सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
कुन प्रदेशको बजेट कति ?
Live Updates

LIVE UPDATES : कुन प्रदेशको बजेट कति ?

आइतबार, ०१ असार २०८२, १९ : ०७
Live

काठमाडौँ । प्रदेश सरकारहरूले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन् ।  असार १ गते प्रदेशहरुले बजेट ल्याउनै पर्ने कानुनी व्यवस्था छ । 

बागमतीका बजेटमा यस्ता छन् नयाँ कार्यक्रम

हेटौँडा । बागमती सरकारको बजेटमा केही नयाँ कार्यक्रम समेत समावेश गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ६७ अर्व ४७ करोड ७३ लाख रुपैयाँको बजेटमा नयाँ ढंगका कार्यक्रम र नाराहरू समावेश गरेको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पिपिपी मोडलमा कृषि उपज बजार केन्द्रको स्थापना, प्रदेशका विभिन्न १६ पालिकामा विषादी अवशेष परिक्षण प्रयोगशालाको स्थापना, आधुनिक वधशाला निर्माण, एक जिल्ला एक कृषि उत्पादन पकेट क्षेत्र लागू गरिने, चितवनमा गोलभेडा र दोलखामा किवी प्रशोधन केन्द्र निर्माण गरिने कार्यक्रम ल्याएको हो । 

प्रदेश सरकारले निक्षेप तथा कर्जा सुरक्षणको साझेदारीमा सहुलियत पूर्ण कार्यक्रम लागू गरिने, दोलखाको डाँङ्डुङेमा फिल्म सिटिको निर्माण, हेलम्बु ग्रेट ट्रेल, किस्पाङ नौ घडेरी पर्यटन, सैलुन मिनि ग्रेट वाल निर्माण गर्न बजेट कार्यक्रम प्रस्तुत गरेको छ । सरकारले गोकर्णेश्वरमा राजनीतिक क्रान्ति सङ्ग्रहालयको निर्माण, मकवानपुरगढी देखि सिन्धुलीगढी, कालिगण्डकी देखि कालिन्चोक, गौरिघाट देखि गोसाईंकुण्ड र रानीपोखरी देखि पाँचपोखरी पदमार्ग पहिचान तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम बजेटमा समावेश गरेको छ । 

बागमतीको बजेटमा राजस्व र करका दरमा हेरफेर

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निर्मित संरचनाबाट आयआर्जनमा जोड्ने गरी व्यवस्था मिलाउने भएको छ । बजेट वक्तव्यमा उल्लेख भए अनुसार प्रदेशको पूर्ण वा सहलगानीमा निर्माण भई स्थानीय तहलाई हस्तान्तरण हुने आयोजना/परियोजना निर्माणलाई प्राथमिकता दिई त्यस्ता परियोजनाबाट भएको आयको निश्चित प्रतिशत प्रदेशले प्राप्त गर्ने व्यवस्था मिलाउने भएको छ ।

प्रदेशको अधिकार क्षेत्रभित्रका केही करका दरहरूमा सामान्य परिवर्तन गरी अधिकांश करका दरहरु यथावत राखिएको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको राजस्व संकलनमा रहेका केही कानुनी अड्चन तथा अस्पष्टतालाई संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी स्पष्ट गर्ने जनाइएको छ । 

प्रदेश राजस्व परामर्श समितिको सुझावका आधारमा घरजग्गा रजिस्ट्रेसन शुल्कलाई यथावत् राख्ने, विज्ञापन कर, मनोरञ्जन कर, सवारी साधन कर, व्यवसाय दर्ता तथा नवीकरण दस्तुर र अन्य सेवा शुल्कमा सामयिक परिवर्तन गर्ने मन्त्री काफ्लेले बताए । मनोरञ्जनका लागि प्रयोग हुने सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थिएटर/नाटकघर, दोहोरी साँझ, डान्सबार, नाइट क्लब, क्यासिनो, पार्क, फुटसल, स्विमिङ पुल, जिपलाइन, स्वीङ, आकाशे सिसाको पुल, बन्जी जम्प लगायतका क्षेत्रमा लगाइँदै आएको मनोरञ्जन करका दरलाई परिमार्जन गरी दायरालाई थप विस्तार गरिएको छ ।

मध्यरातमा सुरु भयो कर्णालीको बजेट भाषण

काठमाडौँ । कर्णाली प्रदेशको बजेट भाषण सुरु भएको छ । असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था बमोजिम मध्य रातमा बजेट वक्तव्य सुरु भएको हो । 

प्रदेश सभामा प्रतिपक्षी दलले बहिस्कार गरेपछि सहमतिको प्रयासका लागि कर्णालीको बजेट ढिला भएको बताइएको छ ।

बागमती सरकारको बजेट ५ प्रतिशतले बढ्यो

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट ५ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ५ प्रतिशतले बढेको हो । 

चालु आर्थिक वर्षमा ६४ अर्व ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ५ प्रतिशत वृद्धि गरी ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जुन चालु आर्थिकको तुलनामा २ अर्व ९३ करोड रुपैयाँ बढी हो ।

आइतबार साँझ बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट वक्तव्य प्रस्तुत गर्दै चालूतर्फ ३८।६० प्रतिशत ९२६ अर्ब ४ करोड ४६ लाख ९१ हजार० र पुँजीगततर्फ ६१।४० प्रतिशत ९४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ० को विनियोजन गरिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट पनि विगतका वर्षहरू झैँ कर्मकाण्डी भएको विश्लेषकहरूको भनाइ छ। बजेटको प्रारम्भिक विश्लेषण गर्दा जनतामा उत्साह र आशा जगाउने ठोस तथा दूरदर्शी योजना समावेश नभएको भन्दै आलोचना भइरहेको छ।

बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका पारम्परिक क्षेत्रहरूमा सामान्य विनियोजन गरिएको छ, तर तिनको कार्यान्वयन पक्षमा विश्वास जगाउने अवस्था छैन। सुदूरपश्चिमजस्तो पिछडिएको क्षेत्रको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्नेमा त्यसतर्फ गम्भीर ध्यान नदिइएको विज्ञहरूको ठहर छ।

विकास योजनाहरूको दोहोरो सूची, भौतिक संरचना निर्माणमा मात्र केन्द्रित सोच, र समावेशी कार्यक्रमको अभावले बजेटलाई कर्मकाण्डी बनाएको विश्लेषणहरू आइरहेका छन्। समाजमा वास्तविक परिवर्तन ल्याउन सक्ने कार्यक्रमहरूको स्पष्टता नहुनुमा नीति निर्माण तहमा दिगो सोच राख्ने नेतृत्वको अभाव देखिएको छ।

बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बजेट वृद्धि गरेको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार विकासका लागि २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ७ अर्ब २८ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रदेश सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले संस्कृति पर्यटन मन्त्रालयका लागि ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि २५ करोड ७८ लाख रुपैयाँ, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका लागि ७७ करोड ९६ लाख रुपैयाँ, श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ८७ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारको ३३ अर्ब ४७ करोडको बजेटमा के–के विषय समेटिए ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री माननीय बहादुर सिंह थापाले शनिबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गरे । प्रस्तुत बजेटले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको छ ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ४२ हजार रुपैयाँ (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार रुपैयाँ (५९.२५ प्रतिशत) रहेको छ।

बागमती सरकारले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बराबरकाे बजेट ल्याएकाे छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट विनियोजन गरिएको छ । 

प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोत तर्फ कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, अन्य ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ अनुमान गरिएको छ । 

अझै आएन कर्णालीको बजेट : सांसद्‌देखि कर्मचारीहरू बाहिर कुरेको कुर्‍यै, नेताहरू छलफलमै व्यस्त

सुर्खेत । संवैधानिक व्यवस्था अनुसार कर्णाली प्रदेश सरकारले आइतबार राति १२ बजेभन्दा अगाडी बजेट ल्याइसक्नुपर्ने हुन्छ ।

तर, कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाले सरकारले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको आरोप लगाउँदै बजेट प्रस्तुत गर्ने बैठकमा सहभागी नहुने बताएपछि अहिलेसम्म पनि बैठक अनिश्चित भएको छ ।

दिउँसो तीन बजे बस्ने भनिएको प्रदेश सभा बैठक दलहरूबिच विवाद उत्पन्न हुँदा अझै अनिश्चित बनेको छ । आगामी आर्थिक वर्षका लागि बजेट आउने भएपछि अर्थमन्त्री राजीवविक्रम शाहदेखि सबै मन्त्रीहरू प्रदेश सभामा दिउँसो तीन बजे नै पुगेका थिए ।

कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोडको बजेट सार्वजनिक गरेको छ । 

त्यसमध्ये ७ अर्ब ६६ करोड रुपैयाँ अघिल्लो वर्ष खर्च हुन नसकेर आएको छ । प्रदेश सरकारको आफ्नै आन्तरिक स्रोतको अनुमानित राजश्व १ अर्ब ६५ करोड अर्थात् कुल बजेटको ५ प्रतिशत भन्दा कम छ । तर, प्रदेशले बजेटमा भने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह थापाले प्रस्तुत गरेको बजेटमा पूर्वाधार, कृषि, सामाजिक विकास र पर्यटनलाई समृद्धिको मुख्य प्राथमिकतामा राखिएको छ । 

बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँटबापत १४ अर्ब १५ करोड ८९ लाख हस्तान्तरण गर्ने भएको छ । 

प्रदेश सरकारले आगामी वर्षमा स्थानीय तहका लागि समानीकरण अनुदान १ अर्ब ६६ करोड रुपैयाँ हस्तान्तरण गर्ने बजेट वक्तव्यमार्फत उपलब्ध गराउने जनाएको हो ।

सशक्त अनुदानबापत ३ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ, समपुरक अनुदानबापत २ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ, विशेष अनुदानबापत ७६ करोड ३० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले शनिबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कृषि तथा पशुपन्छी विकास र संस्कृति तथा पर्यटन मन्त्रालयका लागि महत्त्वपूर्ण रकम विनियोजन गरिएको जानकारी दिए ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण तथा पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महराले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई लक्ष्यविहीन र सिद्धान्तविहीनको संज्ञा दिएका छन् । 

रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले यो बजेट सस्तो लोकप्रियताका लागि मात्र ल्याइएको र यसले प्रदेशको विकास लक्ष्य हासिल गर्न नसक्ने दाबी गरे । 

बजेट प्रस्तुत गर्दा सरकारको आत्मविश्वास नदेखिएको उनको भनाइ थियो । ‘यो बजेटले लुम्बिनी प्रदेशको विकास लक्ष्यमा पुग्न सक्दैन,’ महराले भने, ‘सरकारसँग बजेट कार्यान्वयन गर्ने कुनै ठोस योजना र गन्तव्य छैन ।’

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह थापाले सो बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड, पुँजीगततर्फ १९ अर्ब ८३ करोड, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड र वित्तीय व्यवस्थातर्फ १ करोड रुपैयाँ रहेको छ ।

स्रोततर्फ आन्तरिक राजश्व १ अर्ब ६५ करोड, राजश्व बाँडफाँटबापत ९ अर्ब ८७ करोड, संघीय रोयल्टीबापत ८ करोड, वित्तीय समानीकरण अनुदानबापत ८ अर्ब ९२ करोड, अघिल्लो बर्षको बचत ७ अर्ब ६६ करोड, सशर्त अनुदानतर्फ ४ अर्ब १६ करोड, समपूरक अनुदान ६० करोड २६ लाख र विशेष अनुदानबापत ५१ करोड ६० लाख रुपैयाँको अनुमान गरिएको छ ।

बागमती प्रदेशसभाको बैठक सुरू

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरू भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यक्रम सार्वजनिक गर्न आह्वान गरिएको बैठक सुरु भएको हो । 

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बजेट सूचना प्रणालीमा प्राविधिक विषयहरु मिलाउन नसक्दा ढिलाई भएको हो । जसका कारण प्रदेशसभाको बैठक २ पटक सम्म सारिएको थियो । 

प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशतसम्म वृद्धि गरि बजेटको आकार तयार गरिएको जनाइएको छ ।

बागमती प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट अनुमोदन

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरिएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट कार्यक्रम अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्‌बाट बजेट अनुमोदन भएसँगै आज नै बस्ने प्रदेश सभा बैठकमा सार्वजनिक गरिनेछ । 

मधेस प्रदेश : कुन मन्त्रालयले कति पाए बजेट ?

जनकपुर । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ४७ अर्बको बजेट ल्याएको छ । प्रदेश सभामा आइतबार अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड बराबरको बजेट प्रस्तुत गरेका हुन् । 

मधेस प्रदेश सरकारले बजेट प्रस्तुत गरेरसंगै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न मन्त्रालयहरूमा विनियोजित बजेट विवरण समेत सार्वजनिक गरेको छ । 

प्रदेश सरकारले आज सार्वजनिक गरिएको बजेटमा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन गरिएको छ । प्रदेशको कुल बजेटको करिब एक तिहाइ बजेट भौतिक मन्त्रालयमा राखिएको छ ।

कोशी प्रदेश सरकारको प्राथमिकता के–के ?

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको खर्च जुटाउन प्रदेश सरकारले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड, समपूरक र विशेष अनुदानबाट क्रमशः ३९ करोड र ५५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । अपुग हुने ३ अर्ब १३ करोड रुपैयाँ नगद मौज्दातबाट व्यहोरिने उल्लेख छ । 

बजेटले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोचलाई आधार बनाउँदै कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । बजेटले ५.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । बजेटका स्रोतहरूमा आन्तरिक राजस्व, राजस्व बाँडफाँट, सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान, रोयल्टी र चालू आर्थिक वर्षको नगद मौज्दात रहनेछन् ।

लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट (पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ ।

आइतबार लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् ।वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात्८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी खुसी नागरिकको दीर्घकालीन आकाङ्क्षा हासिल गर्ने सङ्कल्प गरेको छ । उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न गरिबी न्यूनीकरण तथा आर्थिक असमानता घटाउने गरी बजेट तथा कार्यक्रमलाई केन्द्रित गरिएको जनाइएको छ ।

लुम्बिनी सरकारले उद्योग मन्त्रालयका लागि छुट्यायो १ अर्ब ९० करोड बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि १ अर्ब ९० करोड बजेट छुट्याइएको छ । 

आइतबार लुम्बिनी प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त बजेट पेस गरेका हुन् ।बुद्ध जन्मस्थल लुम्बिनीमा प्रदेश सरकारले आफ्नो अस्तित्व खोज्नका लागि लुम्बिनी विकास प्राधिकरण गठन प्रक्रिया अगाडि बढाउने गरी बजेट छुट्याइएको छ ।

लुम्बिनीमा पाइला टेक भन्ने नाराका साथ लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध शिखर सम्मेलनका लागि बजेट छुट्याइएको अर्थमन्त्री कार्कीले बताए । 

मधेस प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट (पूर्णपाठ)

जनकपुर । मधेस प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभाको बैठकमा सो बराबरको बजेट घोषणा गरेका हुन् । 

उक्त बजेटमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ, पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ । 

स्रोततर्फ आन्तरिक आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाखतथा मपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ । 

बागमतीको बजेट आउन ढिलाइ

मकवानपुर । बागमती प्रदेशको बजेट आउन ढिलाइ भएको छ । यसअघि, बजेट स्वीकृत गर्नका लागि ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएकोमा बैठक थप दुई घण्टा पर सारिएको हो ।

अब मन्त्रिपरिषद् बैठक ८ बजे मात्र बस्नेछ । सो बैठकले बजेटलाई स्वीकृत गरेपछि प्रदेश सभा बैठकमा बजेट हुनेछ । 

लुम्बिनी प्रदेशमा कृषिको लागि १ अर्ब ५० करोड

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ । 

भूमि कृषि तथा सहकारी मन्त्रालय मार्फत हुने विभिन्न कार्यक्रमका लागि लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभा बैठकमा उक्त बजेट पेश गरेका हुन् ।

कृषिको उत्पादकत्व र दीगो विकासका लागि ४ अर्ब ७२ करोड बजेट छुट्याइएको छ । कृषिको आधुनिकरण गरी व्यवसायिकरण गरि वृद्धि गरिने लक्ष्य राखिएको छ ।

कस्तो आयो गण्डकी प्रदेशको बजेट ? (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । 

चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%),पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । 

पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ । 

लुम्बिनी प्रदेशमा बजेट भाषण सुरू

बुटवल । लुम्बिनी प्रदेश सभा बैठकमा बजेट भाषण सुरू भएको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ५ बजेलाई सारिएको थियो । प्रदेश सभा बैठक ६ बजे सुरु भएको छ । 

सरकारको तयारी नपुगेका कारणले बैठक बस्ने ढिलो भएको बताइएको थियो ।  अर्थमन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सरकारको बजेट प्रस्तुत गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया