शिक्षक आन्दोलनको असरः धमाधम भर्ना अभियान स्थगित गर्दै बागमतीका विद्यालय

हेटौँडा । शिक्षक आन्दोलनका कारण बागमती प्रदशेका विद्यालयले धमाधम भर्ना अभियान स्थगित गरिरहेका छन् ।
शिक्षक आन्दोलनका कारण प्रदेशका विभिन्न स्थानीय तहमा रहेका विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भए पनि सूचना नै जारी गरी भर्ना अभियान स्थगित गरेका हुन्।
विद्यालयहरूले शिक्षक आन्दोलनका कारण असज परिस्थिति निम्तिएको र अर्को सूचना नभएसम्म भर्ना अभियान स्थगित गरेको जनाएका छन् । मकवानपुरको बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालयले मंगबलार सूचना जारी गर्दै भर्ना अभियानसहित विद्यालयका प्रशासनिक कार्य अघि बढाउन नसक्ने बताएको छ ।
सिन्धुलीको तीनपाटन गाउँपालिकाको चन्द्रवती माध्यमिक विद्यालयले पनि भर्ना अभियान रोकेको छ । शिक्षक आन्दोलनका कारण सो विद्यालयले मंगलबार सूचना जारी गर्दै भर्ना अभियान अघि बढाउन नसक्ने जनाएको हो ।
यता हेटौंडा–१९ को निर्माल माध्यमिक विद्यालय, हेटौंडा–१४ को जनज्योति माध्यमिक विद्यालय, भरतपुर–१० चितवनको नारायणी नमुना माध्यमिक विद्यालय लगायतले सूचना जारी गर्दै भर्ना अभियान रोकेको छ । विद्यालयहरूले शिक्षक आन्दोलनले असहज बनाएको बताएका छन् ।
गाउँपालिका महासंघ बागमती प्रदेशका अध्यक्ष एवम् तीनपाटन गाउँपालिका सिन्धुलीका अध्यक्ष कर्णबहादुर थापाका अनुसार शिक्षहरूको आन्दोलनको स्वरूप परिवर्तन भइरहेको छ । आन्दोलनका कारण केही विद्यालयहरूले अभियान अघि बढाउन नसक्ने भनेर सूचना जारी गरेको उनले बताए ।
शिक्षक आन्दोलन र विद्यार्थी भर्ना अभियानलाई स्थानीय स्तरबाट त्यसमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उनले बताए ।
शिक्षक आन्दोलनका विषयमा स्थानीय तहहरूले पनि प्रतिबद्धता जनाएको र विद्यालय नै ठप्प गरेर शिक्षाको अधिकारमाथि बन्देज लगाउन नहुने उनले बताए । शिक्षक आन्दोलनका सन्दर्भमा गाउँपालिका तथा नगरपालिका महासंघबाट पनि प्रतिबद्धता जारी भएको र शिक्षकका मागका सन्दर्भमा ऐक्यबद्धता जनाएको उनले बताए ।
उनका अनुसार सरकारले शिक्षकसँग भएको सातबुँदे सहमतिका विषय कार्यान्वयन गरी सहज वातावरण तयार गर्नुपर्छ भन्ने महासंघको धारणा हो । सरकारले शिक्षकका मागलाई सम्बोधन गरेर समस्या हल गर्नुपर्ने उनको भनाइ छ । विद्यालयहरूले रोकेको भर्ना अभियानलाई महासंघको बैठक बसेर आवश्यक निर्देशनसहित स्थानीय तहका गतिविधि अघि बढाउने उनले बताए ।
शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक खुविराम अधिकारीका अनुसार संघीय सरकारको परिपत्रअनुसार भर्ना अभियान अघि बढाइएको छ । विशेषगरी भर्ना अभियान विद्यालयहरूले सञ्चालन गर्ने भएकाले प्रदेश सरकारका तर्फबाट निर्देशनालयले त्यसमा समन्वय गरिरहेको उनले बताए ।
संघीय सरकारको नारालाई सार्थकता दिन स्थानीय तहहरूसँग समन्वय भइरहेको र विद्यालयहरूका समस्याका विषयमा पालिकाहरूसँग छलफल गरेर सहयोग गरिरहेको उनले बताए । स्थानीय तहलाई निर्देशन गरेर भर्ना अभियानलाई प्रभावकारी बनाउन प्रदेशबाट भूमिका निर्वाह भए पनि अभियानअन्तर्गत प्रदेशले नयाँ कार्यक्रम र ठोस योजना भने नरहेको उनले बताए ।
उनका अनुसार शिक्षक अन्दोलनले भर्ना अभियानलाई प्रभावित बनाउने निश्चित रहेको छ । तत्काल त्यसको असर नदेखिए पनि निकट समयमा प्रभाव देखिने उनले बताए ।
‘भर्ना अभियानमा भर्खरै सुरु भएकाले शक्षिक आन्दोलन लम्बिने अवस्था बन्यो भने भर्ना दर न्यून हुन्छ,’ उनले भने, ‘केही विद्यालयले परिस्थिति सहज नरहेको भन्दै अभियान रोकेका पनि छन् । जसले अभिभावक र विद्यार्थीहरू मर्कामा पर्छन् । शिक्षक अन्दोलन व्यवस्थापन नभए अभिभावक र विद्यार्थीहरू अन्योलमा पर्ने र शैक्षिक क्षेत्र धरासायी बन्ने अवस्था छ ।’
विद्यालयमा कक्षा सञ्चालनको समय १२–१५ गतेपछि हुने भएकाले शिक्षक अन्दोलनलाई तत्काल व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । शिक्षक अन्दोलन व्यवस्थापनमा प्रदेशको खासै भूमिका नदेखिएको पनि उनले बताए । विद्यालय शिक्षा स्थानीय तहमा र विद्यालय शिक्षा प्रदेशको साझा अधिकारअन्तर्गत रहेकाले भूमिका नदेखिएको उनले बताए । शिक्षा ऐन संघीय सरकारको अधिकार क्षेत्र रहेकाले तत्काल प्रदेशले त्यसो व्यवस्थापनमा काम गर्न नसकेको उनले बताए ।
माग भएका र आवश्यक देखिएमा समन्वय तथा सुझावको काम गरिरहेको उनले बताए । शिक्षा ऐनले प्रदेशको क्षेत्राधिकार तोके भर्ना अभियानसहित विद्यालय शिक्षाको क्षेत्रमा काम गर्न सक्ने उनको भनाइ छ ।
हाल प्रदेशमा भर्नादर ९६ प्रतिशत छ । सोही अनुपातमा यस वर्ष पनि विद्यार्थीहरू भर्ना हुने निर्देशनालयको मूल्यांकन रहेको उनको भनाइ छ । २०७८ देखिको तथ्यांक हेर्ने हो भने धेरै विद्यार्थीहरू विद्यालय बाहिर छैनन् । विद्यालयहरूलाई सपोर्टका कार्यक्रम ल्याएर विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउने काम प्रदेशबाट भएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने