विधान संशोधनको गृहकार्यमा एमाले, जेठ मसान्तसम्मको समयसीमा
काठमाडौँ । नेकपा एमालेले अगामी जेठ मसान्तभित्र पार्टीको विधान संशोधनका लागि सुझाव सङ्कलन गर्न पार्टी मातहतका निकायलाई सर्कुलर गरेको छ ।
आगामी भदौ २० देखि २२ सम्म पार्टीको दोस्रो विधान महाधिवेशनको मिति तोकेको एमालेले मातहतका कमिटी र कार्यकर्ताबाट मौजुदा विधानमा आवश्यक संशोधनका लागि समयमै सुझाव सङ्कलन गर्नुपर्ने भन्दै यस्तो निर्णय गरेको हो ।
हालै बसेको केन्द्रीय संगठन विभागको २२ औँ बैठकले जेठ मसान्तको समयसीमा तोकेर केन्द्रीय सचिवालयमार्फत सुझाव सङ्कलनका लागि आग्रह गर्ने निर्णय गरेको विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।
‘२०८२ जेठ मसान्तसम्मको समय सीमा तोकेर सुझाव सङ्कलन गर्नका लागि केन्द्रीय सचिवालय मार्फत मातहत पार्टी कमिटी र पार्टी सदस्यहरूमा आग्रह गर्ने निर्णय गरिएको छ’, सचिव ढुंगेलले रातोपाटीसँग भने ।
संगठन विभागले पार्टीको संगठनात्मक कामलाई थप सुदृढ पार्न विधानको व्यवस्था बमोजिम कार्यकारी भूमिकामा रहेका कमिटीहरूले विशेष योजना बनाइ अनुगमनको काम अघि बढाउन आवश्यक रहेको ठहरसमेत गरेको छ ।
त्यस्तै विभागले जिल्ला, पालिका र वडा तहका पार्टी कमिटीका बैठक, बैठकका माइन्युट लेखन, निर्णय प्रक्रिया र निर्णय तथा निर्देशन कार्यान्वयन, निर्णय कार्यान्वयनको समीक्षा, आन्तरिक एकता, नेता÷कार्यकर्ताको जिम्मेवारी व्यवस्थापन, आधारभूत तहमा जनसंगठनको काम, जनप्रतिनिधि र पार्टी कमिटीबिचको सम्बन्ध, कार्यकर्ता प्रशिक्षण, कार्यालय व्यवस्थापन र सञ्चालन, अनलाइन अभिलेखन लगायतका बिषयमा तोकिएका भौगोलिक जिल्ला तथा गैर–भौगोलिक क्षेत्रमा अनुगमनगरी दुई महिनाभित्र केन्द्रीय संगठन विभागमा रिपोर्ट पठाउन निर्देशन पनि दिएको छ ।
त्यस्तै एमालेले २०८२ को पार्टी सदस्यता नवीकरणको काम विधानअनुसार सम्पन्न गरी २०८२ वैशाख मसान्तसम्म जिल्लाहरूको डाटा अध्यावधिक गरी प्रदेशमा पठाउन निर्देशन दिएको छ । एमालेले दोस्रो विधान महाधिवेशनसम्म साढे सात लाख पार्टी सदस्यता पु¥याउने दाबी गर्दै आएको छ । एमालेले पार्टी सदस्यहरूको अनलाइन अभिलेखिकरणको काम जेठ महिनाभर अभियानकै रूपमा सञ्चालन गरी सम्पन्न गरिसक्न पनि निर्देशन दिएको छ ।
यसअघि माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान चलाएको एमालेले उक्त अभियानको रिपोर्ट १८ बुँदामा केन्द्रित गरेर पठाउन भनेको छ । कार्यक्षेत्रमा खटिएका पार्टी नेता कार्यकर्ताहरूको रिपोर्टलाई अध्ययन गरेरमात्र अभियानको अन्तिम निचोड निकाल्न सकिने भएकाले जिम्मेवारीमा खटिएका केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहसम्मलाई पार्टीले तयार गरेको फरम्याटमा पठाउन भनेको छ ।
पालिका, वडा र टोल तह सम्मका पार्टी कमिटीका अधिवेशन के कति सम्पन्न भए ?, टोलमा पार्टी कमिटी कति बने ? टोल कमिटी कति नियमित परिचालित भएका छन् ?, संगठनात्मक अराजकता र अवसरवादलाई परास्त गर्नेगरी कुनै शुद्धीकरणका काम पनि भए कि लगायतका प्रश्न एमालेले सोधेको छ । ‘चालिस वर्ष मुनिका युवामा पहुँच बढाउने र युवा नेतृत्व विकासको योजनाबद्ध थालनी गर्ने काममा कति प्रगति भयो ? (वडा तहमा ४० वर्ष मुनिका युवाहरुको रोष्टर तयार भयो ?)’, एमालेले तल्ला तहलाई सोधेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण