सत्ता गठबन्धनमा कांग्रेसकै पनि धेरै असन्तुष्टि छ : महत

समाचार सारांश
- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले सत्ता गठबन्धनप्रति कांग्रेसको असन्तुष्टि रहेको बताए। उनले गभर्नर नियुक्तिको विषयमा अन्योल रहेको र यसले राम्रो सन्देश नदिएको बताए।
- महतले पार्टी सत्तामा गए मात्रै घोषणापत्र कार्यान्वयन गर्न सकिने बताए। उनले निर्वाचन प्रणालीबाट कसैको बहुमत नआउने भन्दै संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
- बजेट निर्माण गर्दा ठूला योजना मात्रै सङ्घले बाँडफाँट गर्नुपर्ने र ३ करोडभन्दा साना योजना नराख्ने कुरामा जोड दिए।
पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेको सत्ता गठबन्धनमा कांग्रेसकै पनि धेरै असन्तुष्टि रहेको बताएका छन् ।
‘अहिलेको गठबन्धनमा हाम्रा पनि धेरै असन्तुष्टि छन् । एमाले नेतृत्वलाई पनि भनेका छौँ, गठबन्धन भएको अर्काको प्वाइन्ट अफ भ्यूलाई अण्डरस्ट्याण्ड हुनुपर्छ,’ उनले भने, ‘अहिले गभर्नरको कुरा छ । हामीले एउटा प्रोफेसनल मान्छे आओस् भनेका छौँ । अन्योल छ, यसले राम्रो सन्देश गएको छैन ।’ उनले राजनीतिक पार्टी निर्माण भएकै सत्तामा जानका लागि भएको बताए ।
साेमबार नेपाली कांग्रेस कास्की ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा गएपछि मात्रै पार्टीले आफ्नो घोषणापत्र कार्यान्वयन गर्न सक्ने बताए ।
‘अहिले गठबन्धन सरकार छ । यो पनि बाध्यात्मक परिस्थितिमा बनेको हो । हैरान भएर,’ उनले भने, ‘पार्टीहरु निर्माण भएकै सत्तामा जानका लागि हो । कहिलेकाहीँ हामीहरू आदर्श वाक्य बोल्छौँ, बाहिरै बसौँ, किन जानपर्यो भन्छौँ । हामी सत्तामा गएनौँ भने हाम्रो नीति कार्यक्रम र बजेट कसरी आउँछ ?’
महतले सत्तामा नगएपनि नेता कार्यकर्ताबाटै गुनासो आउने गरेको र सत्तामा गएपनि प्रश्न रहिरहने बताए । ‘कि त महान् भएर सत्तामा बस्दैनौँ, बाहिरै बस्ने हो भन्नुपर्यो । फेरि बाहिरै बस्ने हो भने पुलिसबाट यस्तो अन्याय भो, प्रशासनले एकथोपा सुन्दैन । एकलौटी अर्काको काम गर्यो । त्यसबेलामा सबै आत्तिन्छन्,’ अघि भने, ‘सत्तामा गयो, त्यहाँ पनि समस्या छ । यो भएन र त्यो भएन भन्छन् । कहाँ सबैचिज हुन्छ सत्तामा ? म पनि मन्त्री भा हो ।’
अहिलेको निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत नआउने भन्दै उनले संविधान संशोधनको प्रक्रिया तुरुन्तै अघि बढाउनुपर्ने बताए ।
‘अहिले कसैको पनि बहुमत छैन । यो निर्वाचन पद्धतिबाट कसैको बहुमत पनि आउँदैन । त्यसैले संविधान संशोधनको कुरा गर्यौँ,’ उनले भने, ‘मैले भनिरहेको छु, संविधान संशोधनलाई सिरियसली अगाडि बढाऔँ । भोलि होला नहोला बेग्लै कुरा हो । दुई तिहाइ चाहिन्छ । अपर हाउसमा पुग्दैन पुग्दैन । तैपनि छलफल थालौँ ।’
फरक प्रसङ्गमा महतले बजेट निर्माण गर्दा ठुला योजना मात्रै सङ्घले बाँडफाँट गर्नुपर्ने बताए । ‘कनिका छरेर परिणाम निस्किँदैन । ३ करोड भन्दा साना योजना ल्याउन हुँदैन भनेर हामीले गृहकार्य गर्यौँ,’ उनी भन्छन्, ‘नयाँ सरकार आयो, सबै फालियो । अहिले ३ करोड भन्दा तलको योजना नराख्ने भनेर जोडबल गरिरहेका छौँ । बरु थोरै होस्, परिणाम देखिने काम हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘म राजनीतिमा आउदिनँ’
-
प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन
-
लागूऔषध सहित तीन जना पक्राउ
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’
-
सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु, ८ जना घाइते
-
शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य