मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का

मङ्गलबार, ०५ साउन २०८३, २२ : ००
मङ्गलबार, ०५ साउन २०८३

आज २०८३ साउन ५ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • एकपछि अर्को धक्का

सुशासन र सामाजिक न्याय सहितको समृद्धिलाई मूल लक्ष्य मानेको सरकारले पछिल्लो समय एकपछि अर्को धक्का झेल्नु परेको छ। वालेन्द्र (बालेन) शाहको नेतृत्वमा चैत १३ गते सरकार गठन भएको थियो । मधुमास (सय दिन) पूरा गर्दासम्म सरकारका केही नीति असफल देखिएका छन् । सरकारका केही गलत नीतिका कारण समाजमा जनआक्रोश बढ्दै गएको देखिन्छ ।

  • प्रदेश सत्ता राजनीति

 दुई प्रदेशमा भएका पछिल्लो राजनीतिक घटनाले सरकारको भविष्यमाथि प्रश्न उठाएकोमात्र होइन, आवश्यकता अनुसार प्रदेशले आत्मनिर्णय गर्न सक्छ भन्ने उदाहरण पनि स्थापित गर्न खोजेको छ । एक वर्षको हाराहारीमा प्रदेश सभाको कार्यकाल बाँकी रहँदा प्रदेश सरकार फेरबदल गर्नु कति उचित हो भन्ने प्रश्न आफ्नो ठाउँमा छँदैछ, प्रदेशको सरकारबारे पहिलो निर्णय प्रदेश तहबाटै हुन्छ भन्ने सन्देश सुदूरपश्चिम र कर्णाली प्रदेशले दिन खोजेका छन् ।

  • किनारा लगाइए अर्थमन्त्री

पछिल्लो दुई सातादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दृश्य फेरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रका उद्योगी, व्यवसायी र लगानीकर्ताहरूसँगको बाक्लो भेटघाटमा व्यस्त छन् । तर, यो व्यस्तताको एउटा पाटो निकै खड्किएको छ । अर्थतन्त्रको मुख्य स्टेकहोल्डर मानिने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ती बैठकहरूमा पूर्ण अनुपस्थिति रहे ।

  • फिफा विश्वकप २०२६

 मौसमी रूपमा हुने सुस्त र आर्थिक मन्दीपछि तग्रिँदै गरेको अर्थतन्त्रलाई विश्वकप फुटबलले राहत दिएको छ । बर्खा र खेतीपातीको मौसमका कारण अफ सिजन मानिने व्यापार र सेवामूलक क्षेत्रमा फुटबलले रौनकता थपिदियो । 

फुटबल विश्वकप संसारकै सबैभन्दा प्रतिष्ठित खेल प्रतियोगिता हो । यही मञ्चमा नयाँ सुपरस्टार जन्मिन्छन्, कतिपय खेलाडीका सपना टुट्छन् र केही खेलाडी भने इतिहासमा अमर बन्छन् । 

 रातो जर्सी लगाएका खेलाडीहरू उफ्रिँदै आफ्ना खुसीले चिच्याइरहेका टोलीका साथीहरूमाथि श्याम्पेन छर्किरहेका छन् । वरिपरि चकलेट र रंगीन रिबन वर्षिरहेका छन् भने दर्शकहरू मोबाइलमा त्यो उल्लासपूर्ण क्षण कैद गरिरहेका छन् ।

  • आत्मदाह प्रयास

 काठमाडौँ महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक जना युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका छन्। 

काठमाडौँको चाबहिलस्थित कुमारीगालमा घरका छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ । 

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुलेको छ । कारमा जलेका पुरुष कीर्तिपुरस्थित ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए । 

  • अनुदानको पर्खाइमा अलपत्र 

यतिबेला काठमाडौँ चक्रपथ सडक खण्ड भएर यात्रा गर्ने जो–कोहीले एउटै कुरा महसुस गर्छन्, चरम अस्तव्यस्तता र सकस । कलंकीदेखि बसुन्धरा, सुकेधारा हुँदै धोबीखोलासम्मको सडक खण्ड अहिले सडक होइन, झाडी र घाँसको मैदानजस्तो देखिन्छ । 

  • पछि हट्यो अर्थ मन्त्रालय

सुपर रेगुलेटरी निकायको रूपमा अन्य निकायमा गर्दै आएको माइक्रो म्यानेजमेन्टको अभ्यासबाट अर्थ मन्त्रालय पछि हटेको छ । सङ्घीय सरकारको बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले आफ्नो विगतको कार्यशैलीमा व्यापक परिवर्तन गरेको हो ।  

  • बसपार्क घटना

काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा मृत भेटिएकी निशा सुनुवारको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षीया सुनुवार साउन ३ मा गेस्टहाउसको कोठामा मृत भेटिएकी थिइन् ।

  • दिल्लीको विद्यार्थी आन्दोलन 

भारतको दिल्लीमा परीक्षा प्रश्न पत्र चुहावटको विरोधबाट सुरु भएको विद्यार्थी आन्दोलन अहिले देशको शिक्षा प्रणाली, संस्थागत जबाफदेहिता र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको शासन शैलीमाथि प्रश्न उठाउने व्यापक जनआन्दोलनका रूपमा विकसित भएको छ ।

  • स्रोतमाथिको स्वामित्व

जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, समन्वय र सह–अस्तित्वको मर्मअनुसार बनाउन सरोकारवालाहरूले माग गरेका छन् । 

​​​​​​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप