शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विभिन्न अस्पतालसहित एक हजार अस्थायी जनशक्ति थप्ने मन्त्रिपरिषद्को निर्णय

शनिबार, २० वैशाख २०८२, १७ : ३५
शनिबार, २० वैशाख २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए ।

हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबीमा मूल्याङ्कन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ तथा डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।

यसले ती अस्पतालहरूले सञ्चालनमा खेपिरहेको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिँदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालहरूमा सहजता आउने विश्वास गरिएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप