सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

राप्रपा नेपालको निर्णय : आन्दोलन सशक्त ढंगले अघि बढाइने, भ्रष्टाचार काण्डको उच्चस्तरीय छानबिनको माग

आइतबार, ०१ असार २०८२, १९ : ०५
आइतबार, ०१ असार २०८२

काठमाडौँ । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठकले हालै सम्पन्न भएको जनआन्दोलनलाई उत्साहजनक सहभागिता भएको उल्लेख गर्दै आन्दोलनलाई थप सशक्त र व्यवस्थित ढंगबाट निरन्तरता दिने निर्णय गरेको छ। पार्टीले आन्दोलनमा सहभागी कार्यकर्ता, सर्वसाधारण र सञ्चारकर्मीहरूलाई धन्यवाद दिँदै, सरकारको दमनकारी शैलीको कडा भर्त्सना गरेको हो।

बैठकले जेठ १५ गतेदेखि सुरु भएको ‘भ्रष्ट व्यवस्था, हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयता खारेजी र सुशासनसहितको समृद्धि’ अभियानप्रति जनसमर्थन उल्लेखनीय रहेको भन्दै आन्दोलनलाई देशव्यापी बनाउने रणनीति तय गरेको छ।

पार्टीले अवलम्बन गर्ने प्रमुख कार्यक्रमहरूमा काठमाडौँ उपत्यकाका पालिकाहरूमा विरोध प्रदर्शन, घरदैलो तथा सचेतनामूलक कार्यक्रमहरू, उपत्यकाबाहिर जनप्रदर्शन तथा जनजागरण, संयुक्त जनआन्दोलन समितिको संरचनालाई स्थानीय तहसम्म विस्तार गर्ने, प्रतिबद्ध तथा जुझारु युवा शक्तिको परिचालन गर्ने लगायत छन् ।

पार्टीले संयुक्त जनआन्दोलन समितिका सबै घटकहरूसँग सहकार्य गर्दै अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी र यसमा सरकारी संयन्त्रको संलग्नताप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यसले नेपालको अन्तर्राष्ट्रिय छविमा दाग लागेको भन्दै राप्रपा नेपालले उच्च तहका नेता तथा कर्मचारीहरूसमेत संलग्न रहेको आरोपको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीका अनुसार, यो घटनाले कानुनी राज्य र सुशासनप्रति जनताको विश्वास खस्किएको छ।

बैठकले आन्दोलनलाई निरन्तरता दिँदै पार्टी संगठन निर्माणलाई समेत उच्च प्राथमिकता दिने निर्णय गरेको छ।

राप्रपा नेपालले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा पक्राउ परेका नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँ लगायतका सबै व्यक्तिमाथि लगाइएका झूटा मुद्दा तुरुन्त फिर्ता लिई रिहा गर्न सरकारसँग माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप