सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

बिहीबार, १८ वैशाख २०८२, २१ : २१
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेतृ डा.आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छन् । कांग्रेसको जनसम्पर्क समिति समन्वयले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उनले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताइन् ।

‘विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरु हाल विभिन्न मुलुकको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ, उहाँहरु हाम्रा लागि सफ्ट पावर हुनुहुन्छ, हामीले त्यसको उपयोग गर्नुपर्छ’, उनले भनिन् । डा.राणाले अहिले गैर आवासीय नेपाली कार्डको विषय मुख्य रहेको उल्लेख गर्दै यो जारी गर्न आवश्यक रहेको बताइन् ।

‘तपाईंहरुले लामो समयदेखि एनआरएन कार्डको विषय उठाउँदै आउनुभएको छ, कार्ड जारी गर्न ढिलाइ भइसकेको छ, आजसम्म यहाँहरुले देखाउनुभएको धैर्यताको म कदर गर्छु’, उनले भनिन् । अहिले नेपालमा स्थायी सरकार गठन भएकाले चाँडै कार्ड जारी हुनेमा उनले विश्वास व्यक्त गरिन् ।

एनआरएन कार्डको विषयमा संविधान निर्माणको समयमा व्यापक छलफल भएको उल्लेख गर्दै डा राणाले कांग्रेस यो विषयमा सुरुदेखि नै प्रतिबद्ध रहेको उल्लेख गरिन् । अहिले विदेशमा रहेका नेपालीहरुमा सामाजिक सुरक्षा कोषसम्बन्धी आवश्यक जानकारी कम भएकाले पनि समस्या भइरहेको उनको भनाइ थियो ।

कांग्रेस नेपालको एक मात्रै लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उनले पार्टीप्रति विश्वास र भरोसा गर्न आग्रह गरिन् । ‘हामी लोकतान्त्रिक पार्टी हो भन्दै आउने र जाने भइरहेका छन्, तर लोकतन्त्रमा विश्वास राख्ने पार्टी कांग्रेस मात्रै हो’, उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप