बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अभिनेता सुशील भन्छन्– ‘एक्सन गर्दाको चोट, अझै ठिक भएको छैन’

बुधबार, २१ फागुन २०८१, १६ : ४५
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । ‘देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक व्यक्तिले कानुन हातमा लिएर न्याय दिन थाल्छ । त्यो नै आउट ल हो’, अभिनेता सुशील श्रेष्ठले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आउट लः दफा २१९’  को कथा बुझाए । नेपाली फिल्मका लागि ‘आउट ल’ नाम नयाँ हो ।

यस्तो नामबाट यसअघि फिल्म बनेकै छैन । फिल्मले कानुनको कुरा उठाएकोले पनि यस्तो नाम राखिए उनको भनाई छ । फिल्म यही फागुन २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको विभिन्न विषयवस्तुबारे जानकारी दियो । जसमा अभिनेता सुशीलले फिल्म मनोरञ्जनका लागि मात्र नभएर समाजमा सकारात्मक प्रभाव निर्माण भएको बताए ।

के सुशीलले फिल्ममा निर्वाह गरेको भूमिका नकारात्मक हो ? कार्यक्रममा उनी माथि प्रश्न थियो । उनले जवाफ फर्काए, ‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन । उसलाई परिस्थिति र समयले नेगेटिभ बनाउने हो । यो फिल्ममा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ’ उनले थपे ,‘परिस्थितिले मानिसलाई कसरी कानुनभन्दा बाहिर जाने अवस्था बनाउँछ । त्यो कथा फिल्मले उठाएको छ ।’ 

फिल्मको टिजर, टेेलर सार्वजनिक भएदेखि अभिनेता श्रेष्ठको एक्सनको प्रशंसा भइरहेको छ । तर एक्सन गर्न सहज नभएको उनी बताउँछन् । ‘एक्सन गर्न निकै नै गाह्रो रहेछ । म छायाङ्कनको क्रममा निकै नै थकित हुन्थेँ । कट भन्ने बित्तिकै निन्द्रा लाग्थ्यो’, उनले अगाडि भने, ‘फिल्मको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन ।’

फिल्ममा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ । यो दृश्यको बारेमा सुशीलले भने– ‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाइहरूले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ । त्यो दृश्य हेर्दा जति सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ । तर, नयाँ अनुभव थियो रमाइलो भयो । दर्शकहरूलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ जस्तो लाग्छ ।’

‘होस्टल रिर्टन’ बाट अभिनयमा देखिएका सुशील त्यसपछि ‘सायद २’, ‘कारखाना’ र ‘लभ डायरिज’ ले जति फिल्म अभिनय गरे । सबै फ्लप भयो । यो के होला ? उनले जवाफ दिए, ‘फिल्मको चर्चा हेर्दा अहिले सफल भैसकेको छ । लगानी उठाउन मात्र बाँकी हो ।’ 

विक्की महर्जनको निर्देशन रहेको फिल्म अमित अग्रहरिले बनाएका हुन् । फिल्ममा उनको अलवा नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप