शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्र दिवसको अवसरमा आफ्नो काठमाडौँको महाराजगन्जस्थित निवासमा बिहीबार चियापान कार्यक्रम आयोजना गरे । अनौपचारिक भन्दै बोलाइएको कार्यक्रममा नेता कार्यकर्ता खचाखच थिए ।
१५ औँ महाधिवेशनमा पार्टी नेतृत्वमा पुग्न आन्तरिक तयारी गरिरहेका नेता डा.कोइरालाद्वारा आयोजित चियापानमा पार्टीभित्रको इतर समूहका नेता कार्यकर्ताभन्दा संस्थापन पक्षीय नेता कार्यकर्ता बढी देखिन्थे । हुन त डा. कोइराला पनि गत फागुन २ गते सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको देउवालाई १४ औँ महाधिवेशनमा सहयोग गर्ने ११ नेताहरूको बैठकमा सहभागी भएपछि ‘संस्थापन पक्षका’ नेता भनेर नेता कार्यकर्ताले भन्छन् । तथापि उनीसँग संस्थापनका भन्दा डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहका नेता कार्यकर्ता बढी थिए/छन् ।
आजको कार्यक्रममा भने त्यसको ठ्याक्कै विपरीत देखियो । किनकि संस्थापन पक्षीय नेता कार्यकर्ताको बाहुल्यता कार्यक्रममा देखिन्थ्यो ।
डा. शशांकको निवासमा आज सभापतिको दाबी गरिरहेका पूर्वउपसभापतिहरू विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार पनि सहभागी थिए । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको नेतृत्व गरेर गएका नेता सिंहसहित सबै अहिले देउवासँग निकट छन् । त्यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि कार्यक्रममा सहभागी थिए । उनी पनि अहिले संस्थापन पक्षीय नेता नै हुन् ।
यी बाहेक संस्थापन पक्षीय नेताहरू प्रवक्ता डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यहरू एनपी साउद, अम्बिका बस्नेत, पुष्पा भुसाल, सुजाता परियार, कृष्ण केसीसहित प्रदेश र जिल्ला स्तरका नेताहरू सहभागी थिए ।
डा. शशांकनिकट केन्द्रीय सदस्यहरू दीपक गिरी, उर्मिला थपलिया तथा वर्तमान सरकारमा ऊर्जा जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्कासहितका नेता उपस्थित थिए ।
चियापान कार्यक्रममा डा. शशांकले परिवारका सदस्यसमेत रहेका नेता डा. शेखर कोइराला र सुजाता कोइराला देखिएनन् । तर, डा. शेखर पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतम, दीलेन्द्रप्रसाद बडू, सांसद डा. सुनिल शर्मासहितका नेताहरू भने शशांक निवासमा पुगेका थिए ।
शशांक निकट केन्द्रीय सदस्य थपलियाले अनौपचारिक कार्यक्रम विशुद्ध लोकतन्त्र दिवसको अवसरमा चियापन गर्न मात्रै आयोजना गरिएको बताइन् । ‘शशांक दाइले लोकतन्त्र दिवसको अवसरमा चियापान गर्न र भेटघाटका लागि अनौपचारिक कार्यक्रम आयोजना गर्नुभएको हो । यसमा अरू कुनै विषय लुकेको छैन,’ थपलियाले रातोपाटीसँग भनिन् ।
कार्यक्रममा भेटिएका केही नेता/कार्यकर्ता भने १५ औँ महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार म हुँ भन्ने देखाउनका लागि लोकतन्त्र दिवसको अवसर पारेर नेता जम्मा गरेको बताइरहेका थिए ।
‘फागुन २ गते संस्थापनबाट सभापतिको दाबी गर्ने हामीहरूमध्ये एउटाले हो । अहिले नै मेरो सद्भाव यो नेतालाई रहन्छ भनिदिनु भयो भने हामीले माहौल बनाउन सक्छौँ भनेर ११ नेताले भनेका थिए । ती मध्य अधिकांश नेता यहाँ उपस्थित भएका छन् । शशांक दाइले सबै मसँग छन्, मलाई समर्थन गरेमा जित्न सक्छु भन्ने देखाउन खोज्नुभएको मैले बुझेको छु,’ ती नेताले भने ।
कार्यक्रममा अहिलेसम्म सभापतिमा दाबी रहने देखिएका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाबाहेक सबै उपस्थित थिए । निकटस्थ स्रोतले उनीहरूलाई आमन्त्रण नै नगरिएको बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
-
नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा, विश्वकप लिग-२ सिरिजमा भिड्दै
-
किशोरीमाथि जबरजस्ती करणी गर्ने पक्राउ
-
दक्षिणी गाजा सहरमा रातभर हवाई आक्रमण, ५४ जनाको मृत्यु