शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
अर्थतन्त्रमा सुधार

अन्तर्राष्ट्रिय व्यापारमा देखियो सुधार, नौ महिनामा ६५ प्रतिशत वृद्धि

१ खर्ब ८८ अर्ब रुपैयाँको निर्यात
आइतबार, ०७ वैशाख २०८२, २० : ५४
आइतबार, ०७ वैशाख २०८२

काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको अर्थतन्त्र क्रमशः लयमा फर्कने संकेत देखिएको छ । 

गत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आठ महिनाको वित्तीय विवरण र आइतबार सार्वजनिक भएको भन्सार विभागको तथ्याङ्कले यस्तो संकेत गरेको हो ।

राष्ट्र बैंक र भन्सार विभागले सार्वजनिक गरेका दुवै तथ्याङ्कहरूले अर्थतन्त्र क्रमशः सुधार भएको देखाएको छ । राष्ट्र बैंकले पछिल्लो आठ महिनामा आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ भने भन्सार विभागले पछिल्लो ९ महिनामा ६५ प्रतिशतले निर्यात बढेको देखाएको छ । 

यसरी दुवै तथ्याङ्क हेर्दा शिथिल बनेको अर्थतन्त्रमा आर्थिक गतिविधिहरू बढेको देखाउँछ । चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको सोही अवधीको तुलनामा १२.१८ प्रतिशतले आयात र ६५.१६ प्रतिशतले निर्यात बढेको छ । 

चैतसम्म नेपालबाट १ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत सम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले निर्यात बढेको छ । गत वर्षको चैतसम्ममा १ अर्ब १३ अर्ब रुपैयाँ बराबरको नेपालबाट वस्तुहरू निर्यात भएको थियो ।

यसरी पछिल्लो समय नेपालको अन्तर्राष्ट्रिय व्यापारमा क्रमशः सुधार देखिएको छ । चालु आर्थिक वर्षका हरेक महिना आयात–निर्यातको ग्राफमा वृद्धि भइरहेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ९ महिनामा नेपालको वैदेशिक व्यापार करिब १५ खर्ब रुपैयाँको भएको छ । यो व्यापार गत वर्ष सोही अवधिको तुलनामा १६.८९ प्रतिशतले बढेको छ । विभागका अनुसार गत वर्ष १२ खर्ब ८१ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । 

चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म समग्र आयात ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशतले घटेको थियो । तर कात्तिकदेखि बढ्न थालेको व्यापार चैत मसान्तसम्म आइपुग्दा आयात १२.१८ र निर्यात ६५.१६ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार नेपालमा पछिल्लो ९ महिनामा १३ खर्ब ३० अर्ब रुपैयाँको आयात भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आयात ११ खर्ब ६७ अर्ब रुपैयाँको थियो । 

विभागको आयात र निर्यातको तथ्याङ्क अनुसार निर्यातमा सुधार भए पनि पछिल्लो ९ महिनाको अवधिमा नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब रुपैयाँको रहेको देखाएको छ । पछिल्लो ९ महिनामा ६.४५ प्रतिशतले व्यापार घाटा बढेको छ । अघिल्लो वर्ष यो अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ८१ अर्ब रुपैयाँ थियो । 

विभागमा अनुसार चैत महिनामा मात्रै १ खर्ब ६४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो आयात फागुनको तुलनामा ९ अर्ब रुपैयाँले बढी हो । फागुन महिनामा १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको थियो । 

पछिल्लो ९ महिनामा भएको निर्यातमध्ये ३० अर्ब रुपैयाँको चैतमा थपिएको देखिन्छ । फागुन महिनाको तुलनामा चैत महिनामा निर्यात कम देखिएको छ । चैतमा ३० अर्बको निर्यात भएको छ भने फागुनमा ३१ अर्बको निर्यात भएको थियो । निर्यातमा ३३ प्रतिशत हिस्सा भटमासको तेलको रहेको तथ्याङ्कले देखाएको छ । 

यस्ताे छ ९ महिनाको आयात र निर्यात 

पछिल्लो ६ महिनादेखि नेपालको आयात निर्यात दुबैमा सुधार हुँदै गएको देखिन्छ । चालु आर्थिक वर्ष साउनमा १ खर्ब २८ अर्ब, भदौमा १ खर्ब ३४ अर्ब, असोजमा १ खर्ब २८ अर्ब, कात्तिकमा १ खर्ब २२ अर्ब, मंसिरमा १ खर्ब ४८ अर्ब, पुसमा १ खर्ब ६१ अर्ब, माघमा १ खर्ब ६६ अर्ब र फागुनमा १ खर्ब ५७ अर्ब रुपैयाँ र चैतमा १ खर्ब ६४ अर्ब बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको ३ महिना भने निर्यातमा खासै सुधार हुन सकेको थिएन । तर पछिल्लो ६ महिना देखि आयातमा मात्रै नभएर निर्यातमा पनि सुधार भएको छ ।

आर्थिक वर्षको पहिलो साउन महिनामा १२ अर्ब २२ करोड निर्यात भएको थियो । त्यस्तै, भदौमा १२ अर्ब ८६ करोड,असोजमा १३ अर्ब २८ करोड, कात्तिकमा १४ अर्ब ३० करोड, मंसिर २० अर्ब ९९ करोड, पुसमा २५ अर्ब १३ करोड, माघमा २८ अर्ब ४२ करोड,फागुनमा ३१ अर्ब र चैतमा ३० अर्बको निर्यात भएको छ । 

Capture

चैतसम्म पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात

चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा २ खर्ब ३६ अर्ब ७२  करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । 

दोस्रोमा १ खर्ब २२ अर्ब ४२ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यस्तै तेस्रोमा पाम तथा प्रशोधित तेल आयात भएको देखिन्छ । यो अवधिमा पाम तथा प्रशोधित तेल १ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।यस्तै,८८ अर्ब ४७ करोड रुपैयाँको बोइलिङ मेशिन, ८६ अर्ब १० करोड रुपैयाँ बराबरको इलेक्ट्रिकल मेसिन तथा उपकरण ७० अर्ब ४२  करोड  रुपैयाँ बरबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । 

यस्तै ४८ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्लाष्टिकजन्य वस्तु १३ अर्ब १६ करोड रुपैयाँ बराबरको रब्बरको सामग्री, ४७ अर्ब ८५ करोड बराबरको मोती, औषधजन्य वस्तु ३२ अर्ब ४ करोड रुपैयाँको, २० अर्ब २६ करोड रुपैयाँ बराबरको मल, २३ अर्ब ४ करोड रुपैयाँ बराबरको कपडा आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

यस्तै सो अवधिमा ३१ अर्ब ५२ करोड बराबरको तरकारी १८ अर्ब २० करोड बराबरको फलफूल आयात भएको छ । यस्तै २१ अर्ब ७० करोड बराबरको तेल जन्य बियाँ आयात भएको छ ।

करिब २० अर्बको विद्युतीय सवारी आयात

९ महिनामा १९ अर्ब ९४ करोड रुपैयाँ भन्सार मूल्यका विद्युतीय सवारी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २० हजार ८९६ वटा विद्युतीय सवारी आयात भएको छ । उक्त विद्युतीय सवारी साधनबाट ११ अर्ब ९२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

विभागको तथ्यांक अनुसार सबैभन्दा बढी आयात हुने विद्युतीय सवारी ५१ देखि १०० किलोवाटसम्मका ४४ सय १४ वटा कार/जीप, भ्यान आयात भएका छन् । ५१ देखि १०० किलोवाटसम्म विद्युतीय सवारीको १० अर्ब ९४ करोड रुपैयाँ भन्सार मूल्यका रहेको छ ।
विद्युतीय सवारीमा तीन पाङ्ग्रे सवारीसाधान मात्रै ४ हजार ९४७ वटा आयात भएका छन् । सबैभन्दा बढी ७ हजार ९८२ वटा तीनपाङ्गे सवारी साधन छन् । 

विद्युतीय सवारीमा १०१ देखि २०० किलोवाटसम्मका ७४२ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप