सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः ज्ञानेन्द्र शाही

आइतबार, २८ वैशाख २०८२, ११ : ५४
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरुको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् । उनले आजपनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भएपनि वैदेशिक रोजगारमा रहेका नागरिकहरुको श्रमको सम्मान गर्न नसकेको आरोप लगाए । 

उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरुको तलबभत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको छ हामीले नुनको सोझो पर्दैन ? भन्दै प्रश्न गरे । 
 वैदेशिक रोजगारीको नाममा आजपनि लाखौं मानिसहरु दलालबाट ठगिएको उनको भनाइ छ । वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक कुटनीतिक पहल गर्न नसकेको उनको आरोप छ । 

उनले भने, ‘अहिलेमात्रै पनि मुलुकमा १४ खर्ब ३२ करोडको रेमिट्यान्स विदेशबाट नेपाली नागरिकले पठाएको हो । आज हामी सांसदहरु, प्रधानमन्त्री, मन्त्री, यहाँको कर्मचारी सबै मानिसहरुको तलव र भत्ता यही विदेशबाट पठाइएको रेमिटले धानेको छ । हामीले नुनको सोझो गर्नुपर्छ कि पर्दैन ? यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ भन्छन् ।  आज लाखौं नेपाली नागरिकहरु दलालको ठगीमा परेर घरबार बिहिन भएका छन् । तर श्रम मन्त्रालयमा सिर्फ झण्डा हालेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो ? यदि त्यो मन्त्रायले जनताका लागि काम गर्दैन भने त्यो मन्त्रालयको कुनैपनि काम छैन । अहिले पनि नेपाली अलपत्र परेका छन् । परराष्ट्र मन्त्रालयले कुनैपनि कुटनीति गाँसेको छैन । जहाँ गएपनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ सभामुख महोदय ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप