बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

नेपाली ओपन कन्सर्टका लागि अन्जु पन्त र खेम सेन्चुरी लन्डन आउँदै

बिहीबार, ०८ जेठ २०८२, १६ : २२
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • मगर संघ यूकेले आयोजना गरेको नेपाली ओपन कन्सर्ट २०२५ मा गायिका अन्जु पन्त र खेम सेन्चुरी बेलायत आउने भएका छन्।
  • कन्सर्टमा भ्वाइस अफ नेपाल सिजन ३ का विजय ठाडा र बेलायतका स्थानीय कलाकारहरूले पनि प्रस्तुति दिनेछन्।
  • कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत, स्थानीय मेयर, उपमेयर, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

लन्डन । मगर संघ यूकेले आयोजना गरेको नेपाली ओपन कन्सर्ट २०२५ मा प्रस्तुति दिन  कलाकारहरू अन्जु पन्त  र खेम सेन्चुरी बेलायत आउने भएका छन् । 

आगामी जुन १४ तारिख बेलायतमा हुने नेपाली ओपन कन्सर्टकामा भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडा पनि आउने भएका छन् ।

भ्वाइस अफ नेपाली सिजन ६ का कोच खेम सेन्चुरी र सदावहार गायिका अन्जु पन्त उक्त कन्सर्टका लागि मात्र बेलायत आउँदै छन् । कार्यक्रम सकिएलगतै भोलिपल्ट नै उनीहरु नेपाल फर्किने कार्यक्रम  छ ।

‘म्यूजिक फर युनिटी’ नाराका साथ फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने सो कन्सर्टमा बालबालिकाका लागि मनोरन्जनात्मक खेल साथै युवा, वयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकको भनाइ छ ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् ।

बेलायतमा नेपाली कला संस्कृति, गीत, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यले सन् २००२ मा स्थापित मगर संघ यूकेले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको हो । करिब ५ हजार दर्शक सहभागी हुने सो कन्सर्टमा बेलायतका बेलायतका स्थानीय कलाकारले समेत नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिने कार्यक्रम छ ।

बेलायतमा सबै उमेर समूहका मानिसलाई मनोरंजन दिलाउने उद्देश्यले खुल्ला मैदानमा आयोजना गरिने नेपाली ओपन कन्सर्ट एक मात्र  बृहत साँस्कृतिक कार्यक्रम रहेको आयोजकको दाबी छ । कार्यक्रमको लागि १७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रीम टिकट किन्दा जनही २५ पाउण्ड र सोही दिन खरिद गर्दा ३० पाउण्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनीका बालबालिकालाई भने प्रवेश निशुल्क राखिएको छ । कार्यक्रममा मगर महिला संघ यूकेले राफल ड्र सञ्चालन गर्नेछ । राफल ड्रमा २०० पाउण्डदेखि ७०० पाउण्डसम्मको उपहार राखिएका छन् । कार्यक्रममा बेलायतको वेल्स, क्याट्रिक, मिडल्याण्डलगायत शहरहरुबाट दर्शक सहभागी हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप