बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वर्षायाममा विच्छेद हुँदै छ काठमाडौँसँगको सम्पर्क

बिहीबार, २५ वैशाख २०८२, १२ : ०१
बिहीबार, २५ वैशाख २०८२

यस वर्षको वर्षायाम भएपछि बाहिरबाट काठमाडौँ जान प्रायः असम्भव हुनेछ । कारण काठमाडौँ जाने सम्पूर्ण सडक असुरक्षित छन् । गत वर्षको बाढीपछि काठमाडौँसँग जोडिने सडकहरूलाई उचित मर्मत–सम्भार गरिएको छैन,  सानो झर पानीले नै सडक अवरुद्ध हुने अवस्थामा छन् ।

काठमाडौँबाट बाहिर निस्कने सबैभन्दा ठुलो र सुरक्षित सडकखण्ड भनेको थानकोट–मुग्लिन हो । यो सडकखण्ड फराकिलो बनाउन करिब २–३ वर्षअघि नै ठेक्का लगाइएको छ । ठेकदारले सम्झौताको सर्त अनुसार काम गरेको छैन । जताततै सडक भत्काएको छ । कमसेकम ५–१० किलोमिटर सडक भत्काई त्यति बनाएपछि नयाँ स्थानमा काम सुरु गर्नुपर्नेमा सो नगरी सवारी–साधन चल्न कठिन हुने गरी ठाउँठाउँमा सडक भत्काइएका छन् । 

हिउँदमा त जसोतसो गाडी चल्छन्, अब वर्षात् सुरु भएपछि यसको के हालत होला रु कल्पना गरौँ । गत वर्षको वर्षायाममा यहाँ कति गाडी बगे रु कति मानिस मरे रु कति दिन सडक बन्द भयो रु सरकारले बिर्सिसकेको छ । 

ठेकदारलाई ताकेता गरी समयमै सडक बनाउनेतर्फ सरकारले ध्यान नै दिएको छैन । नेपालमा सरकार भनेको कमिसन खाने, सिन्डिकेट खडा गरेर बिचौलियाको स्वार्थसिद्ध गर्ने, विभिन्न नियुक्तिका माध्यमबाट अल्पकालीन एवं दीर्घकालीन भ्रष्टाचारका योजना बनाउने र भ्रष्टाचार गर्ने मात्र हो भन्ने भाष्य विकसित हुँदै छ । यस वर्षको वर्षायाममा थानकोट–मुग्लिन सडकको दुरवस्था हुने निश्चित छ । 

अब रह्यो, नेपालको पूर्वी पहाड तथा मध्य तराईको लाइफ लाइन बीपी राजमार्ग । यस राजमार्गले ताप्लेजुङ, सोलु, सङ्खुवासभाजस्ता दुर्गम जिल्लालाई काठमाडौँसँग जोडेको छ । अहिले कल्पना गर्दा साँच्चै बीपी राजमार्ग नभएको भए नेपालको यातायात क्षेत्रको हबिगत के हुने थियो भनी यसै भन्न कठिन छ, तर यो मार्ग गत वर्षको असोजमा आएको बाढीले क्षतविक्षत भएको छ । धेरै ठाउँमा बाढीले सडक बगाएर त्यसको नक्सा समेत छाडेको छैन । यस्तो महत्त्वपूर्ण सडक सञ्चालन गर्न तत्कालीन, मध्यकालीन एवं दीर्घकालीन योजना बनाएर राज्यको सम्पूर्ण शक्ति प्रयोग गरी मर्मत सम्भार गर्नुपथ्र्यो, तर राज्य जिम्मेवार भएन । उसलाई केही मतलब नै छैन । पुनः यो मार्ग मर्मत गर्न ठुलो धनराशि आवश्यक छ । राज्यसँग त्यति स्रोत पनि छैन । 

वितरणमुखी खर्च प्रणाली र राजस्वमुखी भन्सार प्रणाली अपनाएको छ राज्यले, तर यी दुवै प्रणाली फेल हुँदा साधारण खर्च धान्न पनि ठुलो राशि आन्तरिक ऋण लिनुपर्ने अवस्था छ । हाम्रो देशमा भएको सुशासनको कमी र बढ्दो भ्रष्टाचारका कारण विदेशी दाताहरू पनि खुलेर सहयोग गर्ने पक्षमा छैनन् । अहिलेको अवस्था भनेको एक झर ठुलो पानी पर्‍यो भने बीपी राजमार्ग पूर्ण बन्द हुनेछ । यसले गर्दा पूर्वी तथा मध्य नेपालको आधा जनसङ्ख्याको काठमाडौँसँग विच्छेद हुनेछ । सरकारलाई यो कुरा थाहा नै छैन जस्तो देखिन्छ । सडक सञ्चालन गर्न केही पूर्वाधारका काम सुरु भएका छैनन् । 

एक झर ठुलो पानी पर्‍यो भने बीपी राजमार्ग पूर्ण बन्द हुनेछ । यसले गर्दा पूर्वी तथा मध्य नेपालको आधा जनसङ्ख्याको काठमाडौँसँग विच्छेद हुनेछ । सरकारलाई यो कुरा थाहा नै छैन जस्तो देखिन्छ ।


बनेपा, तातोपानी, जिरी हुँदै जाने सडकले उत्तर सीमा तथा पूर्वी पहाडलाई  काठमाडौँसँग जोडेको छ । यो सडक त कहिल्यै राम्ररी सञ्चालन हुन सकेको छैन । विडम्बना, चीनको पाँच हजार किलोमिटर दूरीको कन्टेनर तीन–चार दिनमा खासासम्म आउँछ । खासाबाट काठमाडौँ १२० किलोमिटर आउन ३–४ दिन लाग्छ । त्यस्तै हालत छ, काठमाडौँ–रसुवा सडकको । यसमा ठाउँ ठाउँमा पहिरो गएको छ, उचित मर्मत–सम्भार छैन । यो सडक पनि बर्खायाममा सञ्चालन हुन सक्दैन । 

अब काठमाडौँबाट हेटौँडा जोड्ने छोटो मार्गको कुरा गरौँ । सर्वप्रथम काठमाडौँ दक्षिणकाली, सिस्नेरी, कुलेखानी, भीमफेदी, हेटौँडाको कुरा गरौँ । यो सडकमा करिब एक किलोमिटर भैँसे भीमफेदी रुटमा खोलैखोला हिँड्नुपर्छ । त्यहाँ अलिक ठुलो वर्षा भयो भने गाडी चल्दैनन् । एक पुल बनाउने बहानामा यो सडकमा खोला हिँड्नुपरेको हो । त्यो पुलको निर्माण प्राथमिकतामा परेको भए यस्तो हुने थिएन । दुःखसुख गरेर यहाँबाट अघि बढ्यौँ रे, पुनः कुलेखानी छेउमा खोलाले बगाएको ठाउँमा राखिएका ह्युम पाइप अत्यन्त कमजोर छन् । एक झरीले त्यसको संरचना भत्ताभुङ्ग गर्छ । त्यसबाट अघि बढ्दा कुलेखानीदेखि सिस्नेरीसम्म दुई ठाउँमा गरी करिब तीन किलोमिटर सडक पूर्ण रूपले खोलाले बगाएको छ । यहाँ सडकको नामनिसाना नै छैन । खोलैखोलामा गाडी कुदिरहेका छन् । अलिकति पानी पर्नासाथ यहाँ गाडी चल्दैनन् । सरकारको सडक बनाउने केही सुरसार छैन ।

काठमाडौँ–फाखेल सडकको पनि अवस्था राम्रो छैन । यो सडक पुनर्निमाण सुरु भएको वर्षौं भइसक्यो । कुलेखानीदेखि फर्पिङसम्म जम्मा २५ किलोमिटरको सडक बन्न किन यति सकस रु कहिले बन्ने हो ? 

काठमाडौँ–हेटौँडाको कान्तिपथको अवस्था पनि अत्यन्त नाजुक छ । भर्खरै १५ दिन सडक बन्द गरेर मर्मत गरेको सो सडक भौगोलिक बनावटका कारण अत्यन्त जोखिमपूर्ण छ । उच्च पहिरोको सम्भावना भएको यस सडकखण्डमा कुनै पनि दिन पहिरोका कारण सडक बन्द भयो भन्ने सुन्नुपर्दैन भन्ने छैन । 

भैँसे–सीमभञ्ज्याङ–चित्लाङ–नागढुङ्गा हुँदै जाने सडकले काठमाडौँ र हेटौँडालाई जोडेको छ । यो सडकखण्डको दुरवस्थाका कारणबाट ठाउँठाउँमा गाडी फसिरहेका छन् । पुनः थानकोटमा बनाउन सुरु गरिएको सुरुङमार्ग समयमै पूरा हुन सकेको छैन, त्यहाँ गइरहने पहिरोले सो सडक समेत सुरक्षित छैन । 

गुरजुधारा, सतुङ्गल, कुलेखानी हुँदै आउँदा काठमाडौँदेखि हेटौँडा पुग्न छोटो पर्छ । यो सडक काठमाडौँ गुरजुधाराबाट कुलेखानीसम्म २२ किलोमिटर छ । यसमध्ये कुलेखानीदेखि फाखेल छेउसम्मको ६ किलोमिटर सडक राम्रै छ । फाखेल छेउदेखि गुरजुधारासम्म १६ किलोमिटर छ । यो सडकमा कुनै पुल छैन, नदी छैन । सडकको ट्र्याक खोलिएको छ । सरकारले यस सडकलाई उच्च प्राथमिकतामा राखेर बनाउने हो भने हेटौँडाबाट काठमाडौँ अढाई घण्टामा आवतजावत गर्न सकिन्छ ।

कुलेखानीदेखि गुरजुधारासम्म २२ किलोमिटर दोहोरो लेनको भयो भने जम्मा आधा घण्टामा हामीले त्यसलाई पार गर्न सक्छौँ । पुनः गुरजुधारादेखि करिब चार किलोमिटर सडक पिच भएको छ । अब प्रश्न उठ्छ, राज्यले चाहेमा ट्र्याक खोली सकिएको नदीनाला नभएको कुनै पुल बनाउनुनपर्ने १२–१४ किलोमिटर सडक चौडा गरी सञ्चालन गर्न के सरकारले सक्दैन रु खै वर्षौंदेखि गरेको छैन । यहाँ सङ्घीय सरकार, प्रदेश तथा स्थानीय सरकार छन् । सङ्घले नगरे प्रदेशले गरेको भए पनि हुन्थ्यो । किन नगरेको रु प्रदेशको राजधानी हेटौँडामा भएकाले यो सडक राम्रो भए यिनीहरूलाई पनि सजिलो हुने थियो । 

अब प्रश्न उठ्छ, काठमाडौँसँग बाँकी क्षेत्रको सम्पर्कविच्छेद भए के हुने रु यस्तो अवस्थाको कल्पना नै गर्नु नपरोस्, यहाँ सबै कुराको हाहाकार हुन्छ । अर्थतन्त्र पूर्णतः ध्वस्त हुने सडकमा जान्छ । पर्यटकहरूको आवागमन आधा हुन्छ । 

अब हामी जनताले के गर्नु रु हामीले चुनेर पठाएका प्रतिनिधिसँग कुनै भिजन छैन । यिनीहरू समस्याको गम्भीरता बुझ्न सक्दैनन् । मुलुक असफल राज्य भइसकेपछि मात्र यिनीहरूले चेत्ने होलान् । त्यसबखत ढिलो भइसकेको हुनेछ । 

(लेखक वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरि गौतम
हरि गौतम
लेखकबाट थप