तीनकुने घटना : ‘सुरक्षा कमजोरी’बारे छानबिन गर्न समिति गठन

काठमाडाैँ । काठमाडाैँको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थहरूले गरेको प्रदर्शनमा भएको ‘कमजोरी’ छानबिन गर्न समिति गठन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले एसएसपी शेखर खनालको नेतृत्वमा छानबिन समिति गठन भएको हो । उक्त समितिमा संयोजक खनालसहित ७ जना रहेका छन् ।
चैत १५ मा दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जना र आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
तीनकुनेमा सुरक्षा निकायको तर्फबाट ‘त्रुटि’ भएको निष्कर्षपछि त्यसबारे छानबिन गर्न समिति गठन गरिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘तीनकुनेमा भएको आन्तरिक कमजोरीबारे वरिष्ठ उपरीक्षक शेखर खनाल नेतृत्वको टिमले छानबिन सुरु गरेको छ ।’
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना माग्दै प्रदर्शन गरेका थिए । प्रदर्शनस्थलमा पुगेपछि दुर्गा प्रसाई मञ्चतर्फ नगएर ‘बागमती प्रदेश ०२७ च ३८४७’ नम्बरको गाडी हुइँक्याउँदै तीनकुनेबाट बानेश्वरतर्फ लागेका थिए ।
बागमती पुलमा तीन तहमा सुरक्षाकर्मीहरूले लगाएको ह्युम सिल तोड्दै प्रसाईं फरार भएका थिए । प्रसाईंको गाडी प्रहरी र सशस्त्रको ‘सिल’ तोडेर बागमती पुल कट्दा सेल्फ लोडिङ राइफल (एसएलआर) बोकेका सुरक्षाकर्मीहरू 'मूकदर्शक' झैँ बनेका थिए ।
प्रसाईंको गाडीले प्रहरीलाई नै किच्न खोजेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ । ट्राफिक नियमनका लागि प्रयोग गरिने ‘कोन’ चक्कामा अड्किएपछि प्रसाईं रोकिएका थिए । प्रदर्शन हिंसात्मक हुँदा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजक र कीर्तिपुर नगरपालिका–४ बस्ने २९ वर्षीय सविन महर्जनले ज्यान गुमाएका थिए ।
सञ्चार संस्था, भाटभटेनी सुपरस्टोर र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयसहित २२ वटा घर तथा कार्यालयमा तोडफोड भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । त्यसबाहेक ३९ वटा सवारीसाधन प्रदर्शनकारीले तोडफोड गरेका थिए ।
सम्भावित खतरा मूल्यांकन गर्न नसक्नु र प्रोएक्टिभ योजना नहुनु तीनकुने घटनाको सुरक्षा कमजोरी रहेको पूर्वएआईजी राजेन्द्र सिंह भण्डारीले बताए । भने, ‘रियाक्टिभ काम बढी भयो तर, रोक्नुपर्ने छेक्नुपर्ने कुरामा सुरक्षाकर्मीहरू चुकेका छन् ।’
जिल्ला प्रशासन कार्यालसँग अनुमति लिएर प्रसाईं नेतृत्वको समूहले तीनकुने चौरमा मञ्च बनाएको थियो । सभाको प्रमुख अतिथिका रूपमा पुगेका सुवेदी पुगेको केही मिनेटमै सुरक्षाकर्मीले मञ्चमा अश्रुग्यास प्रहार गरेका थिए ।
त्यसपछि परिस्थिति नियन्त्रबाहिर गएको प्रत्यक्षदर्शीहरू बताउँछन् । मञ्चमा अश्रुग्यास कसरी प्रहार भयो भन्नेबारे पनि समितिले छानबिन गरिरहेको छ । छानबिन प्रतिवेदनका आधारमा कमजोरी गर्ने सुरक्षाकर्मीमाथि कारबाही गरिने उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’