भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
नयाँ दिल्ली । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स भारत भ्रमणमा आउने भएका छन् । भान्स दम्पती अप्रिल २१ देखि चार दिने भ्रमणमा भारत आउन लागेका हुन् ।
यो जानकारी भारतीय विदेश मन्त्रालयका प्रेस सचिव र जेडी भेन्स दुवैले दिएका हुन् । भारत भ्रमणको क्रममा भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने बताइएको छ । यस अवधिमा द्विपक्षीय वार्ता पनि हुनेछ ।
‘यो उपराष्ट्रपति भान्सको पहिलो भारत भ्रमण हुनेछ । यस भ्रमणको क्रममा उनले अप्रिल २१ मा प्रधानमन्त्री मोदीलाई भेट्नेछन्,’ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ । उपराष्ट्रपति र उनको प्रतिनिधिमण्डल दिल्लीमा अन्य कार्यक्रमहरूमा पनि सहभागी हुने बताइएको छ । अप्रिल २४ मा वासिङ्टन डीसी जानुअघि भान्सले जयपुर र आग्राको पनि भ्रमण गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगति र प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणको क्रममा फेब्रुअरी १३ मा जारी गरिएको भारत–अमेरिका संयुक्त वक्तव्यको नतिजाको कार्यान्वयनको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ।’ विदेश मन्त्रालयले भनेको छ ।
यसैबिच, भान्सको कार्यालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी उपराष्ट्रपति अप्रिल १८ देखि २४ सम्म इटाली र भारतको भ्रमणमा रहने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन बाहेक विश्वका अन्य देशहरूलाई पारस्परिक अतिरिक्त भन्सार महसुलबाट ९० दिनको राहत दिएकै समयमा जेडी भान्सको भारत भ्रमण हुन लागेको छ । ट्रम्पले सबै व्यापार साझेदारमाथि न्यूनतम १० प्रतिशतको महसुल लगाएर चीन बाहेक सबै देशहरूबाट आउने सामानमा लगाउने भनिएको अतिरिक्त भन्सार महसुललाई ९० दिनको अस्थायी छुट दिएका छन् ।
यसैबिच चीनबाट आउने सामानमा भन्सार महसुल बढाएर २४५ प्रतिशतमा पुर्याएका छन् । यस्तो अवस्थामा जेडी भान्सको भारत भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण