थिइन् । त्यसपछि अर्की ओपनर स्ट्रिर कालिस र चौथो नम्बरकी ब्याटर रोविन रिजकेले टोलीको स्कोरलाई ५६ रनको स्थितिसम्म डोर्याएका थिए ।
२९ रनको व्यक्तिगत स्कोरमा ओपनर कालिस आउट भएपछि यी दुईबिचको साझेदारी टुटेको थियो । कालिसले ३५ बलको सामना गरी चार चौका पनि हिर्काइन् । उनलाई सीता राना मगरले बोल्ड गरेकी थिइन् ।
रिजकेले भने टोलीका लागि अर्धशतकीय पाली खेलिन् । उनले अविजित ५९ रनको योगदान गरिन् । उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै केवल ४८ बलमा आठ चौका पनि हिर्काइन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी हिथर सिगर्सले पनि टोलीको खातामा २३ रन थपिन् ।
सिगर्सले १९ बलको सामना गरी एक छक्का र एक चौका पनि हिकाइन् । उनी नेदरल्यान्ड्सका लागि छक्का प्रहार गर्ने एकमात्र ब्याटर पनि बनिन् । उनलाई नेपाली टोलीकी बलर इश्वरी बिष्टले रुविना क्षेत्रीमार्फत क्याच गराएकी थिइन् ।
आइरिस जिन रेजिन विलिङले पनि टोलीको खातामा अविजित ३१ रन थपिन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल १३ बलमा पाँच चौका पनि प्रहार गरिन् । नेदरल्यान्ड्सले अतिरिक्त रुपमा पनि नौ रन पायो ।
नेपाली टोलीका बलर कविता कुँवर, पूजा महतो, इश्वरी बिष्ट र सीता राना मगरले एक–एक विकेट लिए । जारी त्रिकोणात्मक शृंखलामा तेस्रो टोलीका रुपमा थाइल्यान्डको सहभागिता रहेको छ । नेपाली महिला टोलीले पहिलो पटक नेदरल्यान्ड्ससँग खेलेको हो ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुवँर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिसा कुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र इश्वरी बिष्ट रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण