बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

बसिर अहमदको उत्कृष्ट अर्धशतकसँगै आर्मी क्लबको सातौँ जित, लुम्बिनी प्रदेशलाई १३१ रनले हरायो

आइतबार, १० चैत २०८१, १४ : ४९
आइतबार, १० चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौँ जित हात पारेको छ । आर्मी क्लबले आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालामा खेलिएको खेलमा लुम्बिनी प्रदेशलाई एक सय ३१ रनको फराकिलो अन्तरले हराएको हो । 

जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको आर्मी क्लबले सात जित र एक हारको नतिजा निकालेको छ । आठ खेल खेलेको लुम्बिनी प्रदेशको भने यो चौथो हार हो । लुम्बिनी प्रदेश आफूले खेलेको चार खेलमा भने विजयी भएको छ । 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले २७.१ ओभरमै अलआउट हुनुअघि एक सय १२ रनमात्र बनाउन सक्यो । 

आर्मी क्लबको जितमा बसिर अहमदले ८६ रनको योगदान गरे ।  चौथो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय चार बलको सामना गरी ६ चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि टोलीको खातामा ४४ रन थपे । उनले ५३ बलमा एक छक्का र एक चौका हिर्काए ।

आर्मी क्लबले ४४ रनको कुल स्कोरमा तीन विकेट गुमाएको थियो । त्यसपछि बसिर अहमद र भीम सार्कीले टोलीको स्कोरलाई एक सय २५ रनको स्थितिसम्म पुर्‍याएका थिए । ओपनर ब्याट्सम्यान तृतराज दासले पनि ३१ रन बनाए ।

तृतराजले ३९ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । अर्का ओपनर सन्तोष कार्की भने एक रनमै पेभेलियन फर्किए । सोमपाल कामीले २५ बलमा चार चौकाको मद्दतले २८ रन बटुले । कुशल मल्लले पनि १७ रन जोडे ।

लुम्बिनी प्रदेशका बलर अजय चौहानले चार विकेट लिए । उनले १० ओभरमा ४७ रन खर्चिए । लुम्बिनी प्रदेशले सात बलर प्रयोग गरेकोमा सबैले विकेट लिए । कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रसन केसी, नर सार्की र देव खनालले पनि एक–एक विकेट हात पारे । 

जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि कप्तान देब खनालले ३७ रन बनाए । ओपनर देबले ४६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । 

मनिष थापाले १३, बिप्रसन केसीले १३, नर सार्कीले १२ र निर्मल गुरुङले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा पनि १२ रन पायो । 

आर्मी क्लबका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले ९.१ ओभरमा दुई मेडन राख्दै २५ रन खर्चिए । नरेश साउदले दुई तथा सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले एक–एक विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप