स्ववियु निर्वाचन बिथोल्ने मनसायले तालाबन्दी गरेको भन्दै त्रिविका ६ विद्यार्थी संगठनको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यकक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको विषयमा ६ विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।
शिक्षाध्यक्ष प्राडा खड्क केसी र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीको कार्यकक्षमा लगाएको तालाबन्दीप्रति आपत्ति जनाएका हुन् । पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले सोमबारदेखि ताला लगाएका हुन् । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा तालाबन्दी गरिएको भन्दै त्रिविका ६ विद्यार्थी संगठनहरूले आपत्ति जनाएका हुन् ।
त्रिवि अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्ट, अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष दिनेश ऐर, त्रिवि अनेरास्ववियू अध्यक्ष समिर गौतम, अखिल (छैटौँ) त्रिवि इन्चार्ज विवेक जिसी, अखिल (समाजवादी) त्रिवि संयोजक कविन्द्र सी र अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष विरेन्द्र नेपालीले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दीप्रति आपत्ति जनाएका हुन् ।
त्रिविमा प्रत्येक २÷२ वर्षमा स्ववियु निर्वाचन गराउनु त्रिभुवन विश्वविद्यालयको दायित्व र जिम्मेवारी रहेको उनीहरूको भनाइ छ । विद्यार्थीहरूको वैधानिक तथा साझा संस्था स्ववियुको निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरूबाट नै निर्वाचित भएका र विद्यार्थी कल्याण परिषद् सदस्य रहेका स्ववियुका केही सभापतिले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
स्ववियु निर्वाचनका गतिविधि बिथोल्ने उद्देश्य राखेर त्रिवि सभामा विद्यार्थीबाट प्रतिनिधित्व गरेका सदस्यहरूले स्ववियु निर्वाचन नगराउने मनसाय राखेर जारी गरेका वक्तव्य समेत उनीहरूले आपत्ति जनाएका छन् ।
विद्यार्थीहरूबाट चुनिएका प्रतिनिधि नै यस किसिमको क्रियाकलापमा उत्रनु, विद्यमान स्ववियुको पदावधि थप्ने र समयमै स्ववियु निर्वाचन नगराउने मनसाय राखेर अनेक षडयन्त्रपूर्वक स्ववियु संस्थालाई प्रतिनिधि विहीन बनाउन लागेको उनीहरूको आरोप छ ।
त्रिविले स्ववियु निर्वाचनको मिति सार्वजनिक गरिसकेको र स्ववियु निर्वाचन सम्बन्धी कार्यविधि, २०८९ जारी भइसकेको अवस्थामा विश्वविद्यालयले तोकिएकै समयमै स्ववियु निर्वाचन सम्पन्न गराउनु विश्वविद्यालयको प्रमुख दायित्व हुने विज्ञप्तिमा भनिएको छ । यसका लागि विश्वविद्यालयका पदाधिकारीसहित सबै जिम्मेवार निकायहरूको समेत ध्यानाकर्षण गराएका हुन् ।
स्ववियु निर्वाचन समयमै गराउनु सबै विद्यार्थी संघसंगठनको पनि जिम्मेवारी भएकाले यसलाई साझा दायित्व ठानेर स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूलाई आह्वान समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण