मधेश सरकारमा कांग्रेसको आँखा, गृहमन्त्रीले कोट्याए सरकार फेरबदलको मुद्दा
सारांश
- मधेश प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने माग पुनः चर्किएको छ, रमेश लेखकले पार्टीले नेतृत्व पाउनुपर्ने अडान राखे।
- पार्टीका नेताहरूले जनमत पार्टीको नेतृत्वमा रहेको सरकारले राम्रो काम नगरेको भन्दै कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने आवाज उठाएका छन्।
- कांग्रेस भित्रै असन्तुष्टि बढेको छ, किनकी शीर्ष नेताहरूको भनाइ कार्यान्वयनमा आउन सकेको छैन र सहमति अनुसार सरकार परिवर्तन हुन सकेको छैन।
काठमाडौँ । मधेश प्रदेशमा सरकारको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने माग पुनः चर्किएको छ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले शुक्रबार मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने अडान कसेका हुन् । अर्थात् मधेस प्रदेश सरकारको नेतृत्व जनमतबाट कांग्रेसले हत्याउने कसरत हुन खोजेको बुझिएको छ ।
शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा उनले भने, ‘मधेश प्रदेशको सरकार पनि हामीले पालोपालो नेतृत्व गर्ने समझदारी भएको हो, परिवर्तन हुन्छ । कांग्रेसको लामो समयदेखि सरकार नबनेको गुनासो सही हो ।’
गृहमन्त्री लेखकको यो भनाइ नयाँ होइन । केन्द्रका शीर्ष नेताहरू मधेश प्रदेश पुगेका वेला बारम्बार यस्तै अभिव्यक्ति दिँदै आएका छन् । मधेशका कार्यकर्ताले सरकारमा कांग्रेसको उपस्थिति नहुनुमा असन्तोष पोखेपछि नेताहरूले त्यस्तो प्रतिक्रिया दिने गरेका छन् ।
पार्टीका महासचिव विश्वप्रकाश शर्माले समेत यसअघि सिरहाको लहानमा आयोजित कार्यक्रममा कांग्रेसले मधेश सरकारको नेतृत्व लिनुपर्ने र आलोपालोको सहमतिअनुसार कांग्रेसको पालो आइसकेको बताएका थिए । उनले जनमत पार्टी नेतृत्वको प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै वैकल्पिक सरकारको आवश्यकता औंल्याएका थिए ।
‘जनमतले साथ नदिए पनि कांग्रेस, एमाले र लोसपाको सहकार्यमा सजिलै सरकार गठन गर्न सकिन्छ,’ शर्माले भनेका थिए ।
यस्तै, गगन थापा, शेखर कोइरालालगायत अन्य शीर्ष नेताहरूले पनि मधेश सरकारको नेतृत्वबारे पटक–पटक आवाज उठाएका छन् । नेताहरूको यस्ता अभिव्यक्तिले मधेश प्रदेशका कांग्रेसी नेताहरूमा आशा पलाए पनि नेतृत्व भने पाउन सकेका छैनन् ।
कांग्रेसभित्रको असन्तोष
कांग्रेस केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुख किरण यादवले शीर्ष नेताहरूको भनाइ कार्यान्वयन नहुँदा समस्या बढेको बताइन् । ‘मैले पनि पटक–पटक पार्टीमा यो विषय उठाएकी छु । जनमतको नेतृत्वले संघीयता नै खतरामा पारेको छ, त्यसैले अब कांग्रेसले नेतृत्व लिनैपर्छ,’ संघीयता जोगाउन उनले कांग्रेसले मधेस सरकारको नेतृत्व लिनुपर्ने बताइन् ।

प्रदेश सभापति एवं सांसद कृष्ण यादवले पनि मधेशमा कांग्रेस सरकार बनाउने सहमति कार्यान्वयनमा आउनुपर्ने बताए । ‘हामी तयार छौं, तर केन्द्रमा भएको कुरा व्यवहारमा आउनुपर्छ,’ उनले भने । प्रदेश सांसद सुनिल यादवले सहमति कार्यान्वयनमा ढिलाइ हुँदा नेताहरूमा निराशा बढेको बताए। ‘शीर्ष नेताहरू आएर बोलेपछि त्यसको आधार र गम्भीरता हुन्छ । तर केन्द्रमा सहमति भएको हो भने त्यसलाई कार्यान्वयन गर्नुपर्छ,’ उनले जोड दिए ।
गठबन्धनभित्रको उल्झन
२०८१ असारमा कांग्रेस–एमालेबिचको गठबन्धनपछि मधेश प्रदेशको नेतृत्व जनमत पार्टीलाई छ । सहमतिअनुसार केही समयपछि कांग्रेसले नेतृत्व गर्ने भनिएको भए पनि एक वर्षभन्दा बढी भइसक्दा पनि जनमत पार्टीले सरकार छाडेको छैन । जसका कारण कांग्रेसमा असन्तुष्टि देखिएको हो ।
गृहमन्त्री लेखकले कांग्रेसका प्रदेश नेताहरूको गुनासोपछि सरकार परिवर्तन चाँडै हुने संकेत दिएका हुन् । प्रदेशदेखि केन्द्रसम्मका नेताहरूले जनमत नेतृत्वको सरकारले अपेक्षित विकास नगरेको आरोप लगाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण