ज्योति जङ्गलका तीन कविता
१) राधारूप
अर्को प्राण थपिएर एउटा प्राणमा
फूल भएको हृदय बोकेकी
अर्को आवाज भरिएर आफ्ना आवाजमा
प्रीत छरेर बोलिरहेकी ।
तिमीले धरतीभरि, या
कहीँकतै बतासको सुगन्धभरि भेटिहाल्यौ भने
यस्ती प्रेमिका स्त्री
त्यो अरु कोही होइन
कि राधा भेटिएकी हुन्
या म नै भेटिएकी हुँ ।
एउटा प्रश्न मलाई सोधिरहन्छ स्वयं
कृष्ण आफ्नै शरीरको भयले भागेका हुन् कि राधासँग ?
शक्तिको सर्वोच्व भएर पनि
डराएका पो हुन् कि
शरीर सकिएपछि सकिने मायासँग ?!
भोगका लागि सहादत हुने
स्याहारका लागि स्वामित्व रहने
लीलामय प्रेमको पटाक्षेपदेखि
खुब आत्तिएर भागे हुनन् कृष्ण मथुरातिर ?
जीवनको प्रेम अध्यायमा
अबला छ पुरुषत्व भन्नु थियो कि उनलाई ?
प्रेमी कसरी पुरुषोत्तम हुने चाह राख्छ
देखाउनु पो थियो कि उनलाई ?
नत्र त हजारौँ गोपिनीसत्त्व साथी बनाएर सुरक्षाको नाममा
शक्तिलाई झुकाउन सक्नेले
कसरी पो हत्याए रुक्मिणीलाई ?
तर स्वामित्वको सत्ताबाट
बचाए राधाप्रेम युगान्तकारी आयु दिएर ।
कसैको आँसु स्याहार्न पनि
मुटु आकाश हुनुपर्छ
कसैको प्रेम सकार्न पनि
उसको सर्वस्व स्विकार्नुपर्छ ।
बडो मुस्किल हुन्छ मायाले निदाइरहेकी राधालाई ब्युँझाउन,
बडो आत्मिक हुन्छ
माया न्यौछावर गरिरहेकी प्रेमिकाबाट पार पाउन,
अनि त उत्रिए कृष्ण
आउने अगणित युगलाई राधाको प्रेम उपहार दिएर ।
अर्को अनुहार बाँचेर स्वयंको अनुहारमा
अर्को मुस्कान थपेर आफ्नै ओठमा
कोही भेट्यौ भने मुस्कुराइरहेकी,
त्यो अरु कोही होइन,
कि राधा भेटिएकी हुन्
या म नै भेटिएकी हुँ ।
२) धन्यवाद !
तिमीलाई दिनुपर्ने ओक धन्यवादहरू छन् ।
यसरी माथि सत्तामा बसेर
मेरो चुल्ठो नतानिदिएको भए,
जीवनको गोरेटोलाई यति धेरै घुमाउरो
असुरक्षित र भयाभव नबनाइदिएको भए,
यात्रामा,
प्रत्येक पाइला सङ्घर्ष गरेर
मेरो अस्तित्व घिसार्नुनपरेको भए
यति बलवान् हुने थिइनँ म
हिँड्ने कुनै बाटो बन्ने थिएन ।
एक धन्यवाद यसरी सम्झन्छु जन्मको,
कुनै भ्रूण परीक्षणमा नपरी
म सग्लो जन्मिन पाएँछु,
एक धन्यवाद यसरी सम्झन्छु कर्मको
कसो–कसो कुनै बलवान् नङ्ग्राहरूले
नचिथोरी, म दागहीन हुर्किएँछु ।
माटो बेरिएर दरिएका यी हल्केलाले
पृथ्वीबाट जिवन्त भरोसा पाए,
पसिनाले भिजेको पितृ चेहरा
सत्यले सिँचेको मातृवात्सल्य
मेरा आँखामा ज्योति भएर भरिए
मसँग यी ज्योतिका लागि दिने
कुनै धन्यवाद प्राप्य छैन ।
नत्र त,
बचेकुचेका संस्कारका सिस्नुभित्र
आँसुको पानीमा रुझेर
मैले काम्दै–काम्दै जोगिएर
कसरी पो सत्त्व लिई यहाँसम्म आएँ ?
चुपचाप चुपचाप बोल्न नपाएर
च्यापुमै टाँसिएको मेरो जिब्रो उक्काएर
शब्दहरूले बोली भरेँ ।
अब बुलन्द भएको छु ।
एउटा गारेटो कोरिएको छु
एउटा स्थिरता चुलिएको छु
नडराई हिँडुन् आउने पुस्ता,
र डराउन् डराउनु पर्नेहरू भनेर
एउटा खबरदारी उभिएको छुु
धन्यवाद दिन सक्ने भएको छ साहस ।
तिमीलाई थाहा भएका कारण,
तिमीलाई थाहै नभएका कारण,
अनि, अनेक अनाम कारणका प्रति
धन्य भएर दिइरहेछु अनन्त धन्यवाद
प्रतिरोध भएर दिइरहेछु अदबमा धन्यवाद
तिमीलाई धन्यवाद ।
३) अब कोसँग रिसाउनु ?
नरिसाउनू कसैसँग
आफूसँग त झन् कहिल्यै नरिसाउनु ।
यसै भनेर रिसाइनँ देशसँग,
देशभित्र चलिरहेकोे मेरो भग्न जिन्दगीसँग
पासपोर्टको दाम्लोले बाँधेर
दास अवतारमा
छोराछोरी मुङ्लान खेद्ने
सरकारसँग पनि रिसाइनँ ।
पसिना चढाएँ तर यो माटो अझै सुक्खा हुँदै गयो
बाँझा भए खेत खलियान
मौनता चढाएँ तर छाती चित्कारले भरिइरह्यो
उमेर चढाएँ र वृद्धतामा झन्–झन् असुरक्षित हुँदै गएँ ।
बल्ल पो थाहा पाएँ
देशवालाहरू त
देशवासीको तस्करी गर्न वर्षौं वर्षदेखि व्यस्त रहेछन्,
अब देशसँग कसरी आँखा जदाउनु ?
अब कोसँग रिसाउनु ?
सुकिसकेको पसिना कसरी उबाउनु ?
बितिसकेको जिन्दगीसँग कसरी रिसाउनु ?
पर्खेर सकिएको समय कसरी फर्काउनु ?
अब पछुताएर
के म आफैँसँग रिसाउनु ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण