तीन ब्याट्सम्यानको अर्धशतक र रुपेशको पाँच विकेटपछि मधेससामु निरीह बन्यो छिमेकी कोशी प्रदेश

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुखद सुरुवात गरेको छ । मधेस प्रदेशले मंगलबार सिद्धार्थ रंगशालामा खेलिएको आफ्नो पहिलो खेलमा छिमेकी प्रतिद्वन्द्वी कोशी प्रदेशलाई एक सय ६५ रनको विशाल अन्तरले पराजित गर्यो ।
कोशी प्रदेशको यो लगातार दोस्रो हार हो । कोशी प्रदेश यसअघि आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशसँग २६ रनले हारेको थियो । दुई खेल खेलेको कोशी प्रदेश अंक तालिकामा सबैभन्दा तल (१०औँ स्थानमा) छ । एक खेल खेलेको मधेस प्रदेश दुई अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ८४ रन बनाएको थियो । जारी प्रतियोगितामा हालसम्म खेलिएको खेलमा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन पनि हो ।
जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने ३३ ओभरमै अलआउट हुनुअघि एक सय १९ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको मधेस प्रदेशका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए ।
पवन सर्राफले टोलीका लागि ९२ रनको योगदान गरे । केवल आठ रनका कारण शतक पुरा गर्नबाट चुकेका पवनले केवल ८५ बलको सामना गरी दुई छक्का र ११ वटा चौका हिर्काए । उनी पाँचौँ नम्बरमा क्रिज समाल्न आएका थिए ।
त्यसअघि, ओपनर ब्याट्सम्यान अनिल साहले पनि टोलीका लागि ७५ रनको योगदान गरे । टोलीको कप्तानसमेत रहेका अनिलले ७५ बलको सामना गरी १० वटा चौका हिर्काएका थिए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेश दासले पनि टोलीको खातामा अविजित ५६ रन थपे ।
दीपेशले ६० बलको सामना गरी एक छक्का र सात चौका प्रहार गरे । हरिशंकर साहले पनि टोलीका लागि २९ रनको योगदान गरे । ओपनर मयान यादव र रुपेश सिंह भने १०–१० रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
कोशी प्रदेशका बलर विपिन महतो र प्रकाश कार्कीले दुई–दुई विकेट लिए । फिर्दोष अन्सारी र दीपेश कँडेलले पनि एक–एक विकेट हात पारे । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशका ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।
दुबै ओपनर चिराग साह र कप्तान अंकित सुवेदी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । सकिब हकले २५ रन बनाए । सुजन थपलियाले २४ रन बटुले । फिर्दोष अन्सारीले टोलीको खातामा २१ रन थपे । दीपेश कँडेल पनि २० रन बनाउँदै पेभेलियन फर्किए ।
कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । मेधश प्रदेशका बलर रुपेश सिंह एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा केवल २९ रन खर्चिए । राजेश यादवले पनि तीन विकेट हात पारे । हरिशंकर साह र प्रदिप पासवानले पनि एक–एक विकेट कुम्ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कस्तो फल ?
-
किन आवश्यक छ सामाजिक सुरक्षा कोष ?