सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षक आन्दोलन

कक्षा १२ को परीक्षा गराए ‘देखाइदिने’ शिक्षकहरूको चेतावनी

मङ्गलबार, ०९ वैशाख २०८२, १३ : २०
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले वैशाख ११ गतेदेखि हुन लागेको परीक्षा नरोक्ने निर्णय गरेको हो । 

शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने वा नहुनेमा अन्योल थियो । त्यही अन्योलबिच बोर्डले परीक्षा नरोक्ने र तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो । 

mahasharm sharma

बोर्डले परीक्षा नरोक्ने निर्णय गरेपछि सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । 

उनले भने ‘परीक्षा संवेदनशील विषय हो । साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएको छ । त्यसैले हामी शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दछौँ ।’

शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् । सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधिबिच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन ।

बोर्ड बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष शर्माले परीक्षाको वातावरण बनाउन शिक्षकहरूलाई फेरि अनुरोध गर्ने निर्णय भएको बताए । 

कक्षा १२ को परीक्षाका लागि यसअघि नै परीक्षा केन्द्र तोकिएको छ । विद्यार्थीहरू पनि समयमै परीक्षा होस् भन्ने चाहेको बताउँदै अध्यक्ष शर्माले शिक्षक महासंघ, शिक्षकहरू, अभिभावकहरू, जिल्ला परीक्षा समन्वय समितिलाई परीक्षाको वातावरण बनाउन अनुरोध गरिएको बताए । 

बोर्ड बैठकमा प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाएर परीक्षा चलाउन सकिनेमा जोड दिइएको थियो । 

सबै शिक्षकहरू आन्दोलनमा नआएको भन्दै उपलब्ध शिक्षकहरूलाई समेत परिचालन गर्न सकिने भन्ने विषयमा छलफल भएको थियो । जिल्लामा उपलब्ध शिक्षकहरूलाई केन्द्राध्यक्ष र निरीक्षक तोक्ने र शिक्षकहरू उपलब्ध नभए निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्नुपर्ने विषयमा बोर्ड सदस्यहरूबीच छलफल भएको थियो । 

सरकारले जसरी भए पनि परीक्षा गर्ने तयारी गरेपछि २१ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले भने देखाइदिने चेतावनी दिएका हुन् । 

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले सरकारले आफूहरूको अनुपस्थितिमा परीक्षा सञ्चालन गरेर देखाउन चुनौती दिए । उनले निजामती कर्मचारीहरू परिचालन गरेर परीक्षा सञ्चालन गर्न लागेको विषयमा समेत आपत्ति जनाए । आफ्ना मागहरू सम्बोधन गर्नुका साटो कर्मचारी परिचालन गरेर परीक्षा गर्न खोजिएको खण्डमा प्रतिवादमा उत्रिने चेतावनी दिए । 

‘परीक्षामा शिक्षकहरू सहभागी हुँदैनन् । शिक्षकको अनुपस्थितिमा परीक्षा गर्छन् भने हेरौला । कर्मचारी परिचालन गरेर परीक्षा गर्न लागियो भने हामी प्रतिरोध गर्छौ । कर्मचारीले पढाउने भए, कर्मचारीले केन्द्राध्यक्ष हुने भए शिक्षक बनाउनुपर्‍यो,’ अध्यक्ष अधिकारीले भने । 

एक दुई हप्ता परीक्षा स्थगित गर्दा नेपालै ध्वस्त नहुने बताउँदै गुणस्तरीय ऐन जारी भएपछि परीक्षा गर्न सकिने बताए । 

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा सहभागी नहुन अनुरोध गरे । आजको विरोधसभामा बोल्दै अध्यक्ष सुवेदीले राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि परीक्षा गर्न लागेको कक्षा १२ को परीक्षामा सहभागी नहुन सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई अनुरोध गरेका हुन् । 

‘राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षा निकाय परिचालन गरेर भए पनि परीक्षा चलाउँछु भन्या रहेछ, त्यो उसको कुरा हो । कोही पनि नेपाली प्रधानाध्यापक, शिक्षक र कर्मचारी त्यो प्रक्रियामा सामेल नहुनका लागि अनुरोध गर्दछौँ,’ अध्यक्ष सुवेदीले भने, ‘हामी कोही पनि सामेल हुँदैनौँ । कापी पनि उनीहरू नै परीक्षण गरुन्, परीक्षा पनि उनीहरू नै चलाउन । हामी पनि हेरौला । सामेल नहुन आ–आफ्नो जिल्लामा निर्देशन दिन समेत अनुरोध गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप