‘क्यानका अध्यक्षले मविरुद्ध षडयन्त्र गरे, निर्णय नसच्याइए न्यायालय जान्छु’

समाचार सारांश
- लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले क्यानका पदाधिकारीहरूले षडयन्त्र गरेको आरोप लगाए।
- उनले आफूलाई निलम्बन गर्न अपनाइएको प्रक्रिया अवैधानिक भएको र विशेष साधारणसभामा बोलाइएन भनेर गुनासो गरे।
- संजयले क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाए, र कानुनी उपचार खोज्ने चेतावनी दिए।
- उनले अविश्वासको प्रस्ताव र निलम्बनको पछाडि प्रादेशिक क्रिकेट संघ विनियमावली अवैधानिक भएको दाबी गरे।
काठमाडौँ । लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का उच्च पदाधिकारीहरुले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेश क्रिकेट संघका सदस्यहरुलाई प्रलोभनमा पारेर आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको आरोप पनि उनले लगाएका छन् ।
नेपालका चर्चित अम्पायरसमेत रहेका संजयले काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव र अविश्वासको प्रस्ताव ल्याउन अपनाइएको प्रक्रिया दुबै अवैधानिक भएको दाबी पनि गरे । ‘क्यानका केन्द्रीय पदाधिकारीहरुले सुनियोजित रुपमा प्रदेश क्रिकेट संघका सदस्यहरुलाई उचालेर मविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । मलाई निलम्बन गर्न अपनाइएको प्रक्रिया पनि अवैधानिक छ,’ उनले भनेका छन् ।
संजय नेपालको तर्फबाट पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने टोलीका सदस्य पनि हुन् । उनले आफूले सम्बन्धित निकायबाट न्याय नपाए कानुनी उपचार खोज्ने चेतावनी पनि दिएका छन् । उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न जेठ ३ गते लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा बोलाइएको छ ।
सञ्जयले भने आफूविरुद्ध आएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष साधारणसभामा समेत आफूलाई नबोलाइएको दाबी गरेका छन् । ‘मविरुद्ध आएको अविश्वासको विषयमा छलफल गर्न विशेष साधारणसभा बोलाइएको छ तर, मलाई नै बोलाइएको छैन । यो त अन्न्यायको पराकाष्ठा हो,’ उनी भन्छन् ।
विशेष साधारणसभा रोक्नका लागि आफूले नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका पनि बताए । ‘म विरुद्ध षडयन्त्र गरेर अविश्वासको प्रस्ताव ल्याइएको छ । अवैधानिक तरिकाले मलाई निलम्बन पनि गरिएको छ । मेरो बारेमा छलफल गर्न विशेष साधारणसभा बेलाइएको छ तर, मलाई नै उपस्थित हुनबाट रोकिएको छ,’ उनले दुःखेसो पोखे ।
अविश्वासको प्रस्ताब आएपछि क्यानले संजयलाई निलम्बन गरेर विशेष साधारणसभाको प्रक्रिया अगाडि बढाएको हो । संजयले पत्रकार सम्मेलनमा क्यान केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफूविरुद्ध षडयन्त्र गरिरहेको आरोप पनि लगाए । ‘म विरुद्ध आएको अविश्वास प्रस्ताव प्रदेशमा दर्ता गराइएको छैन । सिधै केन्द्रीय कार्यालयमा पठाइएको छ । केन्द्रमा पनि क्यानको कार्यसमिति बैठक बसेर ठोस निर्णय भएको छैन । सबै पत्राचार क्यानका अध्यक्ष चतुरबहादुर चन्द आफैले गरिरहनुभएको छ । यो त सरासर अन्न्या हो,’ उनले भनेका छन् ।
संजयले आफूविरुद्ध अविश्वास प्रस्ताब ल्याउन र निलम्बन गर्न प्रयोग गरिएको प्रादेशिक क्रिकेट संघ विनियमावली नै अवैधानिक रहेको दाबी पनि गरे । अध्यक्ष चन्दले क्यानमा प्रभुत्व जमाउने रणनीति अनुसार यस्तो गरिरहेको आरोप उनले लगाए । ’पहिले सुदूरपश्चिम प्रदेश क्रिकेट संघमा यस्तै भाडभैलो गरियो । त्यहाँ अध्यक्षविरुद्ध कार्यसमितिका ११ जना सदस्यलाई राजीनामा गराएको छ । त्यसपछि लुम्बिनी प्रदेश क्रिकेट संघमा पनि अध्यक्षविरुद्ध षडयन्त्र थालिएको छ । म दाबी गरेर भन्छु अब पालो कोशी प्रदेश क्रिकेट संघको हो,’ उनले भने ।
लुम्बिनीमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द आफैले सबै जिल्ला पुगेर सदस्यहरुलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गराएको दाबी पनि संजयले गरे । नेपाली क्रिकेटलाई अर्को दूर्घटनामा पर्नबाट रोक्ने उद्देश्यले आफू न्यायको खोजीमा लागेको दाबी उनले गरे ।
उनले आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताब स्वभाविक नभएको दाबी पनि गरे । उनले भने, ‘यो अविश्वासको प्रस्ताव स्वभाविक रुपमा आएको होइन । केन्द्रीय अध्यक्ष अध्यक्षले साथीहरुलाई प्रलोभनमा पार्नु भएको छ । जबरजस्ती हस्ताक्षर गर्न लगाउनु भएको छ । मलाई नै निलम्बन गरेर मविरुद्ध छलफल गर्न विशेष साधारणसभा बोलाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि