शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

पहिलो दिन तीन खेल, पहिले ब्याटिङ गर्ने कुनै टोली टिक्न सकेनन् पुरै ओभर

आइतबार, २५ फागुन २०८१, १३ : ५८
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन आइतबार लुम्बिनी प्रदेशका विभिन्न तीनवटा रंगशालामा खेल भइरहेका छन् । पहिलो ब्याटिङ गर्ने कुनै पनि टोलीले पुरै ५० ओभर ब्याटिङ गर्न सकेनन् । 

सिद्धार्थनगर रंगशालामा जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले कोशी प्रदेशविरुद्ध ४८ ओभरमा अलआउट हुनुअघि दुई सय आठ रन बनायो । लुम्बिनी प्रदेशका लागि आकाश त्रिपाठीले सर्वाधिक ६६ रन बनाए । 

तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ९० बलमा एक छक्का र सात चौका प्रहार गरे । ओपनर मृनाल गुरुङले पनि टोलीको खातामा ४३ रन थपे । उनले ६१ बलमा पाँच चौका प्रहार गरे । नर सार्कीले टोलीको खातामा ४५ रन थपे । तल्लो क्रमका ब्याट्सम्यान नरले केवल ३२ बलमा एक छक्का र ६ चौका प्रहार गरे । यसदेखि वाहेक ओपनर मनिष थापा (१६ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

कोशी प्रदेशका बलर दीपेश कँडेल र प्रकाश कार्कीले तीन–तीन विकेट लिए । फिरदोष अन्सारीले पनि दुई विकेट हात पारे । यसैगरी, भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी बागमती प्रदेशविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ४४ ओभरमै अलआउट हुनुअघि एक सय ७४ रन बनायो ।

एपीएफ क्लबका लागि सन्दीप जोराले सर्वाधिक ३७ रनको योगदान गरे । अमर रौतेलाले अविजित २६ रन बटुले । दीपक बोहराले पनि २५ रन जोडे । कमल ऐरीले टोलीको खातामा १५ रन थपे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  एपीएफ क्लबले आफ्ना कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा बढी रन त अतिरिक्त रुपमा पाएको थियो । बागमती प्रदेशका बलरहरुको गल्तिको फाइदा उठाउँदै एपीएफ क्लबले अतिरिक्त रुपमा ५० रन पाएको थियो । 

बागमती प्रदेशका बलर रिजन ढकाल एक्लैले पाँच विकेट लिए । उनले आठ ओभरमा दुई मेडन राख्दै केवल ३० रन खर्चिएका थिए । नन्दन यादवले पनि तीन विकेट हात पारे । उनले आठ ओभरमा ३८ रन खर्चिए । सूर्य तामाङले पनि दुई विकेट कुम्ल्याए । 

यसैगरी, दाङको लमहीमा जारी सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेश पनि ४०.४ ओभरमा केवल एक सय ५५ रन बनाउँदै अलआउट भयो । कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले उत्कृष्ट अर्धशतकीय पाली खेले ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुनले ७१ रन बनाए । उनले ९४ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । दिनेश अधिकारीले १७ रन जोडे । कप्तान दिवान पुनले १२ रन बनाएका थिए । 

कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहारो अंकमा रन बनाउन सकेनन् । माथिल्लो क्रमका पाँच ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा २५ रन पाएको थियो । 

सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामी एक्लैले चार विकेट लिए । उनले नो ओभरमा केवल २६ रन खर्चिएका थिए । नारायण जोशीले पनि दुई विकेट हात पारे । उनले ६.४ ओभरमा ३५ रन खर्चिए । शेर मल्ल, मिलन बोहरा र भोजराज भट्टले पनि एक–एक विकेट कुम्ल्याए । कर्णाली र सुदूरपश्चिमबिचको खेल ४३–४३ ओभरमा झारिएको छ । अन्य दुई खेल भने ५०–५० ओभरमै खेलाइँदैछ ।

प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगिता लुम्बिनी प्रदेशको सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । 

क्यानका अनुसार, प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुँदैछ । प्रतियोगिताको दोस्रो दिन २६ गते सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप