शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फ्रिजको कम्प्रेसर किन विस्फोट हुन्छ, कसरी राख्ने सुरक्षित ?

मङ्गलबार, १२ चैत २०८१, १२ : ३९
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । हालै भारतको राजस्थानस्थित सिरोही जिल्लामा रेफ्रिजरेटर विस्फोटका कारण एक युवकको मृत्यु भयो । युवकले फ्रिजबाट सामान निकाल्दै गर्दा अचानक ठुलो आवाजका साथ कम्प्रेसर विस्फोट भएको थियो ।

गर्मी मौसममा तापक्रम बढेर यस्ता घटना हुने गर्दछन् । त्यसैले यो मौसममा रेफ्रिजरेटर प्रयोग गर्दा केही अतिरिक्त सावधानी अपनाउनु पर्छ ।

गर्मीमा फ्रिज प्रयोग गर्दा के–कस्ता सावधानी अपनाउनुपर्छ भन्नेबारे यहाँ चर्चा गरिएको छ ।

  • फ्रिजमा कसरी हुन्छ विस्फोट ?

भारतको अहमदावादका पावर इलेक्ट्रोनिक्स इन्जिनियर शशिकान्त उपाध्याय रेफ्रिजरेटरमा रहेको कम्प्रेसर विस्फोट हुन सक्ने बताउँछन् । सिङ्गो रेफ्रिजरेटर नभएर त्यसको एउटा हिस्साका रूपमा रहेको कम्प्रेसर विस्फोट हुन सक्ने उनको भनाइ छ ।

उपाध्यायका अनुसार गर्मीमा रेफ्रिजरेटर विस्फोटका घटना बढ्नुको मुख्य कारण कम्प्रेसर अत्यधिक तातो हुनु हो । बिजुली आपूर्ति अत्यधिक भएमा कम्प्रेसरमा दबाब बढ्ने र त्यसले कम्प्रेसर तात्ने उनको भनाइ छ । यसले गर्दा कम्प्रेसरमा विस्फोट हुन सक्ने उनले बताए ।

कम्प्रेसर धेरै तात्ने, ग्यास चुहावट हुने, पावर सप्लाइ, प्लग तथा विद्युतीय तारमा खराबी, फ्यान मोटर वा कम्प्रेसर फ्यानमा खराबी, लामो समयसम्म फ्रिज अन राख्नुजस्ता कारणले विस्फोट हुन सक्ने उनले प्रस्ट पारे ।

  • कुन परिस्थितिमा रेफ्रिजरेटरको कम्प्रेसर फुट्न सक्छ ?

कम्प्रेसर रेफ्रिजरेटरको पछाडिको भागमा हुन्छ । यसमा पम्प र मोटर जडान भएको हुन्छ । यो मोटरले पम्प मार्फत रेफ्रिजरेन्ट ग्यासलाई क्वाइलहरूमा पठाउँछ, जसले रेफ्रिजरेन्टलाई चिसो राख्छ ।

जब रेफ्रिजरेटर धेरै घण्टा वा दिनसम्म लगातार चल्छ, कम्प्रेसरमा दबाब बढ्छ र यो तात्छ । यसले गर्दा क्वाइल्स खुम्चिन्छन् । यस्तो अवस्थामा रेफ्रिजरेन्ट ग्यासमा अवरोध भएर विस्फोट हुन सक्छ । रेफ्रिजरेटरको कम्प्रेसर धेरै तातो हुनुका अन्य धेरै कारण छन् ।

जस्तै– रेफ्रिजरेन्ट ग्यास कम हुनु, कन्डेन्सर फोहोर हुनु, फ्रिजमा ओभरलोड हुनु, लामो समयसम्म चलाइरहनु, भेन्टिलेसनको अभाव, भोल्टेजको उतारचढाव, कन्डेन्सर क्वाइल खुकुलो हुनु लगायत हुन् ।

  • रेफ्रिजरेटर कम्प्रेसरले धेरै आवाज निकाल्नुको अर्थ के हो ?

यदि रेफ्रिजरेटरको कम्प्रेसरबाट धेरै आवाज आइरहेको छ भने या त कम्प्रेसर बिग्रिएको छ वा अन्य कुनै समस्या छ भनेर बुझ्नुपर्छ । कहिलेकाहीँ कम्प्रेसर मोटरमा केही गडबडीका कारण आवाज उत्पन्न हुन्छ । अत्यधिक तातो हुने कारणले कम्प्रेसरमा अतिरिक्त दबाब पर्दा पनि आवाज आउन सक्छ ।

फ्रिजमा रेफ्रिजरेन्ट ग्यास कम हुने वा चाप कम हुनाले पनि बढी आवाज आउन सक्छ । कहिलेकाहीँ कम्प्रेसर वरपरका भाग खुकुलो हुन्छन् । यसले कम्पन र आवाज निस्कन सक्छ ।

समग्रमा कम्प्रेसरबाट धेरै आवाज आइरहेको छ भने यसलाई बेवास्ता गर्नु हुँदैन । सम्भावित ठुलो समस्याबाट बच्न तुरुन्तै प्राविधिकलाई सम्पर्क गर्नुहोस् ।

  • गर्मीमा रेफ्रिजरेटरको तापक्रम कति राख्नुपर्छ ?

गर्मीमा रेफ्रिजरेटरको सही तापक्रम सेट गर्नु धेरै महत्त्वपूर्ण हुन्छ, जसले गर्दा कम्प्रेसरमा अतिरिक्त दबाब नपरोस् र विस्फोटको जोखिम कम होस् । गर्मीमा रेफ्रिजरेटरको तापक्रम ३ डिग्रीदेखि ५ डिग्री सेल्सियस बिचमा राख्नु राम्रो हुन्छ । फ्रिजरको तापक्रम –१८ डिग्री सेल्सियस वा सोभन्दा कम राख्नुहोस् । सही तापक्रम कायम राख्नाले खाद्य पदार्थहरूको उपभोग्य समयमात्र बढ्दैन, कम्प्रेसर र रेफ्रिजरेन्ट प्रणालीको दक्षतामा पनि सुधार हुन्छ ।

  • गर्मीमा चौबिसै घण्टा फ्रिज चलाउन हुन्छ ?

पावर इलेक्ट्रोनिक्स इन्जिनियर शशिकान्त उपाध्यायका अनुसार गर्मीमा फ्रिज चौबिसै घण्टा चलाउनु सामान्यतया सुरक्षित हुन्छ तर यसको तापक्रम धेरै कम हुनु हुँदैन । साथै बिजुलीको भोल्टेजमा एकरूपता कायम राख्नु पनि महत्त्वपूर्ण छ । यसबाहेक, फ्रिजलाई पर्याप्त भेन्टिलेसन भएको ठाउँमा राख्नुहोस् । दिनमा एक वा दुई पटक १०–१५ मिनेटका लागि फ्रिज बन्द गर्नु राम्रो हुन्छ ।

  • फ्रिजमा फ्यूज प्रणाली किन आवश्यक छ ?

गर्मी मौसममा भोल्टेज प्रायः उतारचढाव हुन्छ । यसले कम्प्रेसरमा विस्फोटको जोखिम निम्त्याउन सक्छ । यस्तो अवस्थामा फ्यूज प्रणालीले सुरक्षा प्रदान गर्दछ । यदि तारमा सर्ट सर्किट भयो भने फ्यूजले तुरुन्तै बिजुली आपूर्ति काट्छ । यसले फ्रिजमा आगो लाग्ने जोखिमलाई रोक्छ ।

यसबाहेक रेफ्रिजरेटर कम्प्रेसर लगातार चलाउँदा धेरै तातो हुन सक्छ । फ्यूज प्रणालीले यो पत्ता लगाएर रेफ्रिजरेटर बन्द गर्छ । ग्यास चुहावट र स्पार्किङको अवस्थामा फ्यूजले बिजुली आपूर्ति काट्छ । यसले विस्फोटको जोखिम कम गर्छ । त्यसैले, फ्रिजमा फ्यूज प्रणाली हुनु धेरै महत्त्वपूर्ण छ ।

  • फ्रिज कहिले र कसरी सफा गर्नुपर्छ ?

गर्मीमा प्रत्येक २–३ हप्तामा फ्रिज सफा गर्नुहोस् । यसले फ्रिजलाई नराम्रो गन्ध आउनबाट रोक्नेछ र चिसोपन पनि राम्रो रहनेछ । फ्रिज बन्द गरेपछि मात्र भित्र रहेको बरफ र फोहोर सफा गर्नुपर्छ । गर्मी सुरु हुनुभन्दा पहिले कन्डेन्सर र क्वाइलहरू सफा गर्नुहोस् । पानीको फिल्टर पनि परिवर्तन गर्नुहोस् । रेफ्रिजरेटरलाई वर्षमा कम से कम एक पटक सर्भिस गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप