‘सरकार ढल्छ भन्नेहरू देउवा थाइल्याण्डबाट फर्केपछि फत्रक्क गले’
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरू पुर्पुरोमा हात लगाउन थालेको बताएका छन्। ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गरेका हुन् ।
शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आए लगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गरे । उनले सरकार परिवर्तनको हल्ला फिँजाउन जरुरी नरहेको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘अहिलेको परिस्थितिको बारेमा मैले केही भन्नुपर्छ जस्तो लाग्दैन । हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्किएर आउने बित्तिकै सरकार ढल्छ, भनेर एयरपोर्टबाटै पो ढल्छ की, आइपुग्ने बित्तिकै, ओर्लिने बित्तिकै ढल्छ की जस्तै पारेका थिए । ढल्यो, ढल्यो, ढल्यो, ढल्यो, ढलिहाल्यो अब बाङ्गिइसकेको छ । शेरबहादुर देउवाजी आइपुगेपछि ढलिहाल्छ भनेर । अस्तिका दिन मैले साथीहरूलाई भनेँ: यो भ्रम फिँजाउने तत्त्वहरूले हल्ला गरिरहन्छन्, भ्रम फिँजाइरहन्छन् । यसको पछाडि नकुद्नुस् है साथीहरू । काममा लाग्नुस्, मिसन ०८४ मा लाग्नुस्, चुनाव लाग्नुस् ।’
उनले भने, ’यो सरकार ढल्दैन भन्यो, ढल्छ भन्छ फेरि अर्कोले कहाँ पुगेर । ढल्दैन भनिसकेपछि सिद्धियो नि । हामी भनिरहेका छौँ, ढल्दैन । फेरि के त्यस्ता हल्लाखोरहरूका कुराहरूका पछाडि किन कुदिरहने ? त्यस कारण मिसन ०८४ मा लाग्नुस्, चुनावमा लाग्नुस् । अहिलेदेखि चाहिने काममा लाग्नुस् । हल्लामा नलाग्नुस् । सरकार ढल्छ की रहन्छ की यसमा नलाग्नुस् तपाईँहरू । त्यसको जिम्मा हामीलाई छोडिदिनुस् । आफ्नो काम गर्नुस्, चुनावका पछि लाग्नुस् भनेपछि प्रधानमन्त्रीले नै आस मारिसकेछन् । भनेर त्यता व्याख्या गरे । प्रधानमन्त्रीले भनेका कुराले तरङ्ग ल्यायो । नेपाली भाषा बुझ्दैनन् कि । त्यस कारण यस्ता कुरामा मैले भनिरहन परेन । शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो । खुई गरेर, पुर्पुरामा हात लगाएर फेरि बिचराहरू थचक्क बसे । हल्ला गर्नेहरू । त्यत्ति चाहिएको रहेछ । शेरबहादुरजीले सरकार ढल्दैन भन्दिएपछि खत्र्याकखुत्रुकै हुँदा रहेछन्, थुचुक्कै । पुर्पुरोमा हात लगाएर । विदेशतिर कति हेर्न सक्दा भन्या ।’
प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ । हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।’
संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा भएको बैठकमा ओलीले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गरे ।
अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसद्बाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरूको आसमा नभई आफैले गर्नतिर लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण