१७५ अर्ब डलरमा ‘गोल्डेन डोम’ बनाउँदैछ अमेरिका

समाचार सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकालाई क्षेप्यास्त्र आक्रमणबाट जोगाउन गोल्डेन डोम योजना घोषणा गरे, जसको लागत १७५ बिलियन डलर अनुमान गरिएको छ।
- यस योजना अन्तर्गत, हजारौँ उपग्रहहरू पृथ्वीको कक्षमा तैनाथ गरिनेछ, जसले क्षेप्यास्त्रहरूलाई ट्र्याक र नष्ट गर्ने लक्ष्य राख्नेछ, र अर्को वर्षको बजेटमा २५ बिलियन डलर विनियोजन हुनेछ।
- विज्ञहरूले यसलाई आवश्यक कदम मानेका छन्, तर यो जटिल, महँगो र लक्षित गर्न सजिलो हुन सक्ने चेतावनी दिएका छन्, र यो दशकौंसम्म पूरा नहुन सक्छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महत्त्वाकाङ्क्षी योजनाको घोषणा गरेका छन् । यसलाई उनले गोल्डेन डोम नाम दिएका छन् । यसको उद्देश्य अमेरिकालाई क्षेप्यास्त्र आक्रमणबाट जोगाउन बलियो सुरक्षा कवच निर्माण गर्नु हो ।
यो इजरायलको वायु रक्षा प्रणाली आइरन डोमसँग केही हदसम्म मिल्दोजुल्दो छ । ‘एक पटक सम्पन्न भएपछि, गोल्डेन डोम संसारको कुनै पनि ठाउँबाट वा अन्तरिक्षबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई रोक्न सक्षम हुनेछ,’ ओभल अफिसमा उपस्थित पत्रकारहरूलाई ट्रम्पले भने ।
यस योजना अन्तर्गत, हजारौँ साना उपग्रहहरू पृथ्वीको कक्षमा तैनाथ गरिनेछ । उपग्रहहरूको यो नेटवर्क मार्फत अमेरिका आफूलाई निशाना बनाएर आइरहेको क्षेप्यास्त्रहरूमाथि नजर राख्न र नष्ट गर्न सक्षम हुनेछ । आफ्नो कार्यकालको अन्त्यसम्ममा यो प्रणाली पूरा गर्ने लक्ष्य राखेको ट्रम्पले बताएका छन् ।
यसका लागि अर्को वर्षको बजेटमा २५ अर्ब डलर विनियोजन गरिने अनुमान छ । यसको कूल लागत १७५ अर्ब डलर पर्न आउने ठानिएको छ । गोल्डेन डोम प्रणालीको डिजाइनलाई अन्तिम रूप दिइएको र यसको नेतृत्व अन्तरिक्ष अपरेसनका उपप्रमुख जनरल माइकल गुएटलिनले गर्ने ट्रम्पले बताए ।
के भन्छन् विज्ञहरू ?
सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजका मिसाइल डिफेन्स प्रोजेक्टका निर्देशक टम काराकोले यसलाई आवश्यक कदम भनेका छन् । ‘अन्तरिक्षमा युद्धको सम्भावनामा गोल्डेन डोमले अमेरिकालाई बलियो सुरक्षा प्रदान गर्न सक्छ ।’ उनले भने । तर, यो प्रणाली जटिल र महँगो भएको अनि यसलाई सजिलै लक्षित गर्न सकिने चेतावनी युनियन अफ कन्सन्र्ड साइन्टिस्ट्सकी भौतिक शास्त्री लौरा ग्रेगोले दिएकी छिन् ।
गोल्डेन डोमले हाइपरसोनिक मिसाइल र फ्र्याक्शनल अर्बिटल बमबारी प्रणाली जस्ता नयाँ प्रकारका मिसाइलहरूको सामना गर्नु पर्ने हुनसक्छ । ट्रम्पले यो बनाउन १७५ अर्ब डलर लाग्ने अनुमान गरेका छन् । तर केही विज्ञहरूले चाहिँ यो लागत १६१ अर्ब डलरदेखि ५४२ अर्ब डलरसम्म हुनसक्ने अनि यो पूरा हुन दसकौँ लाग्न सक्ने भनिरहेका छन् ।
सन् १९८३ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले यस्तै वायु रक्षा प्रणालीको सपना देखेका थिए, तर सोभियत सङ्घको पतन हुनुभन्दा अघि यो पूरा हुन सकेन । हाल, अमेरिकासँग छोटो र मध्यम दूरीको क्षेप्यास्त्रहरूलाई रोक्ने प्रणालीहरू छन्, तर ठुलो मात्रामा लामो दूरीको क्षेप्यास्त्रहरूलाई रोक्नु अझै पनि ठुलो चुनौती हो ।