विपक्षी मोर्चाबाट आउट भएको राप्रपालाई सर्वदलीय बैठकमा समेत निषेध !

काठमाडौँ । प्रचण्ड नेतृत्वको विपक्षी मोर्चाबाट आउट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रधानमन्त्री केपी ओलीले आइतबार बोलाएको सर्वदलीय बैठकमा समेत निषेध गरिएको छ ।
चैत १३ गते सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा राप्रपालाई बोलाइएको थिएन । आइतबार साँझ प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा साँझ ७ बजे सर्वदलीय बैठक बोलाएका छन् । तर राप्रपा र रास्वपालाई नबोलाएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले रातोपाटीलाई बताए ।
‘प्रधानमन्त्रीज्यूले साँझ बोलाउनुभएको सर्वदलीय बैठकमा राप्रपा मात्र होइन रास्वपालाई पनि बोलाउनुभएको छैन । यी दुई दलबाहेक अन्य दललाई बोलाइएको छ’, उनले भने ।
शुक्रवार तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि सत्तापक्ष र विपक्षी गणतन्त्र पक्षधर दलहरू आक्रोशित छन् । त्यसदिनको हिंस्रक घटनामा दुई जनाको ज्यान गएको थियो । ठुलो मात्रामा निजी तथा सार्वजनिक सम्पत्तिको क्षति भएको थियो । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धबलशमशेर राणालाई राज्यविरुद्धको अपराधमा पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ ।
यसअघि चैत १३ गते सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा राप्रपा सहभागी थिएन । बैठकमा सहभागी नभए पनि प्रतिनिधिसभा बैठकमा विपक्षी दलसँगै राप्रपाले सरकारको विरोध गरिरहेको छ । प्रचण्ड नेतृत्वको पछिल्लो सरकारमा झन्डै डेढ महिना सहभागी भएको राप्रपा २०७९ फागुन १२ गते कांग्रेस र माओवादीबिच समीकरण बनेपछि सरकारबाट बाहिरिएको थियो ।
यही कात्तिक २ गते संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकमा सहभागी भएको थियो । माघ ४ गते सिंहदरबारमा बसेको बैठकमा राप्रपासहित विपक्षी ६ दलले सदन र सडकबाट सङ्घर्ष गर्ने निर्णय गरेको थियो । तर पूर्वराजा ज्ञानेन्द्र शाहले देशको रक्षाका लागि साथ दिन आव्हान गरेपछि राप्रपाले सदन र सडक सङ्घर्ष चर्काउँदै लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
-
आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म