झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
झापा । वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछा मासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वन क्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षक टोली परिचालन गरी आज उक्त अतिक्रमण हटाएर घनक्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए । वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यवसायीसँग केहीबेर विवाद भएको थियो । वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अडान राखेपछि स्थानीयले अस्थायी टहरा आफैँ हटाएका थिए ।
तीन पटक सार्वजनिक सूचना र पटक पटक छलफल गर्दासमेत अतिक्रमण नहटाइएपछि बाध्य भएर घनक्षेत्र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको राईले बताए । स्थानीय बासिन्दाले अस्थायी टहरा हटाएर बजार स्थानान्तरण गर्न १० दिनको समय मागेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।
स्थानीयले १० दिनभित्र आफैँ अस्थायी टहरा हटाएर लैजाने भन्दै नगरपालिकामा निवेदन दिएका थिए । ‘अर्को स्थानमा व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न समय लाग्छ, १० दिन म्याद दिनुहोस् भनेर वन डिभिजन र प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्यौँ’, नगरप्रमुख बुढाथोकीले भने, ‘तर वन डिभिजन कार्यालयले मानेन ।’
चारआली बजारको पश्चिममा रहेको सो स्थान प्रगति सामुदायिक वनअन्तर्गत रहेको छ । सालका रुख रहेको उक्त स्थान दुई दशकयता अतिक्रमणमा पर्दै आएको छ । अतिक्रमित स्थानका सालका रुख सुकेर उजाड बनेका छन् भने बजार क्षेत्रका बासिन्दाले सीमा मिचेर पक्की संरचना बनाएका छन् ।
वन डिभिजन कार्यालयका प्रमुख राईले पहिलो चरणमा अतिक्रमण गरी बनाइएका अस्थायी संरचना हटाइएको जानकारी दिँदै कसैले पक्की संरचना बनाएको रहेछ भने वन क्षेत्रको सीमा अध्ययन गरेर भावी दिनमा म्याद दिएर हटाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण