शिक्षकबिनै सम्भव छ कक्षा १२ को परीक्षा ?
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । वैशाख ११ गतेदेखि हुन गइरहेको परीक्षालाई कुनै पनि हालतमा सम्पन्न गराउने रणनीति सरकारको छ । त्यसका लागि जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी समेत परिचालन गर्नेसम्मको तयारी छ ।
शिक्षकहरू आन्दोलन गर्दै परीक्षामा सहभागी नहुने बताएपछि बोर्डले आवश्यक सबै संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको सबै तयारी पुरा भइसकेको बताए । बोर्डको तर्फबाट गर्नुपर्ने सबै काम सकिएको र परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षहरूको तर्फबाट समेत अन्तिम तयारी भइरहेको बताए ।
साढे ६ लाख विद्यार्थीले देशभरका एक हजार ५९० परीक्षा केन्द्रमार्फत परीक्षा दिन लागेका हुन् । त्यस्तै जापानमा समेत एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ नेपाली विद्यार्थी पठनपाठन गर्दै आएका छन् ।
परीक्षा सञ्चालनका लागि निजामती कर्मचारी नभई शिक्षाका कर्मचारीहरूले नै सञ्चालन गर्न लागेको उनको भनाइ छ ।

‘जहाँ जहाँ शिक्षकहरूले अवज्ञा गर्नुहुन्छ, त्यहाँ शिक्षा इकाई छन्, बोर्डिङहरू पनि छन् । शिक्षकहरू पनि छन्, कर्मचारी छन्,’ शर्माले भने, ‘लोकसेवाको परीक्षा कर्मचारीले चलाएका छन् । विद्यार्थीको परीक्षा समेत उहाँहरूले सञ्चालन गर्न किन नहुने । शिक्षासम्बन्धी जानेका अफिसर लेभलका कर्मचारी परिचालन गर्न सकिने भन्ने हो ।’
त्यस्तै स्थानीय तहहरू मातहतका समेत शिक्षक नियुक्त गरिएका र उनीहरूलाई समेत परिचालन गरिने उनको भनाइ छ । त्यस्तै क्याम्पसका शिक्षकहरूले समेत परीक्षामा सहयोग गर्ने बताए ।
बोर्डले स्थानीय पालिका र जिल्लास्थित परीक्षा समन्वय समितिलाई परीक्षासम्बन्धी आवश्यक व्यवस्था मिलाउनु भनेर पत्राचार गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिले जिल्लाभरका परीक्षा सहज रूपमा सम्पन्न गर्न आवश्यक समन्वय गर्ने उनको भनाइ छ ।
त्यस्तै गाउँपालिका महासंघ तथा नगरपालिका संघ र स्थानीय तहहरूलाई समेत परीक्षा सञ्चालनमा सहयोग माग गरिएको छ । जिल्लास्थित परीक्षा समन्वय समितिले उनीहरूसँग समेत समन्वय गरेर परीक्षा सहज रूपमा सम्पन्न हुने बताए ।
शिक्षकहरूले जबरजस्ती परीक्षा गरेको खण्डमा प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन् । शिक्षकबिना परीक्षा गराउने प्रयास गरिएको खण्डमा त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

तर, परीक्षामा प्रतिवाद गर्नु भनेको विद्यार्थीको भविष्यसँग प्रतिवाद गर्नु सरह हुने बोर्डको बुझाई छ ।
‘उहाँहरूको आन्दोलनभन्दा अगाडि नै कार्यतालिका निकालेको थियो । आफ्नै विद्यार्थीलाई मूल्यांकन गर्न दिनुहुन्न अवरोध गर्नुहुन्छ भने त के गर्न सकिन्छ ? त्यसको उपाय केही छैन । सहज रूपमा परीक्षा सञ्चालन गर्न दिनुहुन्छ भने ठिकै होला । कानुनी राज्यमा सबै कानुन अनुसार चल्नुपर्यो । कानुन नै हातमा लियो भने त के नै हुन्छ,’ उनले भने ।
परीक्षा कहिलेसम्म सार्नुपर्ने त्यो पनि अनिश्चित भएकाले विद्यार्थीहरूलाई कहिलेसम्म अन्योलमा राख्ने उनको भनाइ छ ।
बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गरे । आज बसेको बोर्डको बैठकले समेत त्यही निर्णय गरेको बताउँदै उनले भने, ‘परीक्षा संवेदनशील विषय हो । साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएको छ । त्यसैले हामी शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दछौँ ।’
विद्यार्थीहरू पनि समयमै परीक्षा होस् भन्ने चाहेको बताउँदै अध्यक्ष शर्माले शिक्षक महासंघ, शिक्षकहरू, अभिभावकहरू, जिल्ला परीक्षा समन्वय समितिलाई परीक्षाको वातावरण बनाउन अनुरोध गरिएको बताए ।
बोर्ड बैठकमा प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाएर परीक्षा चलाउन सकिनेमा जोड दिइएको थियो ।

सबै शिक्षकहरू आन्दोलनमा नआएको भन्दै उपलब्ध शिक्षकहरूलाई समेत परिचालन गर्न सकिने भन्ने विषयमा छलफल भएको थियो । जिल्लामा उपलब्ध शिक्षकहरूलाई केन्द्राध्यक्ष र निरीक्षक तोक्ने र शिक्षकहरू उपलब्ध नभए निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्नुपर्ने विषयमा बोर्ड सदस्यहरूबिच छलफल भएको थियो ।
बोर्डको आग्रह अनुसार कतिपय पालिका तथा विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले परीक्षा गर्ने भएका छन् । विद्यालय व्यवस्थापन समितिहरूले सूचना जारी गर्दै परीक्षा तोकिएकै मितिमा हुने भएकाले प्रवेशपत्र लिन विद्यालयमा सम्पर्क गर्न समेत भनेका छन् ।
- शिक्षकले प्रतिवाद गर्ने
सरकारले जसरी भए पनि परीक्षा गर्ने तयारी गरेपछि २१ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले भने ‘देखाइदिने’ चेतावनी दिएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले सरकारले आफूहरूको अनुपस्थितिमा परीक्षा सञ्चालन गरेर देखाउन चुनौती दिए ।
विद्यालयका प्रधानाध्यापकदेखि कर्मचारीसम्म सडक आन्दोलनमा रहेका बेला परीक्षा सञ्चालन गरेर देखाउन चुनौती दिएका हुन् ।
उनले निजामती कर्मचारीहरू परिचालन गरेर परीक्षा सञ्चालन गर्न लागेको विषयमा समेत आपत्ति जनाए । आफ्ना मागहरू सम्बोधन गर्नुका साटो कर्मचारी परिचालन गरेर परीक्षा गर्न खोजिएको खण्डमा प्रतिवादमा उत्रिने चेतावनी दिए ।
_WsTTnGJPrK.jpg)
‘परीक्षामा शिक्षकहरू सहभागी हुँदैनन् । शिक्षकको अनुपस्थितिमा परीक्षा गर्छन् भने हेरौला । कर्मचारी परिचालन गरेर परीक्षा गर्न लागियो भने हामी प्रतिरोध गर्छौ । कर्मचारीले पढाउने भए, कर्मचारीले केन्द्राध्यक्ष हुने भए शिक्षक बनाउनु पर्यो,’ अध्यक्ष अधिकारीले भने ।
एक दुई हप्ता परीक्षा स्थगित गर्दा नेपालै ध्वस्त नहुने बताउँदै गुणस्तरीय ऐन जारी भएपछि परीक्षा गर्न सकिने बताए ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा सहभागी नहुन अनुरोध गरे । आजको विरोधसभामा बोल्दै अध्यक्ष सुवेदीले राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि परीक्षा गर्न लागेको कक्षा १२ को परीक्षामा सहभागी नहुन सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई अनुरोध गरेका हुन् ।
‘राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षा निकाय परिचालन गरेर भए पनि परीक्षा चलाउँछु भन्या रहेछ, त्यो उसको कुरा हो । कोही पनि नेपाली प्रधानाध्यापक, शिक्षक र कर्मचारी त्यो प्रक्रियामा सामेल नहुनका लागि अनुरोध गर्दछौँ,’ अध्यक्ष सुवेदीले भने, ‘हामी कोही पनि सामेल हुँदैनौँ । कापी पनि उनीहरू नै परीक्षण गरुन्, परीक्षा पनि उनीहरू नै चलाउन । हामी पनि हेरौला । सामेल नहुन आ–आफ्नो जिल्लामा निर्देशन दिन समेत अनुरोध गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण