युवासंघलाई ओलीको ‘टिप्स’ : पोखराबाट फर्कँदा कसैको अनुहार रातोपिरो नहोस् !

समाचार सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न निर्देशन दिएका छन्।
- युवा संघका पदाधिकारीहरूले महाधिवेशनको तयारीबारे अध्यक्ष ओलीलाई जानकारी गराए, शुक्रबार पोखरामा महाधिवेशन हुँदैछ।
- अध्यक्षमा क्षितिज थेबेको दोहोरिने सम्भावना देखिएको छ भने अन्य नेताहरूले पनि आकाङ्क्षा देखाएका छन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व सकेसम्म सर्वसम्मत रूपमा चयन गर्न निर्देशन दिएका छन् । १० औ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले इन्चार्जसहित युवासंघका वर्तमान पदाधिकारीलाई बुधबार बालुवाटारमा बोलाएर केही टिप्ससहितको निर्देशन दिएका हुन् ।
‘कुनै झगडा, होहल्ला र विभाजनको दिशामा नगई सर्वसम्मत नेतृत्व चयन गरेर युवा संघले एकताको सन्देश दिन सक्नुपर्छ’, संघका पदाधिकारीहरूलाई सुझावसहितको निर्देशन दिँदै अध्यक्ष ओलीले भनेका छन्, ‘युवा संघ एक ढिक्का भएको सन्देश देशभर प्रवाह हुन सकोस् । त्यसैले कोही पनि पोखराबाट फर्कँदा रातोपिरो कालो अनुहार नहोस् ।’
बालुवाटार पुगेका युवा संघका पदाधिकारीहरूले अध्यक्ष ओलीलाई महाधिवेशनको सम्पूर्ण तयारीका बारेमा ब्रिफिङ गरेका थिए । अध्यक्ष ओलीले शुक्रबार पोखरामा महाधिवेशन उद्घाटन गर्दैछन् ।
नौ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्न झण्डै १८ सय महाधिवेशन प्रतिनिधि बिहीबारबाटै पोखरामा भेला हुँदैछन् ।
युवा संघको अध्यक्षमा हालका अध्यक्ष क्षितिज थेबेसहित उपाध्यक्षहरू र महासचिव आकाङ्क्षी देखिएका छन् । अध्यक्ष थेबेले पनि नेतृत्व सर्वसम्मत ढंगले चयन हुने सम्भावना बढ्दै गएको बताए ।
‘पार्टी अध्यक्षज्यूले मूलत: युवासंघको महाधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने सन्देश दिनुभएको छ’, महासचिव सुमन पुरीले भने ।
‘हाम्रो संगठनका साथीहरू अनुशासित र राजनीति बुझ्नु भएको छ । त्यसैले सर्वसम्मत नेतृत्व चयनकै दिशामा अघि बढ्ने अवस्था छ ।’
महासचिव सुमन पुरीले पनि अध्यक्षको सुझाव र संगठनको हितका लागि पहिलो प्राथमिकता सर्वसम्मत नेतृत्व चयनका लागि पहल हुने र नभए लोकतान्त्रिक प्रक्रियामार्फत प्रतिस्पर्धा हुने बताए ।
‘पार्टी अध्यक्षज्यूले मूलत: युवासंघको महाधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने सन्देश दिनुभएको छ’, महासचिव सुमन पुरीले भने,‘नेतृत्वको सुझाव अनुसार अघि बढ्ने कुरामा खासै विवाद छैन ।’
- अध्यक्षमा थेबे नै दोहोरिने सम्भावना
युवा संघका नेताहरूका अनुसार नेतृत्व चयनबारे औपचारिक छलफल सुरु भैसकेको छैन । यद्यपि अध्यक्षमा नेतृत्व दोहोर्याउने वा नदोहोर्याउने भन्ने विषय महाधिवेशन उद्घाटन भएर प्रक्रियामा प्रवेश गरेपछि निश्चित हुनेछ ।
उनीहरूका अनुसार नेतृत्व दोहोर्याउँदा हालका अध्यक्ष क्षितिज थेबे नै दोहोरिने लगभग निश्चित नै छ । नयाँ आउँदा हालका उपाध्यक्ष महाराज गुरुङको सम्भावना पनि उत्तिकै रहेको छ ।
युवा संघको अध्यक्षमा संगठनका वर्तमान अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरुङ र महासचिव सुमन पुरी आकाङ्क्षी देखिएका छन् ।
‘नेतृत्व सर्वसम्मत नै हुने पक्का जस्तै छ । तर त्यसो हुँदा पनि कसको नाममा भन्ने महत्त्वपूर्ण प्रश्न छ । तसर्थ थेबेकै नाममा वा महाराजका नाममा पनि हुनसक्छ’, एक पदाधिकारीको भनाइ छ ।
युवा संघका नेताहरूलाई अध्यक्ष ओलीले नयाँ कमिटीमा नपरेको खण्डमा पार्टीले उचित जिम्मेवारी दिने आश्वासन समेत दिएका छन् । ‘पोखराबाट फर्कँदा सबैले गर्व गरेर खुसीका साथ फर्कनुपर्छ । कोही युवा संघको नयाँ नेतृत्व वा कमिटीमा नपरे पार्टीले जिम्मेवारी दिने कुरा छFदैछ’, ओलीको भनाइ उद्धृत गर्दै युवासंघ श्रोतको भनाइ छ ।
नेकपा एमाले जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले युवासंघको महाधिवेशनका लागि प्रतिनिधिहरू पोखरा पुग्ने क्रम सुरु भैसकेको भन्दै महाधिवेशन प्रतिनिधिको चाहानाअनुसार नयाँ नेतृत्व चयन हुने बताए । नेतृत्वका लागि आकाङ्क्षीहरू बढेको अवस्थामा व्यवस्थापन कसरी हुन्छ ? भन्ने प्रश्नमा ढकालले यो वर्ष जनसंगठनका १६ वटा महाधिवेशन हुने भन्दै केन्द्रीय नेतृत्वमा रहेर काम गरेका तर अव नयाँ महाधिवेशन हुँदा पदाधिकारी र केन्द्रीय कमिटीबाट बिदा भएकालाई पार्टीमा उचित स्थान दिने तयारी भएको बताए ।
‘बिदा भएकालाई पार्टीमा उचित स्थान दिने, जनसंगठनमा गरेको कामलाई उचित मूल्याङ्कन गर्ने र मिसन ८४ सफल बनाउने सन्दर्भमा योग्यता र क्षमताअनुसारको जिम्मेवारी दिएर पार्टीमा लगाउने काम हुन्छ’, संयोजक ढकालको भनाइ छ ।
- को को छन् आकाङ्क्षी ?
युवा संघको अध्यक्षमा संगठनका वर्तमान अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरुङ र महासचिव सुमन पुरी आकाङ्क्षी देखिएका छन् ।
महासचिवमा निरोज पौडेल, खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाई लगायतको नाम चर्चामा छ । नयाँ व्यवस्था अनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुनेछन् । जसमध्ये एक जना महिला अनिवार्य हुनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागार्जुनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने
-
बैंकर्स सङ्घका पदाधिकारी नवनियुक्त गभर्नरबिच भेटवार्ता
-
इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ गर्दै
-
धितोपत्र बोर्डका पदाधिकारीसँग अख्तियारले लियो बयान
-
होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड
-
कारको ठक्करबाट सर्लाहीमा ७० वर्षीया वृद्धाको मृत्यु