आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
पुस्तक समीक्षा

‘डोल्पो ओ डोल्पो’ नियात्राको सांस्कृतिक अध्ययन

शनिबार, १० जेठ २०८२, १९ : ००
शनिबार, १० जेठ २०८२

सार संक्षेप
प्रस्तुत लेखमा ‘डोल्पो ओ डोल्पो’ नियात्रामा प्रतिनिधित्व, प्रभुत्व र पहिचानको स्वरूपको अन्वेषण गरिएको छ । सांस्कृतिक अध्ययनको सैद्धान्तिक मान्यताभित्र रहेर यस कृतिको विश्लेषण गरिएको छ । त्यसका लागि ‘डोल्पो ओ डोल्पो’ नियात्रालाई प्राथमिक र त्यससँग सम्बन्धित समालोचनात्मक रचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यी दुवै प्रकारका सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । प्रस्तुत नियात्रामा डोल्पाली समाजमा विद्यमान् सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक नैतिक पक्षका सबल र दुर्बल पक्षहरूलाई प्रतिनिधित्व प्रभुत्व र पहिचानका दृष्टिबाट विश्लेषण गरी यी तिनै कुराको अवस्थितिको प्रस्तुतिमा नियात्रा अब्बल रहेको छ । सांस्कृतिक अध्ययनका दृष्टिले विवेच्य नियात्रा सबल र सफल रहेको छ ।
शब्दकुञ्जी: सूक्तिमय, अन्तर्विषयक, ढ्वाँगे, सोकह्या, टोके । 

  • विषय परिचय 

‘डोल्पो ओ डोल्पो’ नियात्राका लेखक साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ हुन् । यो किशोरको अठारौँ कृति र नियात्रा कृतिमा छैटौँ हो । उनका हरेक कृति मोतीका अमूल्य दानाजस्तै छन् । प्रत्येकको सौन्दर्य, चमक र मूल्य बराबर छ । यति धेरै कृतिहरूमा भाव र भाषाको अलग चमत्कृति निर्माण गर्न सक्नु पुडासैनीको लेखकीय सफलता हो । कविता विधामार्फत साहित्य क्षेत्रमा प्रवेश गरेका किशोर हाल नियात्रा विधामा स्थापित छन् । 

उनको भ्रमणप्रतिको रुचि र त्यस भ्रमणलाई शाब्दिक दृश्यमा प्रस्तुत गर्ने कलमकुचीको समागमले नेपाली यात्रा साहित्य समृद्ध बन्न गएको छ । यात्रामा देखिएका र भेटिएका समग्रवस्तु, दृश्य, व्यक्ति र परिवेशलाई सरसर्ती वर्णन गर्नुभन्दा तिनका समग्र यथार्थता र तज्जन्य अर्थ आशयहरूको सजीव प्रस्तुतिले उनका नियात्रात्मक रचनाहरू सर्वप्रिय बनेका छन् । भाषामा खेल्न सक्ने सामथ्र्य, भावको गहिराइमा तैरन सक्ने कला र विचार प्रवाहलाई सूक्तिमय रूपमा सजाउन सक्ने सामथ्र्य नै उनलाई साहित्य क्षेत्रमा अद्वितीय नियात्राकार बनाउने उपकरण हुन् ।

सरकारी जागिरका सिलसिलामा नेपालका विभिन्न जिल्लाको भ्रमण गरी त्यहाँको भौगोलिक, आर्थिक, सांस्कृतिक, राजनीतिक अवस्थाको सूक्ष्म अवलोकन गरिसकेका किशोरले आफ्ना नियात्रामा विशेष गरेर भौगोलिक रूपमा विकट र सामाजिक र सांस्कृतिक रूपमा सम्पन्न, विविधताले भरिपूर्ण स्थानहरूको यात्रा अनुभव सँगालेका छन् । भ्रमण गरिएका ठाउँको सूक्ष्म अवलोकन गर्दा मनमा उत्पन्न भावतरङ्गको अङ्कन गर्ने भएकाले उनका यात्रा साहित्य स्थलगत सामान्य विवरणभन्दा माथि उठेका छन् । उनका नियात्रा कुनै भूबनोटको जानकारी, प्राकृतिक सौन्दर्य वर्णन, यात्रामा भोगेका सुखदुःखको गुनासो, आत्मसन्तुष्टि र आत्मश्लाघाका पट्यारलाग्दा कनीकुथीका आभ्यासिक रचना नभएर प्रतिभाशाली सर्जकका स्वतस्फूर्त लेखनीबाट निसृत सांस्कृतिक अध्ययनका भण्डार र जीवनदर्शनका अमूल्य ग्रन्थ हुन् । 

प्रस्तुत अध्ययनमा ‘डोल्पो ओ डोल्पो’ नियात्रामा निम्न लिखित समस्यामा केन्द्रित रही तिनै समस्याको समाधान खोज्ने प्रयत्न गरिएको छ । विवेच्य नियात्रामा व्यक्ति, वर्ग र समुदायको प्रतिनिधित्व कसरी गराइएको छ ? सत्ता र शक्तिको प्रभुत्वको अवस्था के कस्तो रहेको छ ? दमित, उपेक्षित र सीमान्तकृतहरूको शक्तिशालीका विरुद्ध पहिचान र प्रतिकारको स्थिति कस्तो छ भन्ने प्राज्ञिक समस्याको उत्तर खोज्ने कार्य यस लेखमा गरिएको छ ।

‘डोल्पो ओ डोल्पो’ नियात्राले नेपाली समाजको नारी पुरुषको सामान्य सामाजिक व्यवस्थाभन्दा फरक नारीप्रधान समाजका पुरुषहरूको प्रतिनिधित्व गराएको छ । यसमा पुरुषप्रधान समाजका उपेक्षित, दमित र आर्थिक रूपमा अधिकारविहीन नारीका विपरीत नारीप्रधान समाजका केन्द्रीकृत, सशक्त दमक र आर्थिक रूपमा सबल, आर्थिक गतिविधिका नियन्त्रक नारीको प्रतिनिधित्व गराइएको छ ।

प्रस्तुत आलेखको उद्देश्य नियात्राभित्र डोल्पाली समाजमा रहेका जाति, वर्ग र समुदायको प्रतिनिधित्वको खोजी गर्नु; नियात्रामा कुन वर्ग र शक्तिको प्रभुत्व कुन रूपमा रहेको छ भन्ने खोजी गर्नु; उपेक्षित, दमित, शोषित र किनारामा पारिएका वर्गको आफूप्रति भइरहेको शोषण र शक्तिशाली वर्गलाई हेर्ने दृष्टिकोण एवं प्रतिकारको अवस्था कस्तो छ भन्ने खोजी गर्नु रहेको छ । ‘डोल्पो ओ डोल्पो’ नियात्राका बारेमा रेडियो, टेलिभिजन र पत्रपत्रिकामा प्रभावपरक दृष्टिले सामान्य टीका–टिप्पणी र चर्चा–परिचर्चा भए पनि समाजशास्त्रीय कोणबाट गहन अध्ययन भएको पाइँदैन । यही समाजशास्त्रीय कोणबाट अध्ययन नभएको अभाव पूर्ति गर्न प्रस्तुत आलेख केन्द्रित रहेको छ । प्रस्तुत नियात्रालाई साहित्य विश्लेषणका विभिन्न सिद्धान्त र कोणबाट विवेचना गर्न सकिए पनि सांस्कृतिक अध्ययनको प्रतिनिधित्व, प्रभुत्व र पहिचानका दृष्टिकोणबाट मात्र हेर्ने काम गरिएको छ । यही नै यस लेखको क्षेत्र र सीमा हो । डोल्पा जिल्लाभित्रका विविध पक्षलाई प्रस्तुत गरिएको यस नियात्रालाई सांस्कृतिक आँखाले पर्यवेक्षण गर्ने प्रयास नै यसको उपलब्धि हो । प्रस्तुत आलेख विद्यार्थी, अध्यापक, अनुसन्धाता र साहित्यिक पाठकका लागि उपयुक्त पाठ्यसामग्रीका रूपमा रहेको छ । 

  • सैद्धान्तिक पर्याधार

संस्कृति शब्दको अर्थ परिष्कार वा संस्कारका रूपमा प्रचलित छ । मानिसलाई सामाजिक प्राणीका रूपमा स्थापित गर्न जति तत्त्व वा उपकरणले योगदान दिन्छन्, ती सम्पूर्ण पक्षहरू संस्कृतिको परिभाषा अन्तर्गत पर्छन् । परम्परित रूपमा संस्कृतिलाई हेर्ने, चिन्ने र चिनाउने आधारहरू केही सीमित र साँघुरा थिए । समाज वा व्यक्तिका विशिष्ट पहिचानसहितको खानपान, रीतिरिवाज, धर्म, परम्परा, गीत, नृत्य,परिधान, आभूषण, स्वागत सत्कारका तौरतरिका आदिलाई संस्कृतिका रूपमा लिइन्थ्यो । यसलाई अझ उच्च तहबाट भन्दा मानवताका दृष्टिले समाजमा प्रदर्शन हुने सभ्य र सुन्दर व्यवहारलाई संस्कृति भन्ने गरिन्थ्योे । 

आधुनिक युगको नवीन परिवेशमा संस्कृति शब्दको अर्थ र क्षेत्र व्यापक बन्दै गएको छ । संस्कृति मानव तथा मानव समाजको निजता र विशिष्टता, उसको आत्मिक र बौद्धिक स्वरूप तथा क्रियाकलाप हो । यसले समाजको विकास र त्यसको आधारलाई प्रभाव पार्छ । ‘संस्कृति मनुष्यको भिन्न स्वको आधार, जीवन मूल्य र उत्प्रेरणाको जीवन्त तत्त्व, उसको सिर्जनात्मक सामथ्र्य र उध्र्वगामी यात्राको परिचयात्मक मात्र बन्दै आएको छैन, बन्धन र उत्पीडनको साधन पनि रहँदै आएको छ’ (गिरी,२०७० पृ. १४) । संस्कृति मानव समाजको विशिष्टताको पहिचान र उसको प्रगतिको झलकमात्र नबनेर स्वयंमा बन्धन र जडताको स्वरूप पनि बन्दै आएको कुरा माथिको भनाइबाट स्पष्ट हुन्छ । यही संस्कृतिको अध्ययन गर्ने पद्धतिलाई सांस्कृतिक अध्ययन भनिन्छ । सांस्कृतिक अध्ययन अन्तर्गत लिङ्ग, जाति, वर्ग, उपनिवेश आदि शक्ति संरचनाका विविध पक्षहरू पर्छन् । सांस्कृतिक अध्ययन मानिसले अङ्गीकार गरेका मूल्य–मान्यता, विश्वास, जीवनशैली, बानी–व्यवहार आदिको अध्ययन हो । सांस्कृतिक अध्ययनको विषय क्षेत्र व्यापक र असीमित छ । यसले समाजका विविध क्षेत्र संस्कृति, पहिचान, जातीयता, लैङ्गिकता, विचारधारा, राजनीति, प्रतिनिधित्व आदि रहेका छन् । सांस्कृतिक अध्ययनले सांस्कृतिक अभ्यास र शक्ति संरचनासँग तिनका सम्बन्धहरूलाई हेर्छ । यसको लक्ष्य शक्ति सम्बन्धहरूलाई देखाउनु र यस सम्बन्धले सांस्कृतिक अभ्यासलाई कसरी प्रभावित पार्छ भनेर परीक्षण गर्नु हो । ‘दैनिक जीवनका अनेक तत्त्व मिसिन्छन् । धर्म, राजनीति, भाषा, जातीयता, वस्त्र, आभूषण, रीति, परम्परा, लोकविश्वास, संस्कार इत्यादि मिलेर संस्कृति बन्छ अथवा जीवन । जीवनका यी सबै पक्षको निर्मितिको विश्लेषण गर्ने भएकाले कल्चरल स्टडिज एउटा अन्तर्विषयक (इन्टरडिसिप्लिनरी) तत्त्वको रूपमा सुपरिचित विधा हो । यसले संस्कृतिलाई व्यापक अर्थमा हेर्छ, जीवनका सबै पक्षलाई जोडेर हेर्छ’ (भट्टराई, २०७० पृ.११९) यसरी हेर्दा सांस्कृतिक अध्ययन समाज र जीवनको समग्रताको अध्ययन हो ।

सांस्कृतिक अध्ययनका लागि मुख्यरूपमा यी तिन उपकरण वा आधारहरूलाई उपयोग गर्ने गरिन्छ । 

क) प्रतिनिधित्व 

समाजको निश्चित संरचना र त्यस संरचनामा जनताको कस्तो प्रतिनिधित्व छ भन्ने कुरा यसमा खोजिन्छ । पाठमा जनसामान्यको प्रतिनिधित्वको अवस्थालाई हेर्नु सांस्कृतिक अध्ययनको मुख्य कार्य हो । पाठमा कुन वर्ग वा समुदायको के कस्तो प्रतिनिधित्व छ भन्ने कुराको अवलोकन यस अन्तर्गत गरिन्छ । समाजमा दलित, उपेक्षित, सीमान्तकृत र महिलाहरूको उपस्थितिका आधारमा पाठको मूल्याङ्कन गर्ने कार्य प्रतिनिधित्वका आधारमा गरिन्छ । एक वर्गका पात्रले अर्को वर्गका पात्रलाई हेर्ने दृष्टिकोणका आधारमा कुन पात्रले कुन वर्गको प्रतिनिधित्व गरेको छ भन्ने निर्धारण यसअन्तर्गत गरिन्छ । 

ख) प्रभुत्व

प्रभुत्वसम्बन्धी अवधारणा ग्राम्सीले विकसित गरेका हुन् । सत्ता (शक्तिशाली) ले विचारधारालाई आममानिससँग सहमति प्राप्त गर्ने उपकरणका रूपमा प्रयोग गर्छ । प्रभुत्वले विचारधारामार्फत आपूmअनुकूल संस्कार र चेतना निर्माण गर्छ र सर्वसाधारणलाई विनाविरोध आत्मसात गर्न बाध्य पार्छ । उच्च वर्गले निम्न वर्गलाई आफ्नो प्रभुत्वमा राख्ने र आफ्ना विचारहरू अनुकूल बनाउने प्रयास गर्छ । निम्न र उत्पीडित वर्ग पनि प्रभुत्वशालीका आपूm विरुद्धका विचारहरूलाई आफ्नै विचार जसरी आत्मसात गर्छ । सांस्कृतिक अध्ययनमा सामाजिक संरचनाका विभिन्न तहमा प्रभुत्वका माध्यमबाट उत्पीडित र उत्पीडकका बिचको सम्बन्धलाई विश्लेषण गर्ने काम गरिन्छ । 

ग) पहिचान 

पहिचान भन्नाले व्यक्ति वा समुदायको परिचय वा अस्तित्व भन्ने बुझिन्छ । यसमा विशेष गरेर राजनीतिक र सांस्कृतिक पहिचानलाई महत्त्व दिइन्छ । कुनै व्यक्ति वा समुदायले आफ्ना अस्तित्व रक्षा, त्यसको विकास र विस्तार गर्नका लागि प्रभुत्वशाली वर्गका विरुद्ध सङ्घर्ष र प्रतिवाद गर्दै आफूलाई परिचित र स्थापित गर्ने कार्य नै पहिचान हो । हरेक व्यक्तिका पहिचानहरू सांस्कृतिक र राजनितिक रूपमै बन्ने र बिग्रने भइरहन्छन् । ‘व्यक्तिको पहिचान उसले सम्पदान गर्ने कार्य र त्यसको गुरुत्वले मात्र निर्माण हुँदैन, उसले बोल्ने भाषा, उसले अपनाएको धर्म र संस्कृति, उसको जात र राष्ट्रि«यता, उसले अपनाएको व्यवसाय र उसका सम्बन्धहरू आदिबाट पनि निर्माण हुन्छन्’ (गिरी,२०७० पृ.३१) प्रभुत्वशाली शक्तिले आफ्नो प्रभुत्व विस्तार गर्न खोज्दा उत्पीडित वा शक्तिहीन वर्गले त्यसका प्रतिवादका लागि आपूmलाई कसरी उभ्याएको छ र आफ्नो अस्तित्व स्थापित गर्न लागेको छ भन्ने कुराको खोजी पहिचानअन्तर्गत गरिन्छ । 

  • ‘डोल्पो ओ डोल्पो’ नियात्राको सांस्कृतिक अध्ययन

‘डोल्पो ओ डोल्पो’ यात्रा संस्मरणात्मक कृति भएकाले यसमा आख्यानजस्तो निश्चित कथावस्तु, पात्र र परिवेशको सुनियोजित तारतम्य र लेखकको निश्चित उद्देश्य प्रस्तुत गर्ने बग्गीको घोडेयात्रा सम्भव छैन । पात्रहरूको सुनियोजित आयोजना नभएकाले भ्रमण गर्ने सिलसिलामा गाउँ समाजमा जे–जस्तो रूपमा जे–जस्ता सामाजिक अवस्थाका मानिसहरू भेटिए तिनैलाई समस्यागत रूपमा प्रतिनिधित्वका रूपमा ग्रहण गरिएको छ । यस कृतिले शीर्षकअनुसार नै डोल्पा जिल्लाको भ्रमण सन्दर्भलाई आफ्नो मूल विषयवस्तु बनाएकाले डोल्पाभित्र देखिने विशिष्ट व्यक्ति र समुदायको प्रतिनिधित्व यसमा गराएको छ । 

‘डोल्पो ओ डोल्पो’ नियात्राले नेपाली समाजको नारी पुरुषको सामान्य सामाजिक व्यवस्थाभन्दा फरक नारीप्रधान समाजका पुरुषहरूको प्रतिनिधित्व गराएको छ । यसमा पुरुषप्रधान समाजका उपेक्षित, दमित र आर्थिक रूपमा अधिकारविहीन नारीका विपरीत नारीप्रधान समाजका केन्द्रीकृत, सशक्त दमक र आर्थिक रूपमा सबल, आर्थिक गतिविधिका नियन्त्रक नारीको प्रतिनिधित्व गराइएको छ । यसै गरी पतिहरूको अवस्था पुरुषप्रधान समाजका नारीहरूको रहेको छ । विशेष गरेर माथिल्लो डोल्पातिर नारीबाट नियन्त्रित पुरुष पात्रको प्रतिनिधित्व गराइएको छ । नारीले बहुविवाह गर्ने र केटीका घरमा गएर केटाहरूले बस्नुपर्ने सामाजिक मान्यताभित्रका पुरुषको प्रतिनिधित्व गराइएको छ । ‘जेठोलाई बिहे गरेको तीन वर्षपछि— हामीसँगै नाच्यो, यसले पनि । नाचेको गाएको मन प¥यो । शरीर मन प¥यो । मसँग बिहे गर्छस् मेरो जेठो पोई यही हो भनँे । तिमी लान्छ भने जान्छ भन्यो । तिमीलाई काममा सजिलो हुन्छु यसलाई सोकह्या (सौता) बनाएर लैजाऊँ भने । ...जेठोले मान्यो’ (पुडासैनी, पृ.३१०) । प्रस्तुत उद्धरणमा उल्लेख भएझैँ डोल्पामा पुरुषहरूको अवस्था नेपाली अन्य समाजको जस्तो छैन । उनीहरू महिलाको इच्छा अनुसार विवाह बन्धनमा बाँधिने र नारीले अरु पुरुष मन पराए वा बहुविवाह गरे पनि सहनुपर्ने पीडित अवस्थामा रहेका छन् । पुरुषको नाइँनास्तीले नारीको अन्य पुरुषसँगको सम्बन्धलाई असर नगर्ने भएकाले उनीहरू नारीका सहयोगी, कामदार र सम्पत्ति कमाउने साधन मात्र भएर बसेका छन् । पुरुषहरू नारीका अगाडि कुरा गर्न लजाउने, नारीहरू अन्य पुरुषसँग हात हालेर जिस्किने, पुरुषहरूले त्यसलाई हेरेर रमाइलो मान्नुपर्ने, बाहिरबाट गएका ठुलाठालु र लामाले श्रीमतीका अङ्ग चलाइदिए खुसी हुनुपर्ने, घरज्वाइँ बसेर सास्ती खेप्ने पीडित पुरुषको प्रतिनिधित्व गराइएको छ । यसरी यस नियात्रामा नारी प्रधान समाजका निरीह पुरुषहरूको प्रतिनिधित्व गराइएको छ । 

सोझा र सरल जनताहरू, रोगका कारण र निदानका उपाय बुझाउन नसक्ने डाक्टरहरू र सर्वशक्तिमान् देवताका अवतार धामीहरूको प्रतिनिधित्व यस कृतिमा गराइएको छ । सरकारी दरबन्दीमा जागिर खान गएका आयुर्वेदिक र एलोपेथिक डाक्टरहरूले डोल्पाका जनताका रोग र त्यसको उपचारका उपायहरू बताए पनि जनताहरू अन्तिम समाधानको खोजी गर्न धामीसँग पुग्ने र धामीका उटपट्याङ गतिविधिले अकालमा मृत्युवरण गर्न बाध्य छन् ।

यसरी नै गरिबीले जकडिएका निरीह व्यक्तिहरूको प्रतिनिधित्व यसमा गराइएको छ । ‘होटल सुनिता अघिल्तिर एउटा १०–११ वर्षे बहिनी स्याउ बेच्दै छिन् । विद्यालय जानुपर्ने बहिनी स्याउ बेच्दै छिन् । स्याउ बेच्दै होइन व्यथाको बिस्कुन सुकाउँदै छिन् तिनी’ (पुडासैनी, पृ. ६४) । आर्थिक अभाव, बिरामी आमा, आफूभन्दा साना भाइबहिनीको खानपानको व्यवस्था आदि सामाजिक दायित्वले थिचिएकी १०–११ वर्षिया बालिकाको पीडा भोग्ने असङ्ख्य डोल्पालीको प्रतिनिधित्व उनले गरेकी छन् । विकट भूगोल, सामाजिक चेतनाको अभाव, आर्थिक उपार्जनको स्रोत नहुनु आदि कारणले उत्तरदायित्वबाट विमुख हुने, अलिकति पैसा र फुर्सद हुनेबित्तिकै जाँड–रक्सीमा मस्त हुने पुरुषहरूको पनि यस नियात्राले प्रतिनिधित्व गराएको छ । कलिलै उमेरमा विवाह बन्धनमा बाँधिने, अनियोजित सन्तान जन्माउने, रोग–व्याधीले जीर्ण शरीर भएका, सन्तुलित आहाराको कमीले असमयमै वृद्ध देखिने, निम्न आयस्रोत भएका महिलाहरूको प्रतिनिधित्व पनि यसमा गराइएको छ । सन्तान जन्माउने उद्देश्यलाई स्पष्ट पार्दै कलिलै उमेरमा आमा बनेकी एक युवतीको भनाइ यस प्रकारको छ, ‘जति छोराछोरी भए त्यति धेरै यारचा ल्याउँछन् । केको चिन्ता ? छोराछोरी जन्माउ, यारचा कमाउ’ (पुडासैनी पृ. ३०७) । सन्तान जन्माउन र पालनपोषण गर्न समस्या भए पनि हुर्किएपछि यार्चा गुम्भु टिप्ने र प्रशस्त पैसा कमाउने आशामा बर्गेल्ती सन्तान जन्माउने डोल्पाली मानसिकताको प्रतिनिधित्वले त्यहाँको जनजीवनको वास्तविकतालाई स्पष्ट पारेको छ । जीवनमा समस्याका पोका बोकेर धामीका अगाडि लम्पसार परेका सर्वसाधारणको जीवनलाई तलको भनाइले स्पष्ट पारेको छ । ‘बाहिरपट्टि चिसो माटे छानामा पल्टिएका छन् शारीरिक र मानसिक रोगीहरू दुःख पाउनुको कारण खोतल्न त्यहाँ पुगेका छन्, अन्यायमा परेका न्याय खोज्न पुगेका छन्, सपनाको अर्थ र विपनाको बाटो भेउ नपाएर गाँठो फुक्ने आशामा पुगेका पनि छन्’ (पुडासैनी पृ.११०) ।

सोझा र सरल जनताहरू, रोगका कारण र निदानका उपाय बुझाउन नसक्ने डाक्टरहरू र सर्वशक्तिमान् देवताका अवतार धामीहरूको प्रतिनिधित्व यस कृतिमा गराइएको छ । सरकारी दरबन्दीमा जागिर खान गएका आयुर्वेदिक र एलोपेथिक डाक्टरहरूले डोल्पाका जनताका रोग र त्यसको उपचारका उपायहरू बताए पनि जनताहरू अन्तिम समाधानको खोजी गर्न धामीसँग पुग्ने र धामीका उटपट्याङ गतिविधिले अकालमा मृत्युवरण गर्न बाध्य छन् । यो अवस्थालाई परिवर्तन गर्न नसकेर मनमा आत्मग्लानि बोकेर केवल सरकारी जागिर मात्र खानका लागि डोल्पा बसेका डाक्टरहरूको मानसिकता यसमा देखाइएको छ । अर्कातर्फ सर्वसाधारण जनतामा मानसिक त्रास उत्पन्न गराएर ऐश–आरामको जीवन बिताउन पल्केका धामीहरूको चित्रणले डोल्पाको सामाजिक अवस्थाको अन्धकारतालाई देखाइएको छ । यसै गरी यस नियात्रामा विभिन्न जातजाति, धर्म संस्कृति र परम्पराको पनि प्रतिनिधित्व गराइएको छ । यसमा ब्राह्मण, क्षेत्री, ठकुरी, मगर, लामा, तिब्बती आदि विभिन्न जातिहरूको भेदभावरहित बसोबास, हिन्दु, बौद्ध र बोन पो’ धर्मका मानिसहरूको मिश्रित संस्कृति मान्ने मानिसहरूको प्रतिनिधित्व छ । केवल दुर्गममा जागिर खाएको कागज बनाएर बढुवा खान आएका पाहुना कर्मचारी, डोल्पाका सुरा र सुन्दरीमा भुलेर यहीँका रैथाने बनेका कर्मचारी र डोल्पालाई कर्मथलो बनाएर यसैको प्रगति, उन्नति र विकासको सुनौलो सपना देख्ने असल कर्मचारीहरूको प्रतिनिधित्व पनि यसमा गराइएको छ । राजनीतिका नाममा कर्मचारीसँग मिलेर विकास बजेटहरू बाँडेर खाने राजनीतिक पार्टीका नेता कार्यकताहरूको चित्रण गरेर डोल्पाली राजनीतिकोे वास्तविकता देखाइएको छ । ‘शून्यमै जन्मिएर, शून्यमै बिलाउने जीवनहरू भेटिन्छन् डोल्पामा नकुनै फरक नकुनै परिवर्तन’ (पुडासैनी पृ. ७६) । प्रस्तुत उद्धरणको वास्तविकताका कारक र कारणहरूको प्रतिनिधित्व पनि यस कृतिमा गराइएको छ । मितेरी साइनोको व्यापकता डोल्पाभरि पाइन्छ । हित गर्ने मात्र मित हुन सक्छ भन्ने उनीहरूको दृढ विश्वास छ । मितले कुभलो गर्दैन भन्ने जनविश्वासले मितमितिनीका बिचमा शारीरिक र मानसिक भिन्नता नगर्ने डोल्पाली संस्कृतिको प्रतिनिधित्व पनि यस कृतिले गराएको छ । 

प्रस्तुत नियात्राले डोल्पा जिल्लाभरिका विभिन्न क्षेत्र र समाजमा भएका व्यक्ति र समाजको प्रतिनिधित्व यथार्थ रूपमा गराएको छ । समाजका आर्थिक रूपमा सम्पन्न र विपन्न वर्ग, लैङ्गिक रूपमा महिला र पुरुष, जातिगत रूपमा तथाकथित उच्च र निम्न वर्गका व्यक्ति, शोषक र शोषित, पठित र अपठित, कर्मचारी र सेवाग्राही सबैका समस्या र बाध्यतालाई प्रस्तुत गर्न तिनीहरूको यथोचित प्रतिनिधित्व यसमा भएको छ । प्रतिनिधित्वका दृष्टिले यसले डोल्पा जिल्ला र त्यहाँको समग्र वस्तुस्थिति एवं जनजीवनलाई समेटेको छ । 

  • प्रभुत्व 

प्रस्तुत ‘डोल्पो ओ डोल्पो’ नियात्रा कृतिले डोल्पाली समाजभित्र रहेका विभिन्न प्रकारका प्रभुत्वको चित्र प्रस्तुत गरेको छ । डोल्पा भौगोलिक रूपमा विकट भएकाले अन्य सुगम ठाउँबाट अलग भएको यथार्थ हो । यसको सामाजिक संरचना र सांस्कृतिक मान्यताले यसलाई देशका अन्य भूभागभन्दा अलग बनाएको छ । यस नियात्रामा भ्रमण कर्ताले वर्णन गरेका विषय सन्दर्भका आधारमा यहाँ विभिन्न प्रकारका प्रभुत्वको स्वरूप स्पष्ट देख्न सकिन्छ । डोल्पामा मान्छेले आफ्नो प्रभुत्व कायम गर्नका लागि मान्छे नै मान्छेका लागि विषालु सर्प बनेका छन् र मान्छेकै सपनाहरू टोकिरहेका छन्, (पृ. २१) । मान्छेका व्यवहारले मान्छेहरूले सुख र सन्तोष नपाउने चलनलाई यस नियात्राले उदाङ्गो पारेको छ । डोल्पाली समाज नारी प्रधान समाज रहेको छ । सामान्यतया पुरुषप्रधान समाजमा महिलाले भोग्नुपरेका पीडाको वर्णन गरेका र नारीपीडाको दर्शन गरेका आम पाठकलाई नारीप्रधान समाजको कल्पना सुन्दर र रमाइलो लागे पनि त्यसको वास्तविकता भोग्ने पुरुषहरूको पीडा र व्यथा अलग छ । शक्तिमा भएको व्यक्ति वा वर्ग जो भए पनि उसको प्रभुत्व भयावह हुन्छ भन्ने कुरा नियात्राले देखाएको छ । नारीहरूको प्रभुत्वका कारण पुरुषहरू दमित, उपेक्षित र पीडित बनेका छन् । महिलाहरू आर्थिक रूपमा सबल र मुख्य आर्थिक क्रियाकलापका सञ्चालक भएकाले घरको चलअचल सम्पत्ति उनीहरूकै नियन्त्रणमा हुने र पुरुषले दायाँ बायाँ गरे घरबारविहीन हुनुपर्ने चित्र यसमा देखाइएको छ । डोल्पामा नारीहरूलाई बहुविवाह गर्ने छुट भएकाले उनीहरू शक्तिशाली र पुरुषहरू निरीह देखिन्छन् । 

‘महिलाले पुरुषलाई अन्याय गरे महिलालाई ठिक पार्नुपर्छ तपाईंले । मेरी श्रीमतीलाई झिकाएर मलाई घर बस्ने वातावरण मिलाइदिनुप¥यो । नत्र मैले घर खान गाह्रो छ हजुर । सधैँ लात्ती, सधँै मुड्की, सधैँ काठ, सधँै ढुङ्गा कति सहनु मैले । श्रीमतीले मात्र कुटे त सहुँला, श्रीमतीका दिदीबहिनी, आमाबाउले समेत ढाड भाँचिने गरी हान्नु ठिक भएन नि । एक दिन होइन दुई दिन होइन’ (पुडासैनी, पृ. ९८) । प्रस्तुत भनाइ एक घरज्वाइँ बस्ने पुरुषको पीडा हो । विवाह गरेर घरज्वाइँ राख्ने परिवारका सबैले दमन गर्ने चलन प्राय डोल्पाका अधिकांश स्थानमा रहेको छ । पुरुष प्रधान समाजमा महिलाले भोगेको बुहार्तनभन्दा भयावह दमन नारीले गर्ने भएकाले यहाँ नारीको प्रभुत्व स्पष्ट देखिन्छ ।

अन्य जिल्लाबाट डोल्पाली युवतीसँग विवाह गरेर घरज्वाइँ बसेका पुरुषहरूप्रति गरिने नारी दमन अझ भयावह देखिन्छ । एक घर–ज्वाइँको गुनासो— ‘म स्नातक पढेको मान्छे अनुशासन तोड्नु हुँदैन भन्नेमा सजग थिएँ । आखिर अस्ति शुक्रबार अर्को डोल्पाली ढ्वाँगे पो ल्याइछिन् भावनाले त्यसपछि के चाहियो र ? उनीहरू दुवै मिलेर मलाई कुटपिट गर्न थाले, खान पनि दिँँदैनन्, सुत्न पनि दिँदैनन्’ (पुडासैनी पृ.९९) । डोल्पाली समाजमा नारीले एकै घरका दाजुभाइसँग मात्र होइन, मन परेका जुनसुकै पुरुषहरूसँग विवाह बन्धनमा बाँधिन पाउने छुट छ । यति मात्र होइन, सन्तान जन्माउने कुरामा पनि महिलाहरू स्वतन्त्र छन् । ‘आफ्नो लोग्नेसँग भए पनि अरुको सँग भए पनि बच्चा जन्माउने तरिका एउटै भएपछि किन योसँग सुत्न हुन्छ, योसँग हुन्न भन्नु’ (पुडासैनी, पृ.४६) । सन्तान जन्माउने प्रक्रियामा सहयोगीको भूमिकामा मात्र पुरुषलाई राख्ने त्यस समाजमा महिलाको स्थान उच्च रहेको छ । बहुपति प्रथाका आडमा पुरुषप्रति हुने आक्रमण, पतिले थाहा पाउने गरी परपुरुषसँग गर्ने यौनसम्पर्क (पृ. १०२), जथाभावी यौन सम्पर्कबाट जन्मिएका बच्चालाई सडकमा छाडिदिने आमाका गतिविधिलाई डोल्पाले सामान्य रूपमा लिएको छ । यसरी हेर्दा सामाजिक, आर्थिक, पारिवारिक र यौनिक कुरामा पनि महिलाको प्रभुत्व कायम रहेको स्पष्ट देख्न सकिन्छ । 

‘डोल्पो ओ डोल्पो’ नियात्राले अर्को प्रभुत्वशाली शक्तिका रूपमा धामी–झाँक्रीलाई प्रस्तुत गरेको छ । डोल्पाली समाज शिक्षा र चेतनाका दृष्टिले पछाडि परेको छ । यस पछौटेपनको फाइदा धामी र झाँक्रीले उठाएका छन् । भूत, प्रेत, बोक्सी आदिको मनोवैज्ञानिक त्रास निर्माण गरेर सोझा जनतालाई धामीका शरणमा पु¥याउने र आफ्नो स्वार्थ पूर्ति गर्ने कुत्सित नियतले समाजमा धामीझाँक्रीको प्रभुत्व बढेको छ । धामीले रोगी वा बिरामीलाई सम्बोधन गर्ने ‘टोके’ शब्दले धामीको शक्ति र प्रभाव कस्तो छ भन्ने स्पष्ट पारेको छ । धामीका अगाडि जोखना हेराउने व्यक्तिलाई प्रयोग गरिने ‘टोके’ शब्दको अर्थ आमाबाबु नभएको, केही ज्ञान नभएको, शक्ति, क्षमता केही नभएको पशुजस्तै भन्ने हुन्छ (पुडासैनी पृ.१०७) । धामी सर्वज्ञ र सर्व शक्तिमान् बाँकी सबै निरीह भन्ने भाष्य निर्माणले धामीहरूको प्रभुत्व बढेको छ । 

डोल्पामा टाठाबाठाहरू नै धामी बन्न अग्रसर भएका छन् । धामी बन्नुको कारण नियात्राले यसरी स्पष्ट पारेको छ, ‘धामी धमिनी बनेपछि मिठो मसिनो खान पाइने, सबैलाई हप्काइदप्काइ गरेर ठालु दह्रिन पाइने, टन्न कमाउन पाइने’ (पुडासैनी,पृ.११५) । डोल्पामा धामीझाँक्री बन्नु कुनै देवता चढ्नु वा ईश्वरीय शक्ति जाग्रित हुनु होइन, समाजमा हैकम चलाउन, सुख–सुविधाको उपभोग गर्न र धन कमाउन कृत्रिम ऊर्जा निर्माण गर्नु हो । जनसामान्यका अज्ञानतामा खेलेर आफ्नो मनोकामना पूर्ति गर्नका लागि प्रभुत्वशालीहरू यस प्रथालाई जोगाइरहेका छन् । सर्वसाधारणका मन–मस्तिष्कमा जिउँदो देवताका रूपमा स्थापित गरेर आफ्नो स्वार्थमा तल्लीन व्यक्तिहरूले नै धामीको शक्ति देखाउन ‘धामीहरू, साक्षात् मस्टो देवता हुन्, उनीहरूको स्पर्श पाउने हो भने चिताएको पुग्छ ।’ (पृ. २७४) भन्ने भ्रम फैलाएका छन् । धामीले आफ्नो प्रभुत्व कायम राख्न विशेष अवसरमा देखाउने जङ्गली बर्बर व्यवहारले जनतामा त्रास र विश्वास बढाउन सहयोग गरेको छ । ‘बलिदिएको नजिकै लहरै भेडाहरू ल्याइयो । एक–एक धामीले एक–एक भेडा च्यापे, लडाए, दाँत गाडे भेडाको गर्धनमा केहीबेरमै भेडाहरू, छटपटाए, मरे । त्यही गर्धनबाट रगत पिए धामीहरूले’ (पृ.२७५) । 

यसरी निरीह भेडाहरूको आलो रगत पिएर मानिसमा त्रासको विकास गराउने र आफ्नो प्रभुत्व कायम राख्ने धामीको गतिविधिलाई नियात्राले उट्पट्याङ भनेको छ । ‘उट्पट्याङ वेशभूषा, उटपट्याङ भविष्यवाणी, उट्पट्याङ व्यवहारले धामीहरू जङ्गली युगका अवशेषजस्ता लागिरहेछन्’ (पृ. २८६) । सम्पूर्ण क्रियाकलाप जङ्गली युगका गरेर आपूmलाई देवताका रूपमा स्थापित गर्ने धामीको प्रभाव सरकारी कार्यालय र न्यायालयमा पनि परेको छ । एक प्रकारले डोल्पामा धामीहरू भनेका डाक्टर, प्रशासक सुरक्षाकर्मी विश्लेषक र न्यायाधीश सबैै हुन् । उनीहरूको वचनका अगाडि माथिका सरकारी निकायहरूको आदेश र परमादेश प्रभावहीन रहन्छन् । ‘प्रशासनिक काममा जिल्ला प्रशासन र स्थानीय प्रशासनले जे जस्तो प्रणाली अपनाए पनि धामीको स्वीकृतिबेगर जनता मान्नेवाला छैनन्’ (पृ. ११२) । जनता आफूविरुद्ध टाठाबाठाहरूले सुनियोजित रूपमा निर्माण गरेको प्रणालीलाई पनि आफ्नै जसरी स्वीकार गरिरहेको छ । 

यस नियात्रामा तथाकथित छुत र अछुतको भावनालाई पोषण पुग्ने अभिव्यक्तिबाट माथिल्ला वर्गको प्रभुत्वको स्वरूपलाई देखाउने प्रयास गरिएको छ । ‘दलितलाई भने दुध, दही दिन नहुने रहेछ । अस्ति खर्कमा दिएको, एउटा भैँसी ठहरै’ (पृ. ८१) । आफ्ना कारणले वा कुनै अन्य प्राकृतिक कारणले भएका घटनाको दोषारोपण निरीह दलित समुदायमाथि थोपरेर उनीहरूप्रति आफ्नो प्रभुत्व कायम गर्न खोज्ने समुदायको चरित्रलाई यसमा देखाइएको छ । उपल्लो जात भनाउँदाहरूको मानसिकताबाट उनीहरूको प्रभुत्व कायम छ भन्ने पुष्टि भएको छ । 

यसरी नै तल्लो डोल्पामा ठकुरीहरूको प्रभुत्वलाई देखाइएको छ । गरिबीको चपेटामा फसे पनि पुरानो राजसी स्वभाव र बोली वचन कायम राख्नु आफ्नो प्रभुत्वको परम्परा कायम राख्न खोज्नु हो । ‘ओहो राजा पाटनमा होइसिन्छ । चौँरी भने घर फर्किसके हाम्रो राजा पनि कस्तो भन्या–गोठालालाई गाईको पत्तै छैन । सके ठर्रामा मस्त भइस्यो होला’ (पुडासैनी, पृ.३३८) । गोठाले जीवन, रक्सीमा मस्त, कर्तव्यको पालना छैन तर सम्बोधन राजाको र लबज राजसी गर्नुपर्ने ठकुरीहरूको स्वभावबाट उनीहरूको प्रभुत्व कायम छ भन्ने देखाइएको छ । डोल्पाका ठकुरीहरूमा अर्को जिल्लाका युवतीसँग विवाह गर्ने र माइत जान नदिने चलन रहेछ । घरमा गरिबीको चपेटा, प्रशस्त छोराछोरी, श्रीमान् जँड्याहा तर पनि राजसी व्यवहार गर्नुपर्ने महिलाको पीडा यसमा देखाइएको छ । ‘कर्नालीका ठकुरीहरू सकेसम्म टाढाका युवतीहरू बिहे गर्छन् र जीवनभर माइत जान दिँदैनन् । गुँड छाडेर बिदेसिएको चराको बचेराजस्तै त हो कालीतिरका बुहारीको व्यथा’ (पुडासैनी पृ.३३८) । डोल्पाका अरु जाति र वर्गमा नारी प्रधानता भए पनि ठकुरीहरूका परिवारमा महिलाप्रति पुरुषकै प्रभुत्व रहेको देखाइएको छ ।

प्रस्तुत नियात्रामा स्वयं डोल्पा भने केन्द्रको प्रभुत्वबाट पीडित भएको यथार्थ झल्किन्छ । आपूmभित्र प्राकृतिक खजानाका अजस्र स्रोत र साधनहरू भएर पनि सधैँ उपेक्षित र अपहेलित छ डोल्पा । ‘भूगोलले हिमाली जिल्ला बनाएको छ डोल्पालाई । शासकले दुर्गम जिल्ला बनाएको छ डोल्पालाई । टाढैबाट अजङको पदवी दिएर अनकन्टार अक्षम र असमर्थको उपमा चढाइरहेछन् र असहायको पगरी गुथाएर हेपिरहेछन् डोल्पालाई’ (पृ.३१५) । डोल्पा आफैंमा समृद्ध र सिङ्गो मुलकलाई समृद्ध बनाउन सक्ने प्राकृतिक स्रोत र विभिन्न संस्कृतिका कारण उज्यालो प्रकाश छर्न सक्ने भए पनि आफ्नो सामथ्र्य र शक्तिलाई चिन्न नसकेर शासकहरूले अपमानित गरेर दिएका पदवीहरूलाई सत्य मानेर झोक्राइरहेको छ । ‘आफ्नै विनाबाट बास्ना आइरहेको बेला अन्यत्रबाटै आइरहेको ठानेर सुगन्ध खोज्न भौतारिरहेछ’ (पृ.११५) । 

यसरी डोल्पा आफ्नो महत्त्व र आफ्नो क्षमताको भेउ नपाउने निरीह बन्दा केन्द्रबाट सधैँ उपेक्षित भएको छ । यहाँ पाइने सम्पूर्ण रस चुसेर खोक्रो बनाउने तर सट्टामा केही नपाउने डोल्पाको निरीहतालाई यसमा देखाइएको छ । ‘जसजसले जेजे भेटे डोल्पामा, हत्तपत्त पु¥याए दूरप्रदेशका सहरहरूमा । डोल्पा भने सधैँ गहना लुटिएकी बुहारीको नियति भोगिरहिछिन्’ (पृ.३२३) । डोल्पा जिल्लाभरि भ्रमण गर्दा लेखकले प्राप्त गरेको यथार्थ माथिको कथनबाट अभिव्यक्त भएको छ । डोल्पालाई सडक सञ्जालले नजोड्नु, शिक्षा र चेतनाको प्रकाश नपु¥याउनु, त्यहाँका पर्यटकीय महत्त्वलाई विश्वसामु पु¥याउन नसक्नु, औषधीय गुणले भरिपूर्ण जडीबुटीहरूको उचित उपयोगको वातावरण बनाउन नसक्नु, डोल्पाली संस्कृति र संस्कारका सबल पक्षलाई आत्मसात गर्न र विकृतिलाई हटाउन नसक्नु, जनताका कहरहरूलाई सुखमा बदन्न नसक्नुजस्ता केन्द्रीय सत्ताको कमजोरी लुकाउन सधैँ डोल्पालाई ‘दुर्गम’ भनेर अपमानित र अपहेलित गर्ने कामप्रति यस नियात्राले आवाज उठाएको छ । 

 प्रस्तुत नियात्रामा डोल्पा जिल्लाभरि छरिएर बसेका विभिन्न समुदायका व्यक्तिहरूको फरक–फरक धर्म, संस्कार र संस्कृतिसहित सामाजिक व्यवहार पनि अलग भएको देखाइएको छ । नियात्राकारले डोल्पाको भ्रमण गर्दा प्रत्यक्ष देखेका सामाजिक अवस्थाका आधारमा यसमा विभिन्न प्रकारका शासक र शक्ति केन्द्रहरूका स्वरूप देखाएका छन् । शक्तिका केंद्रमा रहेका व्यक्ति र समुदायले किनारामा पारिएका व्यक्ति र समाजप्रति गर्ने व्यवहारका आधारमा प्रभुत्वको निर्धारण गरिएको छ । सांस्कृतिक परिवेशको वर्णन र सत्ता र शक्तिको चित्रणका दृष्टिले प्रस्तुत ‘डोल्पो ओ डोल्पो’ नियात्रालाई उत्कृष्ट रचना मान्न सकिन्छ ।

  • पहिचान 

‘डोल्पो ओ डोल्पो’ नियात्रामा प्रभुत्वशाली वर्गका विरुद्धमा आवाज उठाएर प्रतिकार गर्ने र आफ्नो पहिचान स्थापित गर्न खोज्ने व्यक्ति, जाति वा वर्गको अवस्था कमजोर छ । यसमा प्रभुत्वशालीले आफ्नो प्रभाव विस्तार गर्न निर्माण गरेका सम्पूर्ण उपाय र विधिलाई किनारामा पारिएकाहरूले आत्मसात गरेको देखिन्छ । प्रबल र सशक्त रूपमा पहिचानको आवाज नउठे पनि क्रमिक रूपमा समाज सचेत बन्दै गएको सङ्केत भने देख्न पाइन्छ । शक्तिहरूका अगाडि सोझै प्रतिकार र प्रतिशोध नगरे पनि अप्रत्यक्ष र सामूहिक चर्चाहरू र बहस हुन थालेका छन् । विशेष गरेर नियात्राकारका सम्पर्कमा आएका पात्रहरूमा त्यसप्रकारको चेतनाको स्वरूप देख्न पाइन्छ । नियात्राकारका आफ्ना टिप्पणीहरूमा पहिचानका पक्षहरू सशक्त रूपमा देखिन्छन् । ‘दिमागमा जमेका फोहरका लाप्साहरू झ¥यामझुरुम फुटाएर चेतनाको नयाँ बिउ उमार्न अघिबढेको छु म’ (पृ.२१) । समाजमा देखेसुनेका सम्पूर्ण विकृतिको जड अज्ञानता भएकाले त्यसमा चेतना भरियो भने मात्र ठुलाठालुहरूले अमृत भनेर पिलाइरहेको विषको घडा फोड़्न सकिने भएकाले त्यस कार्यमा आफू निरन्तर लागिरहने उद्घोष नै यस नियात्राले प्रस्तुत गरेको पहिचानको स्वरूप हो । ‘डोल्पो ओ डोल्पो’ नियात्राले मानिसका दिमागमा सदियौँदेखि जमेर बसेका फोहोरका लाप्साहरूलाई फुटाएर फाल्ने उद्घोष गरेको छ । मन्दिरका गुठीहरूलाई स्वार्थमा प्रयोग गर्ने र अन्धविश्वासको जालमा सर्वसाधारणलाई फसाइराख्ने परम्परित सोच र मान्यतामा परिवर्तन गर्न यस नियात्राले धार्मिक गुरु र धार्मिक संस्था सञ्चालकहरूविरुद्ध विद्रोह गरेको छ । ‘मन्दिरको गुठीबाट आएको आयस्ता समाजका दुखी, गरिब, हेपिएका र चेपिएका मान्छेको उत्थानका लागि खर्च गर्न सुरु गर्नुहोस् । तब पो झल्कन्छ मन्दिरको महत्त्व । मन्दिरलाई अब देवता पुज्ने थलो होइन, समाज विकासको केन्द्र बनाइयो भने मात्र टिक्छ मन्दिर’ (पृ. ६८) । 

प्रस्तुत भनाइले देवीदेवताका रहस्यात्मक कहानी सुनाएर पशुबलि दिन लगाउने, दानदातव्य र भेटी सङ्कलन गर्ने अनि सीमित टाठाबाठा पालितपोषित हुने चलनप्रति धावा बोलेर अब मन्दिर समाजसेवाको केन्द्र बन्नुपर्छ भन्ने नवीन धारणा प्रकट गरेको छ । धार्मिक अन्धविश्वासको आधार बनाएर मन्दिरमा पैसा र मिष्ठान्नको जोहो गर्ने परम्परालाई परिवर्तन गरेर परलोक हैन इहलोक सुरक्षित गर्नु पर्छ भन्ने कुरालाई स्थापित गर्न नियात्रा सफल भएको छ । मन्दिर र भगवान् मानिसका कल्पनाका उपज भएकाले भगवान् खुसी हुँदा राम्रो र रिसाउँदा नराम्रो गर्छन् भन्ने विश्वासलाई नियात्राले भत्काउन खोजेको छ । ‘मान्छेको कल्पनामा जन्मेका ईश्वरले न प्रकृतिमा विनाश निम्त्याउन सक्छ न रोक्न नै’ पुडासैनी पृ.७९) । 

यसरी ईश्वरलाई सर्वशक्तिमान् संसारको सृष्टि, स्थिति र प्रलयको कारक मान्ने संस्कृतिप्रति यसले विद्रोह गरेको छ । दलित र गैरदलितका निम्ति पुज्ने मन्दिर र पुजिने ईश्वर नै अलगअलग निर्माण गर्ने डोल्पामा भगवान्ले मान्छेको स्तरअनुसार गर्ने फरक व्यवहारप्रति रोष व्यक्त गरिएको छ । भगवान् छन् र उनको काम प्राणीको रक्षा र पालनपोषण गर्ने हो भने त्यही भगवान्ले कसरी तल्लो र माथिल्लो जाति भनेर भेदभाव गर्न सक्छ । मान्छेका बिचमा भेदभाव गरेर आफू दुई मन्दिरमा बस्ने भगवान् मानवनिर्मित मात्र हुन सक्छ । टाठाबाठाको कल्पनाप्रति प्रश्न उठाउनु र हरेक मानिस बराबर हुन् भन्ने चेतना प्रवाह गर्नु यस नियात्राको महत्त्वपूर्ण प्राप्ति हो । गुम्बा, मन्दिर, मस्जिद र चर्चमा पूजापाठ, ध्यान, सङ्कीर्तनमा समय खेर फाल्नेहरूले संसारलाई निस्सार भनेर आत्मसुखको साधन नबनाई सर्वजन हितायको भावनाले संसारलाई ज्ञानको उज्यालो मार्गमा हिँडाउने प्रयास गर्नुपर्छ । धार्मिक स्थलहरू ज्ञान र चेतना फैलाउने प्रकाशपुञ्जका स्रोत हुनु पर्छ अन्धविश्वासका जनक होइन । यसरी डोल्पालाई यस नियात्राले आफ्नो पहिचान प्राप्त गर्न पुरातन मूल्यमान्यता र सीमित प्रभुत्वशालीहरूको प्रभुत्वप्रति प्रतिकार गर्न प्रेरित गरेको छ । 

धामी र बोक्सीको गोलचक्करमा फसेको डोल्पाको जनजीवनलाई नजिकबाट आत्मसात गर्दै नियात्राले धामीधमिनीको स्वार्थी चालप्रति तिखो प्रहार गरेको छ । साक्षात् देवताको पगरी गुथेर समाजमा हैकम जमाउने धामीहरूको वातस्तविकतालाई नियात्राले यसरी उदाङ्गो पारेको छ । ‘धामी धमिनी समाजका टाठाबाठाले ओगटेको पदवी हो । समाजका कमजोर, गरिब, दुःखी, असहाय, निर्बल मान्छेलाई दोष लगाएर, उसको कमजोरीमा तरङ्ग, ल्याएर, हुँदै नभएका काल्पनिक बादलहरू उडाएर खाने खेल हो’ (पृ.११५) । धामीधमिनीहरू अरूको कमजोरीको फाइदा उठाउन पल्केका जाली फटाहाहरूको समूह हो भन्ने स्थापित गराउन नियात्रा सफल भएको छ । अरूको समस्याको समाधान दिन जोडबलले काम्ने धमिनीको श्रीमान् रातदिन रक्सी खाएर जतासुकै लडेको प्रसङ्ग उल्लेख गरेर धामी प्रथा ढोँगी प्रथा हो भन्ने सिद्ध गरिएको छ ।

डोल्पा यातायातका पहुँच र शिक्षाको अभावले मूल प्रवाहबाट कोल्टे परेकाले सर्वसाधारण जनताप्रति सीमित टाठाबाठा र शक्तिशालीहरूको प्रभुत्व कायम रहेको देखिन्छ । जनचेतनाका कारण परम्परित रूपमा स्थापित शक्ति र सत्ताले आफ्नो वर्चस्व कायम राख्न उत्पीडनका स्वरूपहरू सुरक्षित, राखेका छन् भन्ने कुरा नियात्रामा स्पष्ट उल्लेख छ ।

प्रस्तुत नियात्राले डोल्पालाई दुहुनु गाई बनाएर रस चुस्ने र दुर्गम भनेर उपेक्षा गर्ने समुदायलाई सचेत बनाएको छ र डोल्पाले पहिचान खोजेको सङ्केत गरेको छ । ‘डोल्पाले भयानक रेनेसाको खोजी गरिरहेछ र बिउँताउन खोजिरहेछ आगोको नयाँ मुस्लोलाई । डोल्पोका सबै हिमालहरू अग्नि विस्फोटको पूर्वाङ्गमा छन् । व्यर्थ छ आगोको ज्वालामुखी रोक्न खोज्नु डोल्पोको पिठिउँमा बुई चढेर’ (पृ.२४२) । प्रस्तुत उद्धरणबाट डोल्पा अब आफ्नाविरुद्ध क्रियाकलापहरूसँग विद्रोह गर्न जुर्मुराउन खोज्दै छ भन्ने सन्देश बुझ्न सकिन्छ । गरिबी, अज्ञान, अन्धविश्वास, दुर्गम आदि कारणले पछि परेको डोल्पा आफैंभित्र विद्रोहको ज्वालामुखी हुर्काउन खोजिरहेको छ । अब कसैले डोल्पाको बुई चढेर उक्त विद्रोहको ज्वालामुखी रोक्न खोज्नु व्यर्थ प्रयास हुने छ । डोल्पो हेपिएको, पछाडि पारिएको, अपहेलित भएको, चुसिएको वास्तविकता बुझेर आफ्नो अस्तिव कायम गर्न भयङ्कर ज्वालामुखी विस्फोट गर्न र विद्रोह गर्न तयार हुँदै छ भने भाव अभिव्यक्त भएको छ ।

ताल तलैया, झर्ना, हिमाल, असङ्ख्य जडीबुटी, विभिन्न प्रकारका चाडपर्व, संस्कृति, परम्परा, रहनसहन, उच्च हिमाली गाउँ, आरक्षण, विशिष्ट प्रकारका अन्नबाली, आदि विभिन्न विशेषताले भरिपूर्ण तर केही धार्मिक, केही रूढि, अलिकति जाँडरक्सी, थोरै गरिबी, धेरै शिक्षाको कमीका कारण सधँै समस्यामा फसेको डोल्पालाई सधैँ यसरी आफ्नो पछौटेपनको भारी बोकेर बाँच्नु हुँदैन र जाग्नुपर्छ भन्ने उत्साह भर्ने र आफ्नो पहिचान आफैँले कायम गर्नु पर्छ भनी प्रेरित गर्ने काम यस नियात्राको गरेको छ । ‘असङ्ख्य भण्डारको साँचो खोल्नै नसकेर चुपचाप बसेका छन् डोल्पाली हातहरू । आँखाहरू स्वयं गहमा थुप्रिएका आँसुको चट्टानले कोपरिएका छन् । अँचटिएर कतिञ्जेल हिँडिरहने तिमी पुरानो र भत्किएको बाटो । ...डोल्पो तिमी आफैं जुर्मुराउनुपर्छ अब आफ्नै पखेँटाहरू दह्रो पार्न’ (पृ.२४७) । 

अब डोल्पालीहरूले आँखामा आँसु हैन ज्वालामुखी उमार्नुपर्छ, खजानाको साँचो खोल्ने उपाय खोज्नुपर्छ, पुराना र भत्किसकेका रुढी र अन्धविश्वासका बाटाहरूलाई आधुनिक सोचसहित पुनर्निर्माण गर्नुपर्छ, अरूले घिच्याएका भरमा लघारिने हैन आफ्ना प्रगतिका पाइला आफँै चाल्नुपर्छ, आफ्नो भविष्य निर्माण गर्न आफैँ सक्रिय बन्नुपर्छ, अब संसारमा घिस्रिने होइन आकाशमा उन्मुक्त उडनुपर्छ त्यसका लागि आफूलाई योग्य बनाउनु, आफ्ना साधनस्रोतका पखेँटाहरूलाई बलियो बनाउनुपर्छ । डोल्पाले हनुमानले जस्तै आफ्नो शक्तिलाई बिर्सिएको छ, यस नियात्राले जाम्बवन्त भएर डोल्पालाई उसको शक्ति र सामथ्र्यको पहिचान गराएको छ । ‘लडाइँ र जित हो, जीवन । लड्न नसक्ने र हार्नेले बाँच्नै सक्तैन बाँचे पनि क्षणक्षणमा मरिरहन्छ’ (पृ. १९०) । अब डोल्पाले जितको जीवन बाँच्नुपर्छ भनेर यसमा पुराना कमीकमजोरीविरुद्ध सङ्घर्ष गर्न उत्प्रेरित गरेर डोल्पाले आफ्नो स्वत्वको रक्षासहित नयाँ पहिचान स्थापित गर्नुपर्छ भन्ने विचार नियात्राले प्रस्तुत गरेको छ । 

  • निष्कर्ष

‘डोल्पो ओ डोल्पो’ सांस्कृतिक अध्ययनका दृष्टिले महत्त्वपूर्ण रचना हो । डोल्पा जिल्लाको भ्रमण वृत्तान्त प्रस्तुत गर्ने नियात्राकारको हुटहुुटीले सृजित यस रचनाले त्यहाँको सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक र लोकपराम्परालाई सजीव रूपमा देखाएको छ । यस कृतिमा सरकारी काम, पर्यटकीय भ्रमण, मेला र जात्राको अवलोकन गर्दै त्यस ठाउँमा रहेका व्यक्ति, वर्ग, समुदाय र समाजको प्रतिनिधित्व उपयुक्त तरिकाले गराइएको छ । डोल्पाली समाजको छायाछवि प्रस्तुत गर्न र त्यहाँभित्रका समाजको सबल र दुर्बल पक्ष देखाएर सुधारात्मक सन्देश प्रवाह गर्ने नियात्राकारको उद्देश्य रहेकाले त्यसका लागि सम्पूर्ण पक्षको प्रतिनिधित्व गराइएको छ । 

डोल्पा यातायातका पहुँच र शिक्षाको अभावले मूल प्रवाहबाट कोल्टे परेकाले सर्वसाधारण जनताप्रति सीमित टाठाबाठा र शक्तिशालीहरूको प्रभुत्व कायम रहेको देखिन्छ । जनचेतनाका कारण परम्परित रूपमा स्थापित शक्ति र सत्ताले आफ्नो वर्चस्व कायम राख्न उत्पीडनका स्वरूपहरू सुरक्षित, राखेका छन् भन्ने कुरा नियात्रामा स्पष्ट उल्लेख छ । नारीप्रधान समाजमा नारीको दमन, पुरुषप्रधान समाजमा पुरुषको उत्पीडन, धामी र झाँक्रीले निर्माण गरेको त्रासदी, तथाकथित तल्लो र माथिल्लो जातिका लागि अलग मन्दिर निर्माण गरी प्रदर्शित उच्चता र निचताको भावना, सरकारी कर्मचारीको सेवाग्राहीप्रतिको रुखो व्यवहार आदि सम्पूर्ण प्रवृत्तिलाई प्रभुत्व कायम गर्ने कडीका रूपमा नियात्राले चित्रण गरेको छ । सदियौंदेखि उत्पीडन र दमन सहँदै आएका वर्गलाई आफूप्रति शोषण र दमन गर्ने स्वार्थीहरूप्रति अब चुप लागेर बस्नु हुँदैन र जेजस्ता तर्क र भ्रम निर्माण गरेर प्रभुत्व जोगाइराख्ने उपायहरूलाई उदाङ्गो पार्न नियात्रा सफल भएको छ । नियात्राले बहिष्कारमा परेका, शोषित, पीडित र उपेक्षितहरूलाई आपूmलाई किनारामा पार्ने वर्गप्रति ज्वालामुखीझैँ विस्फोटक भएर आफ्नो पहिचान र अस्तित्व स्थापित गर्न सङ्घर्ष गर्न उत्प्रेरित गरेको छ । समग्रमा प्रस्तुत नियात्रा सांस्कृतिक अध्ययनका दृष्टिले उत्कृष्ट रचना सिद्ध भएको छ ।

  • सन्दर्भ सामग्री

गिरी, अमर (२०७०) सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणा, भृकुटी, सम्पा. लिखत पाण्डे, काठमाडौं: भृकुटी एकेडेमिक पब्लिकेसन्स ।

जैन, निर्मला (सम्पा. ई १९९२) साहित्यका समाजशास्त्रीय चिन्तन दो.सं., दिल्ली: दिल्ली विश्वविद्यालय । 

पाण्डेय, ताराकान्त (२०७३) माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र.ललितपुर: साझा प्रकाशन । गौतम, कृष्ण (२०५९) आधुनिक आलोचना: अनेक रूप अनेक पठन (दो.सं.) ललितपुर: साझा प्रकाशन ।

पुडासैनी, दामोदर (२०७९) डोल्पो ओ डोल्पो. ललितपुर: साझा प्रकाशन । 

भट्टराई, गोविन्दराज (२०७०) सांस्कृतिक अध्ययन: वर्तमान् परिप्रेक्ष्य र दिशाबोध, भृकुटी, सम्पा. लिखत पाण्डे, काठमाडौं: भृकुटी एकेडेमिक पब्लिकेसन्स ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानु ढुङ्गेल
ज्ञानु ढुङ्गेल
लेखकबाट थप